ब्रेललिपि नभएपछि दृष्टिविहीनलाई अडियो एप्स «

ब्रेललिपि नभएपछि दृष्टिविहीनलाई अडियो एप्स

जुम्लामा दृष्टिविहीन विद्यार्थीको पढाइमा सहजता ल्याउन तथा विद्यार्थीको क्षमता अभिवृद्धिका लागि मोबाइल अडियो एप्स प्रयोगमा ल्याइएको छ । दृष्टिविहीन विद्यार्थीलाई पनि आधुनिक शिक्षा प्रणालीमा जोड्ने प्रयास जुम्लामा चलिरहेको छ । दृष्टिविहीन विद्यार्थीले पढ्ने बे्रललिपिमा पुस्तक नभएपछि उनीहरूलाई मोबाइल उपलब्ध गराइएको हो । पटकपटक माग गर्दा पनि बे्रललिपि नपुगेपछि जुम्लाका दृष्टिविहीनलाई मोबाइल दिइएको हो ।
जुम्लाका विभिन्न क्षेत्रमा विशेष कक्षामा अध्ययरत दृष्टिविहीन विद्यार्थी अब मोबाइल अडियो एप्सको सहायताबाट पढाइलाई निरन्तरता दिने भएका छन् । जुम्लाका विशेष कक्षामा अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीका लागि ब्रेललिपिको व्यवस्था छैन ।
कक्षाकोठाभित्रै साथी मिलेर पढ्ने गरिरहेको अवस्थामा दृष्टिविहीन विद्यार्थीलाई आधुनिक शिक्षामा जोड्न जुम्लामा आइतबार एन्ड्रोइड मोबाइल वितरण गरिएको छ । मोबाइलबाट दृष्टिविहीन विद्यार्थीले आफूले पढ्ने कुरा रेकर्ड गरेको आवाज सुनेर अथवा आफै रेकर्ड गरी पढ्न सक्नेछन् ।
मोबाइल वितरण कार्यले दृष्टिविहीन विद्यार्थीको पढाइ क्षमता अभिवृद्धिका साथै सिकाइ वृद्धि हुने विज्ञहरूले बताएका छन् । उनीहरूको आवश्यकता बे्रललिपि पुस्तक हो तर मोबाइलले उनीहरूको निश्चित समयको सदुपयोग हुने देखिन्छ ।

७ विद्यार्थीलाई मोबाइल
दुर्गमका दृष्टिविहीन विद्यार्थीसँग समयमै कक्षाअनुसारको ब्रेललिपि नपुग्ने भएकाले उनीहरूलाई थोरै भए पनि एन्ड्रोइड मोबाइलको अडियो एप्सको सहायाताले पढाइमा सहज हुने भएको छ । जुम्लाका भैरव मावि नराकोट र कर्णाली मावि अनामनगरबाट अध्ययन गरेका ७ जना दृष्टिविहीन विद्यार्थीहरूले मोबाइल पाएका छन् ।
चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले दृष्टिविहीन विद्यार्थीलाई सामसुङ हस्तान्तरण गरेकी हुन् । मोबाइल दिँदै मेयर सेजुवालले भनिन, “मोबाइलको सहायताले उनीहरूलाई पढ्न सजिलो हुनेछ, तर यो दिगो उपाय भने होइन, बरु राज्यले समयमै ब्रेललिपि बनाएर दुर्गम क्षेत्रका विद्यार्थीलाई पठाउनुपर्छ ।”
आद्रा नेपालको सहयोग तथा साझेदारी सहयोग केन्द्रको आयोजनामा मोबाइल वितरण गरिएको पेश नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए ।

बे्रललिपि नहुँदा समस्या
“चाँडो ब्रेललिपि ल्याउन विद्यालयसँग माग गरे पनि अझै एक-दुई महिना लाग्ने बताउँछन् दृष्टिविहीन सत्या बुढाले भनिन, “सँधै आधा कोर्समात्र ब्रेललिपिमा पढेर परीक्षा दिनुपर्ने समस्या छ । अब मोबाइलले पक्कै पनि केही राहत दिलाउने छ ।”
“विद्यालयमा गए पनि शिक्षकले पढाएको आवाजमात्र सुन्नुपर्छ, सुनेकै आधारमा कसरी परीक्षा दिन सकिन्छ,” ब्रेललिपि नआउँदा हामीलाई एन्ड्रोइड मोबाइलको सहायताले पढ्न सजिलो हुने भयो,” अर्की दृष्टिविहीन निर्माया प्याकुरेलले भनिन् ।
सागर परियार

प्रतिक्रिया दिनुहोस्