मूल्य नपाउँदा ऊखु किसान पलायन «

मूल्य नपाउँदा ऊखु किसान पलायन

विराटनगर-सरकारले उखुको मूल्य तोकेपछि उत्साहित भएका मोरङ–सुनसरीका कृषकको खुसी धेरै दिन टिक्न सकेन । सरकारले ऊखुको मूल्य तोक्दा किसान निकै उत्साहित थिए । तर, तोकेको मूल्य नपाउँदा यतिबेला किसानहरू निराश भएका छन् । उचित मूल्य नपाउँदा ऊखु खेतीबाट किसानहरू धमाधम पलायन हुन थालेका छन् ।
सरकारले ऊखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ चैत २२ गतेदेखि लागू हुने भनेर तोके पनि कार्यान्वयन हुन नसकेको उखु कृषकहरूको भनाइ छ । तोकेबमोजिमको मूल्य नपाउँदा मार खेप्न बाध्य छन् भने अर्कातर्फ उद्योगीहरूले आफूले भनेअनुसार भएमात्र उखु किन्ने नत्र नकिन्ने भनेपछि उनीहरू दोहोरो मार खेप्न बाध्य हुन् । “ऊखु किसानहरू मर्नु न बाँच्नुको अवस्थामा छन्,” सुनसरी बर्जु–४ का किसान सियाराम यादव भन्छन्, “ऋणमाथि ऋण थोपरिरहेको छ । बिक्री गर्न समस्या छ, बिक्री भएपछि पैसा उठाउन समस्या छ ।” पूर्वमा सुनसरीको अमाहीबेल्लामा ईस्टन सुगर मिल मात्रै छ ।
पूर्वका किसानले उत्पादन गरेको ऊखु यही मिलमा बिक्री गर्नुपर्ने बाध्यता छ किसानका लागि । किनभने पूर्वमा एउटैमात्र चिनी मिल छ । “किसानले तोकेको भन्दा पनि मिलले तोकेको मूल्यमा ऊखु दिनुपर्छ,” अर्का किसान बल्लभ श्रेष्ठ भन्छन्, “कि त उद्योगले तोकेको मूल्यमा बिक्री गर्नुप¥यो कि त खेतमै आगो लगाउनुप¥यो ।” सुनसरीको बर्जु–४ मा १५ बिघा खेतमा ऊखुखेती गर्दै आएका यादव उद्योगले समयमा भुक्तानी नदिँदा साहुबाट भाग्दै हिँड्नुपरेको दुखेसो पोख्छन् ।
गाउँमा महँगो ब्याजमा ऋण लिएर खेती गर्ने किसानको त घरखेती नै डुबेको उनको भनाइ छ । “ऊखु खेतीकै कारण धेरै किसान घरबारविहीन भएका छन्,” उनले भने, “आजभन्दा डेढ दुई दशकअघिसम्म त राम्रै थियो, पछिल्लो ४–५ वर्षयता ऊखुखेती ओरोलो लाग्यो ।” मजदुर, सिँचाइ, बैंक ब्याज, बिक्रीको समस्यालगायतका कारण किसान मारमा परेको उनी बताउँछन् ।
अर्का कृषक पंकज यादवको गुनासो पनि उस्तै छ ।
समयमा भुक्तानी नदिने र दिए पनि किस्ताकिस्ता गरेर दिने गरेकाले आफूहरूलाई समस्या हुने गरेको उनको भनाइ छ । विराटनगर–१२ मा १८ बिघा जग्गा लिजमा लिएर ऊखुखेती गर्दै आएका तीर्थेन्द्र न्यौपानेले १ बिघा ऊखु खेती लगाउन १ लाखभन्दा बढी लाग्ने बताउँछन् । सुनसरी–मोरङ ऊखु उत्पादक संघ र कोशी ऊखु उत्पादक संघले पनि उखु कृषकहरूका समस्यालाई जोडदारका साथ उठाउन नसकेको न्यौपानेले गुनासो गरे ।
सरकारले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गर्ने भने पनि व्यवहारमा लागू हुन नसकेको न्यौपानेको भनाइ छ । “जबसम्म किसानले उत्पादन गरेको वस्तुको मूल्य आफैं निर्धारण गर्ने अवस्था आउँदैन तबसम्म किसानको जीवनस्तर माथि उक्सिँदैन,” न्यौपानले भने, “घाटा सहेरै भए पनि उद्योग र बिचौलियाले तोकेकै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ ।” कृषिजन्य हरेक उत्पादनको मूल्य किसानको हातमा नरहेको उनको बुझाइ छ ।
गत वर्ष सुनसरी–मोरङका कृषकहरूले १० हजार बिघामा ऊखु खेती गरेका थिए । तर यो वर्ष सुनसरी मोरङका ७ हजार बिघामा ऊखु खेती गरेका छन् । इस्टर्न सुगर मिलले समयमा भुक्तानी नदिएपछि ऊखुखेतीबाट कृषकहरू पलायन हुने क्रम बढ्दै गएको न्यौपाने बताउँछन् । पूर्वमा मोरङ र सुनसरीमा बढी मात्रामा ऊखु खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्