‘मानवीय क्षति नहुनेगरी भौतिक कारबाही गर्नू’

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग लिएका राजनीतिक दलका उम्मेदवारमाथि भौतिक कारबाही गर्न देशभरका आफ्ना कार्यकर्तालाई लिखित परिपत्र गरेको छ । गत कात्तिक ११ गते पार्टी महासचिव विप्लवले गोप्य परिपत्र गरी राजनीतिक दलका उम्मेदवारमाथि भौतिक कारबाही गरी निर्वाचन विरुद्ध ‘जनकारबाही’ गर्न निर्देशन दिएका हुन् ।
पछिल्ला दिनहरुमा भएका विस्फोट र आगजनीका घटनालाई २०५२ सालमा जनयुद्ध सुरु गर्नुअघि २०४८ सालको आम निर्वाचन बिथोल्दा भएका कारबाही जस्तै भएको विप्लवले उल्लेख गरेका छन् । उनको निर्देशनपछि पछिल्लो २ साता यतामात्रै मुलुकभर निर्वाचन प्रचारप्रसार तथा आमसभामा सहभागी उम्मेदवारमाथि विप्लवका कार्यकर्ताले २ दर्जन भन्दा बढी स्थानमा बम विस्फोट र आगजनीका घटना घटाएका छन् ।
नुवाकोटमा कांग्रेस नेता रामशरण महत, भोजपुरका एमाले नेता शेरधन राई, रोल्पामा माओवादी केन्द्रका नेताद्वय वर्षमान पुन र ओनसरी घर्ती, रुकुममा जनार्दन शर्मा, तनहुँमा रामचन्द्र पौडेललगायत प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारलाई लक्षित गरी विप्लवका कार्यकर्ताले शृंखलावद्ध वम विस्फोट गराइसकेका छन् ।
‘निर्वाचन विरोध र धक्का अभियान’ भन्दै विप्लवले आफ्ना सबै भ्रातृ संगठनहरुलाई मंसिर ४, ७, ९ र १० गते विशेष अभियान सञ्चालन गर्न परिपत्र गरेका छन् ।
विप्लवको परिपत्रअनुसार ४ गतेसम्म समानान्तर जनसत्ताको अभ्यास, ७ गते धक्का अभियान, ९ गतेसम्म उम्मेदवार कब्जा र धरपकड तथा धक्कापूर्ण दुवै अभियान तथा सम्भव भए नेपाल बन्द आह्वान र १० गते विशेष अभियान सञ्चालन गर्ने उल्लेख छ । कतिपय जिल्लाका उम्म्ेदवारलाई विप्लवका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिँदै धम्कीसहितको चेतावनीपूर्ण पत्र बुझाएका छन् । तर, कुनैपनि उम्मेदवारले विप्लवका कार्यकर्ताको धम्कीपत्र सार्वजनिक गरेका छैनन् । मंसिर १० गते हिमाली र पहाडी भेगका ३२ जिल्लामा पहिलो चरणको निर्वाचन हुँदैछ । विप्लवले गरेको परिपत्रमा मानवीय क्षति भने नपु¥याउन भनेका छन् ।
“प्रदेश र प्रतिनिधिसभाको चुनाव बहिस्कार खारेजी अभियानलाई पार्टीले जीवनमरणको रुपमा लिने छैन,” विप्लवको परिपत्रमा भनिएको छ, ““मानवीय क्षति पु¥याउन पाइनेछैन, ठाउँ परिस्थिति हेरेर ससाना–मझौला र भौतिक कारबाही तपाईं हामी सम्पूर्ण कमरेडले जिम्मेवारी पूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने छ ।”
चुनावमा भाग लिएका राजनीतिक दल सम्वद्ध नेताहरुमाथि भौतिक कारबाही गर्ने विप्लव माओवादीको घोषित नीतिपछि चारवटै सुरक्षा निकायले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष संयन्त्र खटाइसकेका छन् ।
शुक्रबारमात्रै नेपाल प्रहरीले महानगरीय प्रहरीसहित ७ वटै प्रदेश प्रहरी कार्यालयलाई विशेष सर्कुलर गरी विप्लव समर्थक नेता–कार्यकर्ताको पार्टीगत हैसियत, स्थायी ठेगाना र सम्पर्क नम्बर सहितको विवरण पठाउन निर्देशन दिएको छ ।
प्रहरी स्रोतले भन्यो, “बम विस्फोटसहितका आपराधिक गतिविधि बढ्न थालेपछि हामीले विप्लवका नेताकार्यकर्तामाथि निगरानी बढाउन र आवश्यकता अनुसार चुनाव अवधिभर नियन्त्रणमा लिन मातहत कार्यालयलाई परिपत्र गरेका छौं ।”
नेपाली सेनाले बम डिस्पोजल टोलीसहित आपराधिक तथा हातहतियार प्रयोग गर्ने समूहको गतिविधि निगरानी गर्न सबै पृतना मुख्यालयबाट विशेष टोलीलाई सक्रिय बनाएको छ । सशस्त्र प्रहरीले पनि विप्लवसहित सशस्त्र गतिविधिमा संलग्नको निगरानीमा सबै बाहिनी मुख्यालयबाट सादा पोशाकका जनशक्ति परिचालन गरीसकेको छ । सेनाले शुक्रबार पहिलो चरणका निर्वाचन हुने ३२ जिल्लाका सबै मतदान केन्द्रमा फौज पुगीसकेको जनाएको छ ।