अतिक्रमित संरचना हटाइने «

अतिक्रमित संरचना हटाइने

पृथ्वीराजमार्ग अतिक्रमित गरी बनाइएका संरचना हटाउन व्यास नगरपालिकाले तदारुकता देखाएको छ । व्यास नगर क्षेत्रभित्र पर्ने पृथ्वीराजमार्गमा बनेका अतिक्रमित संरचना हटाउन नगरपालिकाले चासो देखाएको हो ।
व्यास नगरपालिका नगर कार्यपालिकाको २०७४ चैत्र २२ गतेको बोर्ड बैठकको निर्णयअनुसार नगर क्षेत्रभित्र पृथ्वीराजमार्गमा पर्ने वडा नम्बर १२, १, २, ३, ४ र ५ मा पृथ्वीराजमार्गको केन्द्र विन्दुबाट दायाँबायाँ दुवैतर्फ ७५ फिटभित्र निर्माण गरिएका संरचना हटाउने निर्णय भएको थियो ।
नगरपालिकाले बुधबार ३५ दिने सूचना प्रकाशित गरी राजमार्गको केन्द्र विन्दुबाट ७५ फिटभित्र कुनै व्यक्ति, संघसंस्थाले भौतिक संरचना निर्माण गरेको भए ३५ दिनभित्र हटाउन अनुरोध गरिएको छ । उक्त अवधिसम्म अटेर गरेमा भत्काउन लाग्ने खर्चसमेत स्वयं व्यक्ति वा संघसंस्थासँग असुल उपर गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कारबाही गरिने बताइएको छ । व्यास नगरपालिका–१२ छिर्कने, १ मसुखोला, तालघरे, २, ३ र ४ दमौली र ५ चापाघाटमा राजमार्ग अतिक्रमण गरेर घर टहरा निर्माण गरिएको छ । घर टहरा हटाउन विगतमा सडक डिभिजन कार्यालय तनहुँले सूचना प्रकाशित गरे पनि विवादका कारण हटाउन सकिएको थिएन ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि व्यास नगरपालिकाले आफंैले आफ्नो कार्यक्षेत्रभित्र पर्ने राजमार्ग विस्तार गर्न लागेको हो ।

अन्य क्षेत्रको अन्योल
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–कोत्रे सडकखण्डमा धेरैले सडक अतिक्रमण गरेर घर टहरा निर्माण गरेका छन् । मुग्लिङदेखि कोत्रेसम्मको सडक विस्तार गर्दा करिब साढे २ हजार घरटहरा भत्किन्छ । डुम्रे र आँबुखैरेनी बजारमा सबैभन्दा बढी घर टहरा सडक अतिक्रमण गरेर बनाइएका छन् । उक्त क्षेत्रको अतिक्रमित संरचना कहिले हट्छ भन्ने निक्र्योल छैन ।
सार्वजनिक सडक ऐन २०३१ को दफा १९ मा सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउने, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्ने वा भत्काउने, किला, लठ्ठा तगारो आदि गाड्ने वा हाल्ने वा घर, टहरो वा छाप्रो बनाउने वा सडक सीमाक्षेत्र भित्रको जग्गा आवादी गर्न वा त्यस्तै अन्य कुनै कार्य गर्न नहुने उल्लेख गरिएको छ ।
कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्