अन्तर्राष्ट्रिय सहकारी महासंघको बोर्ड सदस्यमा नेपाल

नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको छ । मलेसियाको क्वालालमपुरमा शुक्रबार सम्पन्न सम्मेलन तथा साधारणसभाले नेपालबाट उम्मेदवारी दिएकी राष्ट्रिय सहकारी संघकी उपाध्यक्षसमेत रहेकी ओमदेवी मल्ल निर्वाचित भएकी हुन् ।
आईसीए विश्व सहकारी अभियानको छाता संगठन हो । ९४ देशका सहकारी संघहरु सदस्य रहेको यो संस्थाको नेपाल सन् १९९७ देखि सदस्य छ । तर, सञ्चालक समितिमा नेपालको प्रतिनिधित्व पहिलो पटक भएको हो ।
आफ्नो उम्मेदवारी प्रस्तुत गर्नेक्रममा मल्लले दक्षिण एसियाबाट महिला सहकारीकर्मी भएको, नेपालमा सहकारी अभियानको नेतृत्व गरेको र नयाँ सहकारी ऐन ल्याउन पनि व्यवस्थापिका संसद्मा बसेर काम गरेको भन्दै यसबाट विश्व सहकारी अभियानको नेतृत्व गर्न सक्ने बताइन् । उनको यो दावेदारीलाई भारतसहित अमेरिका, ब्राजिल, अर्जेन्टिना, मलेसियालगायतका देशले समर्थन गरेपछि जित हासिल गरेकी हुन् ।
सञ्चालकमा निर्वाचित भएपछि कारोबारसँग कुरा गर्दै मल्लले आफ्नो जित नेपालको सहकारी अभियानको जित भएको प्रतिक्रिया दिइन् । यसबाट नेपालको सहकारी अभियानको छवि माथी पुगेको र नेपालको सहकारी अभियानलाई थप व्यवस्थित गर्न आफ्नो भूमिका रहने बताइन् ।
आइसीएको साधारणसभाले अध्यक्षमा अर्जेन्टिनाबाट एरियल गुरेको निर्वाचित भए । यसैगरी बोर्ड सदस्यमा भने नेपाल, भारतका साथै अस्टे«लिया, ब्राजिल, क्यानडा, डेनमार्क, फिडल्याण्ड, फ्रान्स, इटाली, जापान, मलेसिया, सिंगापुर, स्वीडेन, बेलायत र अमेरिका चुनिएका छन् ।
यसैबीच राष्ट्रिय सहकारी महासंघले पनि आईसीको ग्लोबल बोर्ड सदस्यमा निर्वाचित हुनु नेपालको सहकारी अभियानका लागि यो ठूलो उपलब्धि भएको बताएको छ । विश्व सहकारी अभियानसँग नेपालको सहकारी अभियानलाई जोड्ने अवसरका रूपमा यो विजयीलाई लिएको महासंघका महाप्रबन्धक रामभजन शाहले प्रेस विज्ञप्तिमार्फत बताएका छन् ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ विश्व सहकारी अभियानको छाता संगठन हो । विश्वका ९५ भन्दा बढी देशका सहकारी अभियानका शीर्ष निकाय यसमा आवद्ध छन् । विश्व सहकारीको मूल्य, मान्यता र सिद्धान्तको प्रतिपादन अन्तर्राष्ट्रिय सहकारी महासंघले गर्छ ।
व्यवस्थापिका संसद्को पूर्व सांसद् तथा सविधानसभा सदस्य मल्ल लामो समयदेखि सहकारी अभियानमा क्रियाशील छिन् । उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डको विज्ञ सदस्यका रूपमा समेत नेपाल सरकारबाट नियुक्ती भइ कार्य गरेको अनुभव छ । उनले भारतबाट सहकारी शिक्षा तथा व्यवस्थापनमा डिप्लोमा र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातोकत्तर हासिल गरेकी छन् ।