सारथीसँग जोडिएका ट्याक्सीले दैनिक ७ हजारसम्म कमाउँछन् «

सारथीसँग जोडिएका ट्याक्सीले दैनिक ७ हजारसम्म कमाउँछन्

सारथी क्याब के हो ?
यो ट्याक्सी उपभोक्ताका लागि सहज र सरल तवरले ट्याक्सी सेवा उपलब्ध गराउने प्लेटफर्म हो । एप्लिकेशन-इन्टरनेटमा आधारित वा कलसेन्टरमा फोन गरेर ट्याक्सी बुक गरी सेवा पाउन सकिन्छ । सारथीबाट ट्याक्सी बुक गरेपछि सरकारले तोकेको मिटरमा ट्याक्सी सेवा पाइन्छ, त्यो हामी ग्यारेन्टी गर्छौं । हामीले सारथी क्याब सन् २०१६ को मेमा स्थापना गरेका हौं भने सेवा सुरु भने २०१७ को अगस्टदेखि थालेका हौं ।

कसरी आयो यस्तो कन्सेप्ट ?
ट्याक्सी क्याबको कन्सेप्ट विश्वभर नै छ । हामीले नै पत्ता लगाएको त्यस्तो नयाँ इनोभेसन भने होइन । अमरिकामा उवर, भारतमा ओला-उवर अन्य देशहरूमा पनि यस्तो प्लेटफर्म छन् । नेपालमा अन्य कम्पनीहरू नआएका पनि हैनन् तर उनीहरू चल्न सकेनन् । हामीले नेपालमा यस्तो प्लेटफर्म सञ्चालनका लागि लामो अध्ययन ग¥यौं र यहीँको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने गरि कम्पनी स्थापना गरेका छौं ।

त्यसो भए अब सारथी स्थापित भएको हो ?
अब हामी अघि बढ्न सुरु गरिसक्यौं । हामीले यो कम्पनी स्थापनाका लागि करिब २५ हजार मानिससँग प्रत्यक्ष परोक्ष रुपमा भेट्यौं र आवश्यकता र परिस्थितिको विश्लेषण ग¥यौं । अहिले सारथीसँग करिब १ सय ट्याक्सी छन् । यसलाई २०१८ को अन्त्यसम्मा ७ सयभन्दा बढी पु¥याउने हाम्रो लक्ष्य छ । पहिले सारथी भनेको के हो, त्यहाँ गएर के हुन्छ भन्नेहरू अहिले सारथीमा जान पाए हुन्थ्यो भन्ने अवस्था सृजना भएको छ ।
ट्याक्सी चालकहरू सारथीसँग जोडिन के गर्नुपर्छ ?
हामीसँग जोडिन ट्याक्सी ओनरहरूले हाम्रो केही सर्तहरू मान्नु पर्छ । तीनवटा सर्तमा पहिलो मिटरमा जानुपर्ने दोस्रो, सेवाग्राहीसँग राम्रो व्यवहार गर्नुपर्ने र तेस्रो गाडी सफा हुनुपर्छ । त्यसपछि हामी सारथीको एप्लिकेशन प्रयोग र चालकलाई तालिम दिन्छौं । आफैंसँग डिभाइस हुनेलाई त्यसमै एप्लिकेशन राखिदिन्छौं भने नहुनेलाई किस्ताबन्दीमा हामी नै उपलब्ध गराउँछौं । ट्याक्सी भएका तर चालक नभएकाहरूलाई चालक समेत उपलब्ध गराउँछौं ।
यो सबै गर्नुभयो तर तपाईंहरूको आम्दानीको स्रोत चाहिँ के हो त ?
सान्दर्भिक कुरा उठाउनु भयो । सारथीसँग जोडिएका ट्याक्सीले अहिले दैनिक ६ देखि ७ हजार कमाइरहेका छन् जुन कुरा हामी ग्यारेन्टी नै गछौं । हामीले त्यही ट्याक्सीको आम्दानीको १० प्रतिशत बुकिङ चार्जका रुपमा लिन्छौं । सारथीसँग जोडिएका ट्याक्सीले ट्रिप खोज्नु पर्दैन हामी नै खोजी दिन्छौं ।
हामी अहिले रिङरोडभित्र सीमित छौं । २०१७ को अगस्टदेखि २ वटा ट्याक्सीमाट सेवा सुरु गरेका हामी अहिले करिब १ सय ट्याक्सीसँग जोडिएका छौं । अबको एक महिना भित्र काठमाडौं उपत्यकाभित्र सेवा उपलब्ध गराउँदै छौं । उपत्यका बाहिरका अन्य सहरमा पनि जाने हाम्रो योजना छ । तर त्यसका लागि अध्ययन र परिपक्वता जरुरी छ । हामी अन्य सहरमा जाँदा पूर्ण सेवा उपलब्ध गराउन सक्ने गरि जान्छौं ।

प्रतिक्रिया दिनुहोस्