सारथीको साथ

सारथी क्याब ट्याक्सी सेवा उपलब्ध गराउने प्लेटफर्म हो, क्याब एग्रिगेटर हो । उपभोक्तालाई सहज ट्याक्सी सेवा उपलब्ध गराउने हेतुले सन् २०१६ को मेमा नेपालमा एप्लिकेशन÷इन्टरनेटमा आधारित वा कल सेन्टरमा फोन गरेर ट्याक्सी बुक गरी सेवा लिन सकिने सारथी क्याब स्थापना भएको हो । सारथीबाट ट्याक्सी बुक गरेपछि सरकारले तोकेको मिटरमा ट्याक्सी सेवा पाइन्छ । ट्याक्सी क्याबको कन्सेप्ट विश्वभर नै छ ।
यस्तो क्याब सिस्टम हामीले नै पत्ता लगाएको त्यस्तो नयाँ इनोभेसन भने नभएको सारथी क्याबका सहसंस्थापक रवि सिंघलले बताए । अमेरकामा उवर, भारतमा ओला÷उवर अन्य देशहरूमा पनि यस्तो प्लेटफर्म छन् । नेपालमा अन्य कम्पनीहरू नआएका पनि हैनन्, तर उनीहरू चल्न सकेनन् ।
“हामीले नेपालमा यस्तो प्लेटफर्म सञ्चालनका लागि लामो अध्ययन गर्यो र यहीँको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने गरी कम्पनी स्थापना गर्यो । नेपालमा ट्याक्सीको सेवालाई यात्रुमैत्री र सम्मानित गर्न स्थापना गरिएको कम्पनी हो सारथी क्याब,” सिंघलले भने । सारथीसँग अहिले करिब १ सय ट्याक्सी जोडिएको र २०१८ को अन्त्यसम्ममा कम्तिमा ७ सय ट्याक्सी सारथीसँग आवद्ध गराउने लक्ष्य रहेको कम्पनीका अर्का सह–संस्थापक प्रकाश न्यौपानेले उल्लेख गरे ।
काठमाडौंमा ट्याक्सी रोकेर सोधिन्छ– फलानो ठाउँसम्म जानु छ, कति भाडा लाग्छ ? काठमाडौंमा चालकले भनेजति भाडा दिएन र उसलाई जान मन लागेको गन्तव्य भएन भने ट्याक्सी चढ्न पाइँदैन । मिटरमा जाने हो भनेर सोध्ने यात्रुलाई ट्याक्सी चालकहरूले सिधै भन्छन्– मिटरमा नजाने, यति दिनुन् । उपत्यकाका ट्याक्सी प्रायः मिटरमा चल्दैनन् । जान मानिहाले भने ‘मिलाइएको” मिटर वा अपत्यारिलो बिल उठाउँछन् र यात्रुलाई तिर्न बाध्य पार्छन् ।
तर, अब यात्रुले यस्तो गुनासो गर्न ठाउँ क्रमशः हट्दै जानेछ । ट्याक्सी चढ्दा नठगिने ग्यारेन्टी गर्दै ‘सारथी’ले सेवा सुरु गरेको छ । एप्लिकेशन-इन्टरनेटमा आधारित वा कल सेन्टरमा फोन गरेर ट्याक्सी बुक गरी सेवा पाउन सकिन्छ । आजभोलि ‘सारथि क्याब’ को सेवा लिएका धेरैले आफ्नो ट्याक्सी यात्राको अनुभवलाई ‘अपत्यारिलो’ भन्ने गरेका छन् । रवि सिंघल र प्रकाश न्यौपानेले परिकल्पना गरेर स्थापना भएको कम्पनी हो, सारथी ।
विदेशमा ट्याक्सी सेवामा चर्चित उबर र ओलाको जस्तै सेवा नेपालमा दिन सकिन्छ कि भनेर उनीहरूले यो कम्पनी दर्ता गरेका थिए । तर, नेपालमा ट्याक्सी सञ्चालनको नीतिलाई हेरेर उनीहरूले नयाँ योजना ल्याए र सारथी मार्फत् सेवा थालेको बताउँछन् । उनीहरू कम्पनीका सह–संस्थापक हुन् ।
हाम्रो ट्याक्सी सञ्चालन प्रणालीमा नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको न्यौपानेले बताए । “ड्राइभरलाई यात्रुसँग सम्मानजनक व्यवहार र ट्याक्सीमा प्रयोग हुने प्रविधिमा अभ्यस्त गराउने काम गाह्रो थियो,” न्यौपानेले भने, “जसमा हामीले केही सफलता पाएका छौं । यात्रुलाई राम्रो व्यवहार गर्न सिकाउन हामी तालिम नै दिन्छौं ।” सारथीले यात्रुमैत्री सेवा दिलाउन ट्याक्सी र चालकलाई अभ्यस्त बनाउँदै सेवामा लगाएको छ ।
सारथीको सेवा लिन चाहनेले कम्पनीकै कल सेन्टरमा फोन गरेर ट्याक्सी बुक गर्छन् । सारथीको हटलाइनमा ट्याक्सी चढ्ने स्थान जानकारी गराएपछि अपरेटरले आइपुग्ने समय जानकारी गराउँछन् । यात्रु लिन आउने ट्याक्सीका चालकले तपाईंलाई फोन गरेर प्रतीक्षाका लागि आग्रह गर्छन् । सारथीका सबै ट्याक्सीमा ठूलो डिस्प्लेसहितको ट्याब्लेट जोडिएको छ । यात्रु चढेपछि चालकले ट्याब्लेटमा यात्रा सुरु गरेको जानकारी दिने बटन थिच्छन् । यो जानकारी सारथीको कन्ट्रोल रुममा पुगिरहेको हुन्छ । त्यसपछि सोही ट्याब्लेटमा ट्याक्सीले यात्रु रिसिभ गरेपछि पार गरेको दूरी, लागेको समय, उठेको भाडा र जाममा बस्दा रोकिएको समयसमेत डिस्प्लेमा हरेक समय हेर्न सकिन्छ । ट्याक्सी गुडिरहेको सडकको नक्सा पनि डिस्प्लेमा देख्न सकिन्छ । सँगै ट्याक्सीमा जोडिएको मिटर पनि हेर्न सकिन्छ ।
आफ्नो गन्तव्यमा पुगेपछि ट्याक्सीले सबै विवरणसहितको बिल प्रिन्ट गरेर दिन्छ । मिटरको बिलअनुसार यात्रुले भाडा तिर्नुपर्छ । फोनबाट बुक हुने मात्रै होइन, सारथीका ट्याक्सी खाली हुँदा जोसुकैले पनि रोकेर चढ्न पाउँछन् । त्यसरी चढ्दा पनि मिटरमै उठेको बिल तिरेर यात्रा गर्न पाइन्छ ।
सारथीसँग जोडिन ट्याक्सीहरूले कम्पनीका केही सर्तहरू मान्नुपर्छ । सारथीको मूल मन्त्र हो– यात्रुमैत्री सेवा । त्यसका लागि कम्पनीले तीनवटा सर्त तय गरेको छ, त्यसको परिपालना अनिवार्य हुन्छ । पहिलो– मिटरमा जानुपर्ने, दोस्रो– सेवाग्राहीसँग राम्रो व्यवहार गर्नुपर्ने र तेस्रो गाडी सफा हुनुपर्छ ।
त्यसपछि सारथीको एप्लिकेशन प्रयोग कसरी गर्ने र चालकले यात्रुसँग कस्तो व्यवहार गर्ने भन्ने तालिम चालकलाई दिने गरिएको सिंघलले बताए । “ट्याक्सीमा एप्लिकेशन चलाउन डिभाइस हुनेलाई त्यसमै एप्लिकेशन राखिदिन्छौं भने नहुनेलाई किस्ताबन्दीमा हामी नै उपलब्ध गराउँछौं । ट्याक्सी भएका तर चालक नभएकाहरूलाई चालक समेत उपलब्ध गराउँछौं,” उनले भने ।
सारथीसँग जोडिएका ट्याक्सीहरूले कमाइको बारेमा कुनै चिन्ता लिनु नपर्ने न्यौपानेको भनाइ छ । “सारथीसँग जोडिएका ट्याक्सीले अहिले दैनिक ६ देखि ७ हजार कमाइरहेका छन्, जुन कुरा हामी ग्यारेन्टी नै गर्छाैं,” उनले भने, “हामीले त्यही ट्याक्सीको आम्दानीको १० प्रतिशत बुकिङ चार्जका रुपमा लिन्छौं । सारथीसँग जोडिएका ट्याक्सीले ट्रिप खोज्नु पर्दैन, हामी नै खोजी दिन्छौं ।”
विगतमा सारथीका के हो भन्ने थियो ट्याक्सी चालकहरूबीच नै । तर अहिले सारथीमा जोडिनका लागि ट्याक्सी ओनरहरू आफैं आउने अवस्था सृजना भएको न्यौपानेको भनाइ छ । “यो हाम्रो करिब २ वर्षको लगानीको प्रतिफल हो,” उनले भने “अब सेवा विस्तार गर्न सहज हुनेछ ।”
अहिले सारथीको सेवा काठमाडौंको रिङरोड भित्रमात्र सीमित छ । २०१७ को अगस्टदेखि २ वटा ट्याक्सीमाट सेवा सुरु गरेकोमा अहिले करिब १ सय ट्याक्सीसँग जोडिएको छ । अबको एक महिनामा काठमाडौं उपत्यकाभित्र सेवा उपलब्ध गराउने सिंघलले बताए । उपत्यका बाहिरका अन्य सहरमा पनि जाने योजना रहेको उनले सुनाए । तर त्यसका लागि आवश्यक तयारी गरेर पूर्ण सेवा उपलब्ध गराउन सक्ने गरी जाने योजना रहेको उनको भनाइ छ ।