Logo

विद्युतीय कारोबारमा सीमा

नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारलाई व्यवस्थित गर्न सिमा तोकेको छ । केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको सीमा तोकेको हो ।
केन्द्रीय बैंकले क्रेडिट कार्डको कारोबारलाई समेत व्यवस्थित गरेको छ । केन्द्रीय बैंकले सामान्य अवस्थामा एक लाख रुपैयाँभन्दा बढीको प्रिपेड कार्ड जारी गर्न नपाइने व्यवस्था गरेको छ । अत्यावश्यक अवस्थामा पनि स्वीकृत क्रेडिट कार्डको सीमामा रहेर २५ प्रतिशत अर्थात् २५ हजारभन्दा बढी नगद झिक्न नपाइने भएको हो । प्रिपेड कार्डबाट नगद झिक्दा न्यूनतम पाँच सय र अधिकतम १० हजारसम्म र एक महिनामा ५० हजारसम्म मात्र झिक्न पाइने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले डेबिट कार्डबाट पनि एक पटकमा न्यूनतम ५ सयदेखि अधिकतम २५ हजारसम्म र एक दिनमा एक लाखसम्म मात्र झिक्न पाइने व्यवस्था गरेको छ । तर, यो सीमालाई बैंकहरूले घटाउन पनि सक्नेछन् ।
निर्देशनअनुसार मोबाइल बैंकिङमा एक पटकमा ५ हजार रुपैयाँसम्म र अधिकतम एक दिनमा १० हजारसम्मको कारोबार गर्न सकिनेछ । एक महिनामा ५० हजारसम्म मात्र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न पाइनेछ । राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङमार्फत बैंक तथा वित्तीय संस्थाको खातामा नगद पठाउँदा अधिकतम १ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्म मात्र पठाउन सकिन्छ । इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा दैनिक एक लाखसम्म र मासिक रूपमा ५ लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाइनेछ । भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको इवालेट, मोवाइल वालेट, डिजिटल वालेटहरूमा नगदै वा ट्रान्सफर गरी जम्मा गर्न सकिने ब्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । एजेन्ट र सव एजेन्टद्वारा एक पटकमा अधिकतम ५ हजारसम्म, एक दिनमा १५ हजारसम्म र मासिक २५ हजार रुपैयाँसम्म जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।
बैंकमार्फत मोबाइल वालेटमा एक पटकमा कम्तीमा एक सय र अधिकतम ५ हजार रुपैयाँसम्म जम्मा गर्न पाइनेछ भने दैनिक रूपमा अधिकतम् १५ हजार रुपैयाँसम्म मात्र जम्मा गर्न सकिने व्यवस्था गरेको छ । बैंकहरूमा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेको वालेटमा त्यही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक पटकमा ५० हजार रुपैयाँसम्म ट्रान्सफर गर्न सकिनेछ । तर, मोबाइल वालेटमा २५ हजार रुपैयाँभन्दा बढी नगद राख्न पाइने छैन ।
केन्द्रीय बैंकले आफन्तले विदेशबाट पठाएको रेमिट्यान्सको रकम एक लाखभन्दा बढी नगद लिन नपाइने व्यवस्था गरेको छ । एक लाख भन्दा बढी नगद लिनुपरेमा बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्