बाँकेमा पशु चौपायाको संख्या बढ्यो, कुखुराको संख्या घट्यो «

बाँकेमा पशु चौपायाको संख्या बढ्यो, कुखुराको संख्या घट्यो

नेपालगन्ज-व्यवसायिक पशुपालन सुरु भएपछि बाँकेमा पशुचौपायाको संख्या बढ्दै गएको पशु सेवा कार्यालय बाँकेले जनाएको छ । पशुचौपायाको संख्या बढ्दै गएपनि खुला सीमानाका कारण अधिकांश कुखुरा भारतबाटै अवैध रुपमा आयात भैरहेकोले कुखुराको संख्या भने घटेको पाईएको सो कार्यालयले जनाएको छ ।
पशु सेवा कार्यालय बाँकेका वरिष्ठ पशु चिकित्सक डा बेदराज केसीले दिएको जानकारी अनुसार पशुपालनले व्यवसायीक रुप लिंदै गएपछि एक वर्षको अवधिमा बाँकेमा लगभग २ हजार गाईगोरुको संख्या बृद्धि भएको छ । आर्थिक वर्ष २०७२–०७३ मा २ लाख १८ हजार ७ सय ९४ गाईगोरु रहेकोमा आर्थिक वर्ष २०७३–०७४ मा शून्य दशमलव ७५ प्रतिशतले बढेर २ लाख २० हजार ४ सय ५३ गाईगोरु रहेका छन् ।
गाईको तुलनामा भैँसी र राँगा, बाख्रा र घोडा खच्चडको संख्या भने बाँकेमा सन्तोेषजनक रुपमा बृद्धि भएको छ । आर्थिक वर्ष २०७३–०७४ मा भैँसी र राँगा, घोडा-खच्चड २–२ प्रतिशत र बाख्रा ३ दशमलव ५ प्रतिशतले बृद्धि भएको पशु सेवा कार्यालयको तथ्यांकले देखाएको छ ।
तर, बंगुरको संख्या माइनस २ प्रतिशतले घटेको छ । आव २०७२–०७३ मा ८७ हजार ८ सय २८ रहेकोमा आव २०७३–०७४ मा घटेर ८५ हजार ३ सय ४५ मा झरेको छ ।
माग र खपत अत्याधिक भएपनि खुला सीमानाका कारण बाँकेमा कुखुराको संख्या पनि बृद्धि हुन नसकेको पशु सेवा कार्यालयले जनाएको छ । हाल बाँकेमा ३ लाख २ हजार ६ सय ९९ कुखुरा रहेका छन् । आर्थिक वर्ष २०७२–०७३ मा ३ लाख ११ हजार ९ कुखुरा रहेका थिए ।
होटल खुल्ने क्रम बढेसंगै कुखुराको मासुको माग दिनदिनै बढेपनि भारतबाट अवैध रुपमा आयात हुने कुखुराको आयात रोक्न नसक्दा बाँके जिल्लाका कुखुराको उत्पादन घटेको पाईएको व्यवसायीहरुको भनाई छ । दैनिक रुपमा सयौंको संख्यामा प्रहरीले सीमानामा भारतबाट ल्याईएका कुखुराहरु पक्राउ गर्दै आएको छ भने सयौंको संख्यामा चोरी लुकी भित्रयाउने गरिएको छ ।
यसैविच बाँकेमा कृतिम गर्भाधानलाई विशेष महत्व दिइएको छ । नश्ल सुधार गरेर उन्नत जातका पशुको विकास गर्न कृतिम गर्भाधानलाई विशेष प्राथमिकतामा राखिएको डा. केसीले बताए ।
आव २०७३–०७४ को एक वर्षमा बाँकेमा ४ हजार ८ सय १२ पशुचौपायामा कृतिम गर्भाधान गराइएको बरिष्ठ पशु चिकित्सक केसीले बताए । उनका अनुसार ३ हजार १ सय ५८ गाई, १ हजार ५ सय ३९ भैँसी र केवल १ सय १५ बाख्रामा कृतिम गर्भाधान गरिएको छ ।
विगतको तुलनामा कृतिम गर्भाधानको संख्या बृद्धि भएको उनले बताए । आव २०७२–०७३ मा ३ हजार ३ सय ३९ गाई, १ हजार २ सय ७९ भैँसी र ५६ बाख्रामा कृतिम गर्भाधान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्