सत्यवती मावि– जहाँ विद्यार्थी भर्नामा सोर्स फोर्स लगाइन्छ

अहिले देशैभर विद्यार्थी भर्ना अभियान सञ्चालन भईरहेको छ । अधिकांश विद्यालयले आफ्नो विद्यालयमा नयाँ विद्यार्थी भर्ना गराउन विभिन्न आकर्षक प्याकेज घोषणा गरेका छन् । आकर्षक प्याकेज घोषणा गर्नेमा सामुदायिक भन्दा नीजि विद्यालयहरु अगाडी छन् ।
केही सामुदायिक विद्यालयले पनि विद्यार्थी नपाएर विभिन्न कार्यक्रमहरु घोषणा गरि विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम ल्याईरहेका छन् । तर दमौलीको सत्यवती मावि भने माथि उल्लेख गरिएका विद्यालय भन्दा अपवादमा पर्छ ।
जहाँ विद्यार्थी भर्ना गराउन सांसददेखि नेताहरुको समेत सोर्स फोर्स लगाईन्छ । यस वर्ष पनि सत्यवतीमा करिब पाँच सय जना नयाँ विद्यार्थीले भर्नाको लागि आवदेन दिएका छन् । उक्त संख्या अधिकांश नीजि तथा सामुदायिक विद्यालयको कुल विद्यार्थी संख्या भन्दा पनि बढि हो । तर ती सबैले सत्यवतीमा पढ्ने अवसर पाउँदैनन् ।
विद्यालयले यस वर्ष बढिमा ३ सय ५० जना विद्यार्थी मात्र नयाँ भर्ना गर्न सक्ने विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए । गत वर्षको एसइइ परीक्षामा सत्यतीबाट ३ सय ५० जनाले परीक्षा दिएका थिए, तिनै एससीई दिने विद्यार्थीको स्थानमा नयाँ विद्यार्थीले प्रवेश पाउने प्रधानाध्यापक पौडेलले बताए । आफ्नो विद्यालयमा विद्यार्थी भर्ना गराउन सोर्स फोर्स समेत आउने गरेको प्रअ पौडेलले स्वीकार गरे ।
‘गत वर्षसम्म भनसुन भईरहन्थ्यो, यस वर्ष अहिलेसम्म भनसुन आएको छैन,’ प्रअ पौडेलले भने, ‘प्रवेश परीक्षाको नतिजा प्रकाशन पछि बढि भनसुन हुने हुँदा यस वर्ष पनि त्यो क्रम चल्न सक्छ ।’ तर आफूले भनसुनको आधारमा भन्दा पनि उत्कृष्ट विद्यार्थीलाई मात्र भर्ना लिने गरेको प्रअ पौडेलको भनाई छ ।
पछिल्लो समयमा सामुदायिक विद्यालयमा अभिभावक तथा विद्यार्थीको आकर्षणको कारणले नै सत्यवतीमा विद्यार्थी ओईरिएका हुन् । विद्यालयले कक्षा ६ देखि ९ सम्ममा नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्ने गरेको छ । गत शैक्षिक सत्रमा सत्यवतीमा २ हजार ५ सय ८० जना विद्यार्थी थिए । यस वर्ष त्यो संख्या अझ बढ्न सक्छ ।
विद्यालयले हरेक वर्षको एसएलसी वा एसइइ परीक्षामा ल्याएको उत्कृष्ट नतिजाकै कारण सत्यवतीमा नयाँ विद्यार्थी भर्ना हुन तछाड मछाड गरेका हुन् । ४ पटक पश्चिमाञ्चल क्षेत्रको सर्वाेत्कृष्ट विद्यालय, एक पटक राष्ट्रिय स्तरको प्रथम र दुई पटक राष्ट्रिय स्तरमा दोस्रो पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्न सफल सत्यवती सामुदायिक विद्यालयको लागि एउटा गतिलो उदाहरण हो ।
यस विद्यालयका व्यवस्थापन समितिको अथक मिहीनेत, शिक्षक तथा कर्मचारीको परिश्रम तथा अभिभावकको भरोसाको कारणले नै आजको अवस्थामा आईपुगेको प्रअ पौडेलले बताए । सत्यवतीमा अध्यापन गराउने सबै शिक्षक शिक्षिकाहरुले आफ्ना छोराछोरी सत्यवतीमा नै अध्ययन गराएका छन् । शिक्षक शिक्षिकाका छोरा छोरी मात्रै उक्त विद्यालयमा १ सय ८५ जना रहेका छन् । सत्यवतीमा शिक्षक शिक्षका मात्रै ८९ जना रहेका छन् ।
सत्यवतीमा कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिङको विषयमा समेत पढाई हुने गर्छ । कक्षा ११ र १२ को नतिजा पनि राष्ट्रिय स्तरमै उत्कृष्ट हुँदै रहँदै आएको छ । पढाईमा मात्र हैन, अतिरिक्त क्रियाकलापमा पनि सत्यवती सँधै अग्र स्थानमा आउने गर्छ । भर्खरमात्र सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सत्यवती प्रथम भएको छ । साथै विभिन्न विधामा पनि सत्यवतीका विद्यार्थीहरु नै प्रथम हुने गरेका छन् ।
अभिभावकको भरोसाले आफूलाई थप प्रेरणा जागेको प्रअ पौडेलले बताए । अभिभावक तथा विद्यार्थीको प्रेरणाले आफूमा जिम्मेबारी बोध भएको र नतिजालाई थप उत्कृष्ट बनाउन प्रेरणा मिलेको भन्दै तनहँुको गौरवको रुपमा रहेको सत्यवतीलाई अझ उचाइमा पुराउन सबैको सहयोग आवश्यक भएको बताए ।
–कृष्ण न्यौपाने