घाँसबाट मनग्य आम्दानी

दाङ-दाङमा घाँसको बीउ उत्पादन गरेर किसानले राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–६ का किसानहरू अन्यबाली लगाउने खेतबारीमा अहिले घाँस खेती गर्न थालेका छन ।
हिउँदे बालीका रूपमा गरिने मसुरो, तोरी, गहुँलगायतका बालीभन्दा किसानहरू बर्सिम घाँसको बीउ उत्पादन गरेर आम्दानी लिन थालेपछि किसानहरू पछिल्लो समय व्यावसायिक रूपमा घाँस खेतीतर्फ लागेका हुन् । कम मेहनतमा पनि अन्य बालीको तुलनामा घाँसको बीउ उत्पादन बढी हुने र आम्दानीसमेत हुन थालेपछि पछिल्लो समय जिल्ला भरी नै बर्सिम घाँसको व्यावसायिक खेती हुन थालेको छ ।
किसानले धानबालीपछि घाँस खेती गर्ने गर्दछन् । अन्य बालीजस्तो मेहनत गर्न नपर्ने र सजिलै घाँसको बीउ बिक्री हुने हुँदा किसानहरू घाँसतर्फ आकर्षित हँुदै गएका हुन् । घाँस खेतीका माध्यमबाट पशुपालन सँगै बीउबाट आम्दानी हुन थालेपछि विगत ४-५ वर्षदेखि मसुरो छोडेर घाँस खेती गर्दै आएको स्थानीय कृषक दिलबहादुर पुनले बताए ।
हिउँदको समयमा अन्यबालीभन्दा घाँस गर्दा सजिलोे र मेहनत कम लाग्ने र बढी आम्दानी हुने भएकाले आफ्नो ५ कठ्ठा जमिनमा बर्सिम घाँसको खेती गर्दै आएको पुनले बताए । मसुरो र गहुँलगायतका बालीभन्दा घाँसबाटै आफूले राम्रो आम्दानी गर्ने गरेको उनको भनाइ छ । “घाँस खेती गर्दा पशुपालनसँगै बीउ बेचेर राम्रो कमाउने हुने गरेको छु,” पुनले भने ।
पुनजस्तै अर्का किसान विमल अधिकारीले पनि करिव डेढ बिघा जमिनमा घाँसको व्यावसायिक खेती गर्दै आएका छन् । “घाँसखेती गर्दा पशुपालनमा मद्दतसँगै राम्रो आर्थिक आम्दानी हुने भएपछि विगत केही वर्षदेखि व्यावसायिक घाँस खेती गर्दै आएको छु,” अधिकारीले भने । घाँस खेतीले घरमा भैंसीपालनमा समेत सहयोग पुर्याएको उनको भनाइ छ । बर्सिम घाँसको राजा घाँसको रूपमा रहेको र पोसिलो हुने दूध दिने गाईभैंसीले दूध बढाउनुका साथै पशुहरू मोटाउने भएकाले समेत पछिल्लो समय बर्सिम घाँसको खेती गर्ने किसान बढ्दै गएको अधिकारी बताउँछन् ।
स्थानीय शिवशक्ति घाँसको बीउ उत्पादक समूहका सचिव विमल अधिकारीका अनुसार अहिले करिब १ सय ५० जना बढी किसान घाँस खेतीमा संलग्न छन् । उक्त स्थानमा करिव ६० हेक्टर अर्थात ९० बिघाभन्दा बढी जमिनमा घाँस खेती हुने गरेको छ । गाउँमा घाँसको बीउ उत्पादन गर्दै किसानहरूको आर्थिक जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यका साथ २०५८ सालमा २५ जना किसानहरूले समूह स्थापना गरेका थिए । “किसानहरूले गाउँमा उत्पादन गरेको घाँसको बीउ समूहले नै खरिद गर्दिने भएकाले पनि थप सहज भएको छ,” समूहका सचिव अधिकारीले भने, “कृषकले घरबाटै उत्पादित घाँसको बीउ बिक्री गर्ने र अन्य बालीभन्दा राम्रो आर्थिक आम्दानी गर्न सक्ने भएकाले घाँस खेतीमा आकर्षित हुने गरेका छन ।”
किसानले प्रतिकठ्ठा जमिनमा मसुरो १५ देखि २० केजीसम्म उत्पादन गर्ने भए पनि बर्सिम घाँसको बीउ ३० देखि ३५ केजीसम्म उत्पादन गर्ने गरेका छन् । प्रतिकेजी २ सय रुपैयाँका दरले बिक्री हुने गरेका कारण किसानले ६ देखि ७ हजारसम्म आम्दानी गर्ने गरेका छन् । गत वर्षसम्म घाँस खेती गर्न किसानलाई जिल्ला पशुसेवा कार्यालय दाङले बीउ तथा विषादीको सहयोग गर्ने गरे पनि कार्यालयको अधिकार स्थानीय तहमा गएको भन्दै यस वर्षदेखि छोडेपछि किसानहरू आफैं बीउ तथा बिषादी प्रयोग गर्न थालेका छन् । मंसिर महिनामा छरिने घाँसबाट चैत वैसाखमा उत्पादन लिन सकिने किसानहरूले बताउँछन् ।
किसानसँग २ सय रुपैयाँ प्रतिकेजीका दरले खरिद गर्ने र समूहले २ सय ३० देखि २ सय ५० रुपैयाँका दरले बाहिरी जिल्लामा बिक्री गर्दै आएको छ । समूहकै कार्यालयमा आएर किन्ने कृषकलाई ढुवानीको समेत व्यवस्था गरिएको छ । सौडियारमा उत्पादित घाँसको बीउ झापादेखि कैलालीसम्म जिल्ला पशुसेवा कार्यालयसँगै स्वयम किसानहरू आएर समेत लैजाने गरेको नेपाल घाँस विकास महासंघका महासचिवसमेत रहेका अधिकारीले बताए । उनका अनुसार सौडियारमा वार्षिक ३० क्विन्टलभन्दा बढी बीउ उत्पादन हुने गरेको छ । यसका साथै पछिल्लो समय दाङका तुलसीपुरको उरहरी, धनौरी, लालमटियालगायतका स्थानमा समेत घाँसको व्यावसायिक खेती हुन थालेको जिल्ला पशु सेवा कार्यालय दाङले जनाएको छ । पशुपालनका लागि घाँस खेती गर्न आवश्यक रहेको र घाँसमा बर्सिम उपयोगी मानिने भएकाले पनि पछिल्लो समय व्यावसायिक पशुपालन गर्ने किसानले घाँस खेती गर्न थालेको कार्यालयले जनाएको छ ।
अमरराज आचार्य