हेटौंडाबाट राजधानी सर्दैन : देउवा «

हेटौंडाबाट राजधानी सर्दैन : देउवा

हेटौंडा- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने दावी गरेका छन् । हेटौंडाबाट अन्यत्र सार्नको लागि राजधानी राखिएको नभई आफू नेतृत्वले तोकेको राजधानी नै स्थायी भएको दावी गरे ।
हेटौंडालाई स्थायी राजधानी कायम गर्न पहल गरिदिन आग्रहसहित मकवानपुरका राजनीतिक दल तथा जनप्रतिनिधिले सोमबार हेटौंडामा बुझाएको ज्ञापनपत्र बुझ्दै देउवाले बिकेन्द्रीकरणको सिद्धान्तअनुसार प्रदेशको राजधानी हेटौंडा उपयुक्त भएको बताए । हेटौंडाबाट राजधानी सारेर काठमाडौं उपत्यकामा नै लैजान्छु भन्नु गलत भएको उनको भनाइ थियो । संघीयतामा विकेन्द्रीकरणको अभ्यास हुने भएकाले हेटौंडाको विकास र समृद्धिको लागि यहिँ राजधानी हुनुपर्नेमा देउवाले जोड दिए । भौतिक पूर्वाधार र सडक सञ्जालको कारण पनि प्रदेशको राजधानी राख्न हेटौंडा उपयुक्त भएको उनको तर्क थियो ।
देउवालाई जिल्ला समन्वय समितिको संयोजनमा ज्ञापनपत्र बुझाइएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले देउवालाई ज्ञापनपत्र बुझाउँदै हेटौंडालाई प्रदेशको राजधानी कायम राख्नुपर्ने आधारहरु पेश गरेका थिए । प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेशसभा सांसदहरु जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, इन्द्रबहादुर बानियाँ, सन्तराम चेपाङलगायत मकवानपुरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु देउवालाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
नेपाल तरुण दलको आयोजनामा सोमबार सुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि हेटौंडा आइपुगेका देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताएका छन् । उनले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताए । फरक प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण हुन पुगेको आरोप पनि लगाए ।

 

प्रतिक्रिया दिनुहोस्