एक रोपनीभन्दा कम जमिन खरिद बिक्रीमा रोक «

एक रोपनीभन्दा कम जमिन खरिद बिक्रीमा रोक

इलाम-आफ्नो नाममा रहेको एक रोपनीभन्दा कम जमिन बेच्नै पाइँदैन भन्दा पत्याउनै गाह्रो होला । तर, इलामका जनप्रतिनिधिले यस्तै नियम बनाएका छन् ।
जनतालाई नै सेवा गर्छु अनी जनताकै पक्षमा काम गर्ने बाचा गर्दै निर्वाचित प्रतिनिधिले जनतालाई नै सास्ती दिएका छन् भन्दा फरक पर्दैन यहाँ । किनकी सूर्योदय नगरपालिकाले फिक्कल पशुपतिनगर सडक खण्डबाट ५०० मिटर दायाँबायाँ १ रोपनीभन्दा कम जग्गा खरिद बिक्री गर्न नपाउने नियम बनाएपछि स्थानीबासी असन्तुष्ट बनेका छन् । नगरपालिकाले नमूना बस्तीका लागी भन्दै ९ नम्बर वडालाई अघि सारेपछि सो क्षेत्रको कालोपत्रे सडक छेउको १ रोपनी क्षेत्रफलभन्दा कमका कुनै पनि जग्गा बिक्री गर्न नपाउने भएपछि स्थानीय असन्तुष्ट भएका हुन् ।
नगर परिषद्बाट कुनै एउटा वडामा एकीकृत बस्तीको अवधारणा अगाडि सारेपछि नगरले सो वडालाई छनोट गरेको नगरपालिकाले जनाएको छ । वडाको आग्रहपछि नगरपालिकाले पनि भौगोलिक रुपमा केन्द्रबाट नजिक भएकाले सो वडामा एकीकृत बस्तीका लागि भन्दै यस्तो निर्णय अगाडि बढाएको हो ।
सो कदमपछि जनप्रतिनिधिहरू नगर विकासको एक कदम अघि बढेको महसुस गरे पनि वडावासीमा भने समस्या भएको छ । जग्गा खरिद बिक्रीमात्र होइन नगरपालिकाले ल्याएको एकीकृत सम्पत्तिको अवधारणाले पनि नगरवासी समस्यामा परेको स्थानीय उत्तमकुमार श्रेष्ठले बताए । एकीकृत बस्तीका लागि वडा नं. ९ को निर्णयको अहिले विरोधसमेत सुरु भएको छ । वडाबासीले यो निर्णय सच्याउँदै व्यवहारिक र जनतामुखी बन्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाइसकेका छन् ।
स्थानीयले आवश्यकताअनुसार जग्गा बिक्री वितरण गर्न नपाउँदा समस्या परेका बेला जग्गा हुनु र नहुनुको कुने अर्थ नहुने भन्दै निर्णयका विषयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । नगरपालिकाले यस्तो निर्णयको विषयमा पुनर्विचार नगरे भविष्यमा पनि वडा नं. ९ बरबोटे र आसपासका क्षेत्र अपेक्षिकृत विकासमा समस्या हुन सक्ने वडा नं ९ टोल विकास समितिका संयोजक डम्बर प्रधानले बताए ।
नगरपालिकाको निर्णयले गाउँबाट सेवा सुविधा खोज्दै थोरै पैसा बोकेर सहर प्रवेश गर्ने मानिसका लागि यो ठाउँमा बसोबास गर्ने नसकिने स्थिति सिर्जना हुने सम्भावना देखिएको स्थानीय नरबहादुर लामाले बताए ।
यता जनतालाई समस्या पर्ने देखिएमा आगामी नगरपरिषद्बाट निर्णयलाई पुनर्विचार गर्न सकिने बाटो खुल्ला रहेको वडाध्यक्ष देवेन्द्र शर्मा बताए । उनले एकीकृत नमुना बस्तीका लागी यस्तो अवधारणा अगाडि बढाइएको जानकारी दिए ।
टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्