पूर्वविद्यार्थीहरूको पहलमा १ करोड ३३ लाख रुपैयाँ विद्यालयलाई सहयोग «

पूर्वविद्यार्थीहरूको पहलमा १ करोड ३३ लाख रुपैयाँ विद्यालयलाई सहयोग

सूचना, प्रविधिको विकाससँगै आम मानिसको पहुँचमा पुगेको सामाजिक सञ्जालको उपयोग गरेर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा प्रवासीहरूले सामाजिक काम गरेका छन् । फेसबुक, ट्वीटर, भाइबर, इमोलगायतका सामाजिक सञ्जालमार्फत संसारको विभिन्न ठाउँमा छरिएका बेगखोलावासीहरूले विद्यालय भवन पुनर्निर्माणका लागि करोडौं सहयोग जुटाएका हुन् । 
बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्वविद्यार्थीहरूको पहलमा १ करोड ३३ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर नेपाल, बेलायत, हङकङ, कोरिया, जापान, अमेरिका, साउदी, कतारका साथै पोखरा, काठमाडौंमा रहेका पूर्वविद्यार्थीहरूले सामाजिक सञ्जालको प्रयोग गरी उक्त सहयोग जुटाएका हुन् । अभियान सञ्चालनका लागि सामाजिक सञ्जालको प्रयोगले सजिलो बनाएको बेगखोला कल्याणकारी समाज हङकङका संयोजक नक्क गर्बुजाले बताए । 
वि.स ०२५ मा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण बनेपछि बेगखोला कल्याणकारी समाजको अगुवाइमा सहयोग संकलन अभियानको घोषणा भएको थियो । पूर्वविद्यार्थी र प्रवासीहरूको पहलमा पुनर्निर्माण हुन लागेको विद्यालयको कक्षा कोठा भवनको स्वर्ण जयन्तीको अवसर पारेर शनिबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मन्त्री थाममाया थापाले शिलन्यास गरिन् । विश्वभर रहेका बेगखोलाका बासिन्दा र पूर्वविद्यार्थीहरूले सामाजिक सञ्जालमार्फत अभियानमा जोडिएका समाजका अध्यक्ष योगकुमार फगामीले बताए ।
कक्षा कोठा, कम्प्युटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षसहितको १५ कोठे भवन निर्माण गर्ने योजना छ । कक्षा १० सम्म पठनपाठन हुने १७० जना विद्यार्थी अध्ययनरत विद्यालयमा यसअघि कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीहरूको प्रोत्साहनका लागि प्रवासीहरूले ३२ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । ग्रामीण क्षेत्रमा रहेको विद्यालयको भौतिक, शैक्षिक विकासमा पूर्वविद्यार्थीको सहयोग प्रभावकारी बनेको प्रअ धनबहादुर फगामीले बताए । प्रवासमा रहेका बेगखोलावासीहरूको अगुवाइमा चार वर्षअघि १ करोड २५ लाख रुपैयाँको लागतमा बेगखोला बेग र तिप्ल्याङ बादुक सडक निर्माण भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्