गहुँ विज्ञ भट्टलाई ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार «

गहुँ विज्ञ भट्टलाई ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार

गहुँ वैज्ञानिक मदनराज भट्ट रुद्र गौरी अम्बिका ओली प्रतिष्ठान राष्ट्रिय पुरस्कारले पुरस्कृत भएका छन् । लामो समय गहुँको बीउ विकासमा लाग्दै आएका भट्टलाई मंगलबार १ लाख १ हजार १ सय ११ रुपैयाँ र कदरपत्रसहित सम्मान गरिएको हो ।
भट्ट लामो समय नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत काम गरेर निवृत्त वैज्ञानिक हुन् । प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमकाबीच उनलाई झापाको भद्रपुरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्मान तथा पुरस्कृत गरेका छन् । वैज्ञानिक भट्टले सन् २०१० मा विकास गरेको कालो सिन्दुरे रोग प्रतिरोधी विजय नामक गहुँको जातले विश्वमै ख्याति कमाएको थियो । गहुँको जात विकास गरेर कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुराए वापत उनलाई उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए ।
विश्वका २९ मुलुकका ३५ जना प्रतिस्पर्धी कृषि वैज्ञानिकलाई उछिन्दै भट्टले कालो सिन्दुरे रोग अवरोधी गहुँको जात विकास गरेका थिए । उनले विश्वमै हरित क्रान्तिका पिता डाक्टर नर्मन बोर्लागको नाममा स्थापित अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाइसकेका छन् । सो पुरस्कार लगत्तै उनलाई गहुँको विकासमा उल्लेखनीय योगदान पुराएवापत सरकारले दुई लाख नगदसहित सम्मानित गरिसकेको छ । वैज्ञानिक भट्टको नेतृत्वमा बीएल १०२२, बीएल ११३५, भृकुटी, नेपाल २९७, अच्युत, रोहिणी, अन्नपूर्ण ४, कान्ति, आदित्य, एनएल ९७१, बिजय, धौलागिरि, बीएल १४७३, गौतम, गौरा र डाँफेलगायत १६ प्रकारका गहुँको जात विकास गरिसकिएको छ ।
पुरस्कृत वैज्ञानिक भट्टले आफूमाथि गहुँ अनुसन्धानको क्षेत्रमा काम गर्न थप ऊर्जा मिलेको बताए । “मँ कहाँ महाकालीको मान्छे आज मेचीमा सम्मानित हुँदा पाउँदा निकै हर्षित छु,” कारोबारसँग कुरा गर्दै उनले भने, “यसले मलाई थप ऊर्जा मिलेको छ, गहुँ अनुसन्धानको क्षेत्रमा निरन्तर अगाडि बढिरहने छु ।” प्रतिष्ठानले भट्टसँगै यो वर्षका लागि आदर्श आमातर्फ बालकुमारी जिसी र साहित्य तथा पत्रकारितातर्फ मेघराज मन्जुललाई पनि नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित पुरस्कार प्रदान गरिएको छ । बाल पुरस्कारतर्फ भक्तपुरको सीबीआरलाई ५१ हजार एक सय ११ प्रदान गरिएको छ । प्रतिष्ठानले अन्य बिद्यातर्फ पनि पुरस्कृत गरेको छ । प्रतिष्ठानले हरेक वर्ष सम्मान तथा पुरस्कारको प्रदान गर्दै आएको छ । कृृषि क्षेत्रका यसअघि धान विज्ञ डा. भोलामान सिंह बस्नेतलाई पनि पुरस्कृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्