खोला एकीकृत गर्न प्रस्ताव «

खोला एकीकृत गर्न प्रस्ताव

झापाको प्रमुख समस्याको रूपमा रहेको नदी समस्या समाधान र प्रभावकारी तटबन्धनका लागि नदी प्रणाली सुधार प्रस्ताव अघि सारिएको छ ।
जिल्ला समन्वय समिति झापाले मिल्दाजुल्दा र सम्भव भएका खोलालाई एकीकृत गर्न सकिने भन्दै यस्तो प्रस्तावअघि सारेको हो ।
समितिले लामो छलफल र बहसपछि कमल खोलालाई कन्काई खोलामा, मावा खोलालाई रतुवा खोलामा र टाङटिङ खोलालाई विरिङ खोलामा एकीकृत गर्न अध्ययन टोली बनाउन प्रधामन्त्री केपी शर्मा ओलीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ ।
यसले झापामा नदी नियन्त्रणका लागि हुँदै आएको खर्च कम हुने र स्थानीय सरकारका लागि सयौं बिघा जमिन प्राप्ति हुने बताइन्छ । यसका लागि प्रारम्भिक चरणमा कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको समस्याको रूपमा रहेको कमल खोलालाई कन्काई खोलामा एकीकृत गर्न सकिने भन्दै बहस सुरु गरिएको छ ।
नदी नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको जनताको तटबन्धन कार्यक्रममा संलग्न प्राविधिकहरूले यस विषयमा जिल्ला समन्वय समिति झापालाई सुझाव दिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए ।
चुरे क्षेत्रबाट यो खोला भारतसम्म पुग्दा २४ किमि लामो छ । यसको दुवैतर्फ तटबन्धन गर्नका लागि अर्बांै रुपैयाँले नपुग्ने उनले बताए । यसलाई चुरेको फेदीबाट कन्काईमा मिसाउँदा चार किमिमात्र दूरी पर्ने र यसका लागि कसैलाई मुआब्जासमेत दिन नपर्ने जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेलले बताए ।
हजारांै बिघा सार्वजनिक जग्गा निस्कने र दुईवटा खोला नियन्त्रणका लागि लाग्ने बजेट एउटा खोला नियन्त्रणमा लगाउँदा प्रभावकारी बन्ने जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेलको भनाइ छ ।
यो प्रस्ताव लिएर आफूहरू संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पुगेको र उनले सकारत्मक रूपमा लिएको पोर्तेलले बताए ।
उनले कमललाई कन्काईमा, मावालाई रतुवामा र टाङटिङलाई विरीङमा एकीकृत गर्न अध्ययनका लागि संघीय सरकारसँग माग गरिएको बताए ।
झापा र मोरङ जिल्लाका स्थानीय तहको समस्याको रूपमा रहेका मावा र रतुवालाई समेत एउटै खोला बनाउन सकिने समेत प्राविधिकहरुले सुझाव दिएको पोर्तेलले बताए ।

प्रतिक्रिया दिनुहोस्