Logo

२ वर्षमै भेरी–बबई डाइभर्सन पूरा हुने

नेपालगन्ज-राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न हुने आयोजनाले जनाएको छ ।
हालकै गतिमा सुरुङ खन्ने काम हुने हो भने आगामी दुई वर्षभित्र आयोजनाको सबै काम पूरा गरिने आयोजनाका निर्देशक शिवकुमार बस्नेतले बताए ।
चालू आवको सानो समयमै आयोजनाको ५ भागको दुई भाग सुरुङ खन्ने काम सकिएको जनाउँदै उनले हालसम्मको कामको गतिलाई हेर्दा दुई वर्षमा सबै काम सकिने देखिएको बताए । निर्देशक बस्नेतका अनुसार आयोजना सम्पन्न गर्न सरकारले तीन चरणको निर्माण योजना अगाडि सारेको छ । पहिलो चरणमा सुरुङ खन्ने कामलाई प्राथमिकतामा राखिएको छ । त्यसलगत्तै बाँध निर्माण र विद्युत्गृह निर्माण गरिने लक्ष्य छ ।
तीन वटै चरणका काम दुई वर्षमै सम्पन्न हुने लक्ष्य राखिएको जनाउँदै उनले हाल सुरुङ निर्माणसँगै आयोजनाका लागि आवश्यक पर्ने बाँध क्षेत्र र विद्युत्गृहको डिजाइन पुनरावलोकन भइरहेको बताए ।
आयोजना निर्माणमा हाल दैनिक तीन सयभन्दा बढी नेपाली तथा चिनियाँ कामदार परिचालित छन् । उनीहले दिनरात खटिएर आयोजनास्थलमा विभिन्न काम गरिरहेका छन् ।

५ महिनामा ३ किमि सुरुङ
अहिले आयोजनाको सुरुङ निर्माणको काम तीव्रताका साथ भइरहेको जनाउँदै आयोजना निर्देशक बस्नेतले ५ महिनामा तीन किमि बढी सुरुङ खनिएको जनाए । १२ किमि सुरुङ खनिनेमा तीन किमि खनिसकिएको छ । हालसम्म ३ हजार मिटर सुरुङ खनिसकिएको र सुरुङ निर्माणको काम तीव्रताका साथ भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका काम धमाधम भइरहेको जनाउँदै बस्नेतले ५ महिनामा ३ हजार मिटर सुरुङ खन्न सफल भएकोले दुई वर्षमा काम सकिने भएको बताए । आयोजनाको बाँकी काम सम्पन्न गर्न थप तीन अर्ब रुपैयाँ माग गरिएको पनि उनले जनाए ।
आयोजनाको सुरुङ निर्माणका लागि अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छ । भेरी नदीको पानी बबईमा ल्याउन १२ किमि सुरुङ खन्ने आयोजनाको लक्ष्य छ ।
डाइभर्सन हेडबक्सबाट बबईमा पानी खसाएर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी योजना छ । त्यसका लागि जलविद्युत्गृह र अन्य सम्बन्धित संरचना निर्माण भइरहेका छन् । उक्त आयोजना सम्पन्न भए विद्युत् उत्पादनसँगै बाँके र बर्दियामा ५१ हजार हेक्टर जग्गामा सिँचाइ हुने विश्वास गरिएको छ ।
सुरुङ खन्न प्रयोग गरिएको अमेरिकी प्रविधिको टीबीएम चीनमा निर्माण भएको हो । उक्त प्रविधि आयोजनाले ५ महिनाअघि ल्याएको हो । गत कात्तिक २० गतेदेखि सुरुङ खन्ने काम सुरु भएको थियो ।
सो आयोजना पूरा गर्न सुरुमा १६ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिए पनि हाल लागत बढेर करिब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्