नेपालकै एकमात्र कुसुन्डा भाषी राजा मामाको निधन «

नेपालकै एकमात्र कुसुन्डा भाषी राजा मामाको निधन

नेपालकै लोपोन्मुख कुसुण्डा जातिका राजामामाको निधन भएको छ । व्यास नगरपालिका वडा नम्बर १० डिहीगाउँमा बस्दै आएका राजामामाको बुधबार बिहान ७५ वर्षको उमेरमा निधन भएको हो । कुसुण्डा जातिको भाषा बोल्न जान्ने राजामामा एक मात्र व्यक्ति थिए ।
राजामामा बिहान चार बजे शौचालय जाने क्रममा घर अगाडि लडेका थिए । राजामामाकी श्रीमती इन्द्रमायाका अनुसार छिमेकीको सहयोगमा उठाएर खाटमा सुताएपछि राजामामाले चिया समेत पिएका थिए । ‘चिया पिएर सुुत्नुभएको थियो, बिहान धेरै बेरसम्म नउठेपछि उहाँको निधन भएको थाहा पायौं,’ उनले भनिन् ।
नेपाल आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले राजामामाको निधनले लोपोन्मुख कुसुन्डा जाति र सिंगो आदिवासी जनजातिहरुलाई ठूलो क्षति पुगेको बताए ।
राजामामालाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो । प्रतिष्ठानले २०६१ सालतिर इन्द्रमाया तामाङसँग बिहे गराइदिएको थियो ।
उनी गाउँमा ‘कुसुन्डा कान्छा’ भनेर चिनिन्थे । पछि आदिवासी जनजाति अगुवाहरुले उनलाई ‘राजा मामा’ नाम दिएका हुन् । उनले तनहुँ जिल्ला प्रशासन कार्यालयबाट पनि ‘राजा मामा कुसुन्डा’ नामबाट नागरिकता बनाएका छन् । राजामामालाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले घर समेत बनाइदिएको थियो ।

सांसद श्रेष्ठद्वारा श्रद्धाञ्जली व्यक्त
यसैबीच राजामामाको पार्थिव शरीरमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले श्रद्धाञ्जली व्यक्त गरेका छन् । राजामामाको निधन भएको थाहा पाउने बित्तिकै घरमा पुगेका श्रेष्ठले राजामामाको पार्थिव शरीरमा माल्यार्पण गरेका थिए । सांसद श्रेष्ठले राजामामाकी श्रीमतीलाई सान्त्वना दिँदै राजामामाको पार्थिव शरीरमा काँध समेत थापेका छन् ।
राजामामाको पार्थिव शरीरमा १० वर्षीया छोरी सीमान्तले दागबत्ती दिएकी छिन् । उनको दाहसंस्कारको खर्च व्यास नगरपालिकाले उपलब्ध गराउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्