संरक्षणको बहानामा नदीजन्य वस्तुको चोरी निकासी «

संरक्षणको बहानामा नदीजन्य वस्तुको चोरी निकासी

बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा सम्बन्धित निकायको अनुमति विना नदीजन्य बस्तु चोरी निकासी भएको छ ।
जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नीतिगत ब्यवस्थाविपरीत स्थानीय सेभेनस्टार युवा क्लबका पदाधिकारीले बस्ती संरक्षणको बहानामा उपकरणको प्रयोग गरेर कालिगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेका हुन् ।
कानुनविपरीत एक्जाभेटर प्रयोग गरेर नदी दोहन गरेको भेटिएपछि एक्जाभेटरको चावी नियन्त्रणमा लिएर प्राकृतिक स्रोत साधनको अवैध उत्खनन् र चोरी निकासी गरेको कसुरमा कारबाही प्रक्रियाअघि बढाइएको प्रजिअ कृष्णप्रसाद अधिकारीले बताए ।
प्रजिअ अधिकारी, प्रहरी नायव उपरीक्षक वसुन्धरा खड्का, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माको टोलीले बुधबार बिहान अनुगमनका क्रममा एक्जाभेटर प्रयोग गरेर ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरेर बिक्री प्रयोजनका लागि ट्याक्टरमार्फत ढुवानी गरेको भेटिएको थियो ।
आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन् र निकासिका लागि कसैले पनी अनुमति नलिएको र सम्झौताविपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन् गर्नु अवैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताए ।
एक साताअघि प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन्मा प्रयोग भएका उपकरण जफत गरेर जिससमा बुझाए पनि नीतिगत अस्पष्टताको कारण देखाउँदै राजनीतिक दबाबमा पुनः उत्खनन् नगर्ने सहमति गराएर छाडेका थिए । क्लबका पदाधिकारीले नदीजन्य पदार्थको उत्खनन् गरेकोमा गल्ती स्ीवकार गर्दै अब उत्खनन् नगर्ने लिखित प्रतिबद्धता जनाएका थिए । नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गर्दा बस्ती संरक्षणको साटो जोखिम बढेको छ । आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुंगा, गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन क्लबले सात लाख ५० हजार रुपैयाँमा ठेक्कामा दिएको सेभेनस्टार युवा क्लबका अध्यक्ष लालबहादुर थापाले बताए ।
नगरपालिका, समन्वय समिति, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयमा पटकपटक योजनाको माग गरे पनि बजेट विनियोजन नभएकाले बाध्य भएर नगरपालिकाका जनप्रतिनिधिहरूको सहमतिमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरिएको थापाले दाबी गरे ।
क्लबका किसान जिसीले पछिल्लो पटक बिक्री गर्ने उद्देश्यले नभई पहिले उत्खनन् गर्दा परेको खाडल पुरेर नदीलाई पुरानै स्वरुपमा लैजाने र खेलमैदान फिलिङ गर्ने उद्देश्यले जिसस र नगर प्रमुखको निर्देशनअनुसार डोजर प्रयोग गरिएको दाबी गरे ।
स्थानीयवासीको विरोध र दबाबका कारण चालू आवमा जिससले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का लगाएको थिएन् । गत माघमा बेनपा–१ सारेमारे क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन्मा प्रयोग भएका डोजर र टिपर प्रहरीले नियन्त्रणमा लिएर जिससलाई बुझाएको थियो ।
प्रहरीले अवैध र जथाभावी रूपमा नदीको दोहनमा प्रयोग भएका सवारी साधन र उपकरण नियन्त्रणमा लिए पनि कारबाही नभएकाले यस्तो गतिविधि मौलाएको प्रनाउ खड्काले गुनासो गरिन् । जिससले म्याग्दीमा नदीजन्य पदार्थको उत्खनन् र निकासिका लागि चालू आर्थिक वर्षमा ६० लाख रुपैयाँमा ठेक्का लगाएको छ । यसैबीच बेनपा–५ को बगुवाखोलाका क्रसर सञ्चालकले समेत सम्झौताविपरीत डोजर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गरेको स्थानीयवासीले गुनासो गरेका छन् । जिसस प्रमुख देवेन्द्र केसीले अहिलेकै अवस्थामा छोड्दा थप जोखिम हुने देखिएपछि बगरलाई सम्माउन निर्देशन दिए पनि नदीजन्य ढुंगा, गिट्टी, बालुवा निकाल्नु र बिक्री गर्नु गलत भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्