एमई समूहको ५० करोड लगानी

काटमाठौंः गैरआवासीय नेपाली (एनआरएन)को एक समूहले नेपालमा रोजगारी सिर्जना गर्नका लागि करिब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । व्यावसायिक कृषि उद्यम, पर्यटन, शिक्षा, सुपरमार्केटमार्फत रोजगारी सिर्जना गर्नका लागि लगानी सुरु गरेकोे हो ।
युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायतलगायत विभिन्न मुलुकमा काम गरिरहेका करिब ४० जना एनआरएनको समूहले नेपालमा माउन्ट एभरेस्ट (एमई) ग्रुप कम्पनी दर्ता गरेर लगानी गरेका हुन् ।
पहिलो चरणमा काठमाडौंमा ट्राभल एन्ड टुर्स र चितवनमा कृषि उद्यम सुरुवात गरेको एमई समूहका अध्यक्ष कमलराज अधिकारीले बताए । “सन् २०१७ मै करिब ५० करोड लगानी गर्ने योजनासहित परियोजना तयार गरेका छौं,” अधिकारीले भने, “सन् २०२५ सम्ममा प्रत्यक्ष÷अप्रत्यक्ष पाँच हजारलाई रोजगारी सिर्जना गर्ने लक्ष्य छ ।”
विदेशमा रहेका एनआरएनलाई संगठित गर्दै लगानी बढाउँदै लैजाने योजना रहेको उनले बताए । “युवाहरूलाई बिदेसिनुभन्दा स्वदेशमै रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्य हो,” अधिकारीले भने, “सामूहिक लगानीमा उद्यमशीलता बढाउने योजना हो ।”
विदेशमा सिकेको सीपलाई स्वदेशमा ल्याएर युवाहरूलाई उद्यमशील बनाउने जनाएको छ । पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्याकेज बनाएको एमई समूहका बजार व्यवस्थापक जय जगदीश अधिकारीले प्रस्ट्याउँदै भने, “मुलुकमा पर्यटनको निकै सम्भावना छ,” उने भने, “विदेशी पर्यटकलाई ल्याएर मुलुकका विभिन्न ठाउँमा घुमाएर पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने छौं ।”
सो समूहले चितवनमा १० बिघा जमिन लिएर कृषि उद्यम सुरु गरेको छ । माछापालन, भूरा, तरकारी खेती, कुखुरापालन, चल्ला उत्पादन गर्ने तयारी गरेको अध्यक्ष अधिकारीले बताए । यहाँ उत्पादन गरेको कृषिजन्य वस्तुलाई अर्गांनिक उत्पादन गरेर विदेशसमेत निर्यात गर्ने योजना रहेको बताए ।
एमई समूहमा विदेशमा व्यावसायिक सफलता पाएका, अध्ययन अनुसन्धानमा ख्याति कमाएका व्यक्तिको संलग्नता रहेकाले मोडल परियोजना अघि बढाउने उनीहरूको दाबी छ । पेरिसमा २० करोड रुपैयाँको लगानीमा सुपरमार्केट सुरु गर्न लागेको बताइएको छ ।
एमई ग्रुपका अध्यक्ष अधिकारीले फ्रान्समा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । एमई ग्रुपको उपराष्ट्रपति नन्दकिशोर पुन, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गत वैशाखको पहिलो साता उद्घाटन गरेका थिए ।