भैरहवा भन्सारमा बेथिती बढ्दै «

भैरहवा भन्सारमा बेथिती बढ्दै

भैरहवा-अर्थ मन्त्रालयलको निर्देशनविपरीत भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने सामानमा चेकजाँच गर्दा भैरहवा भन्सार कार्यालयमा पछिल्लो समय बेथिती बढ्दै गएको छ । मन्त्रालयले सबै सामान एक–एक गरी चेकजाँच गर्न निर्देशन दिए पनि भन्सार कार्यालयले प्रज्ञापनपत्रका आधारमा केही सामानको नमूना मात्रै हेरेर सामान पास गर्ने गरेको छ । व्यवसायीको विश्वासका आधारमा गरिने चेकजाँचले दैनिक लाखौं रूपैयाँ राजश्व भन्सारबाटै चुहावट हुँदै आएको छ ।
कार्यालयबाट हरियो तरकारी, आलू भनेर प्रज्ञापनपत्र भरी निकासी पाएको भारतीय गाडी केही दिनअघि चितवनबाट अवैधरूपमा भित्र्याइएको ८ क्विन्टल कुखुराको मासुसहित पक्राउ पर्यो । छिटो सड्ने सामान हरियो तरकारी तथा फलफूलहरू प्रज्ञापनकै आधारमा सामान्य हेरेर पठाउने गरिन्छ । तर पठाउँदा व्यापारीले प्रज्ञापन नगरी बिना भन्सार अन्य सामान पनि भित्र्याउने गरेका छन् ।
केही दिनअघि पनि भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको एक भ्यान कपडा रूपन्देही प्रहरीले पक्राउ गर्यो । यी दुई त उदाहरण मात्रै हुन् । अहिले भैरहवा भन्सारमा कर्मचारी, एजेन्ट र व्यापारीकै मिलेमतोमा दैनिकजसो यस्ता समान निकासी हुँदै आएका छन् । मन्त्रालयको निर्देशनविपरीत कर्मचारीको चेकजाँचले बेथितीले बढवा पाइरहेको छ । आयात हुने अन्य सामान पनि भन्सारमा सबै चेकजाँच नहुँदा पछिल्लो समय गैरभन्सार क्रियाकलपा बढिरहेका छन् । आफूहरूले एकै प्रकृतिको सामानको नमुना मात्रै जाँच गर्ने गरेको भन्सार कार्यालयका अधिकृत राजेन्द्रबन्धु अर्याल स्वीकार्छन् ।
खुला सीमाका कारण हुने तस्करी र भन्सार कर्मचारीको मिलेमतोले बढवा पाइरहँदा सिमा नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल, नेपाल प्रहरी र ट्राफिक प्रहरीको निगरानी हुने गरेको छ । तर सबै तहको सुरक्षा छल्दै अवैध आयात भइरहेको छ । प्रहरीसँग गाडीको ओभरलोड नाप्ने काँटासमेत उपलब्ध छैन भने भन्सारले पास गरेका गाडीको एकएक सामान हेर्ने अधिकारी पनि छैन । प्रहरीले प्रज्ञापनपत्रका आधारमा नै गाडीहरू छाड्ने गरेको छ । यसले गर्दा पनि गैरक्रियाकलाप दैनिकजसो बढ्दो छ । प्रहरीले ओभरलोड र प्रज्ञापन पत्रकै आधारमा सामान छाड्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव निरीक्षक डम्बर गिरीले बताए ।
पटक–पटक विवादमा आइरहेन भैरहवा भन्सार कार्यालयबाट यसअघि पनि एउटै प्रज्ञापनपत्रबाट दुइटा गाडि पास हुने गरेको तथ्य फेला परेको थियो । त्यसबेला कर्मचारीकै मिलेमतो पाइए पनि राजनीतिक संरक्षणले उन्मुक्ति पाउँदै आएका छन् । राजश्व चुहावट रोक्न भन्दै भन्सार कार्यालयमा अहिले आँसुकुडा वर्ड अनलाइन प्रणालीको विकास गरिएको छ । तर पनि मिलेमतोले गर्दा अबैध तस्करी रोकिएको छैन । कर्मचारीलाई राजनीतिक संरक्षणबाट टाढा राखेर जबसम्म कारबाही हुँदैन तवसम्म राज्यको लाखौं राजश्व त गुम्छ नै यस्ता क्रियाकलापले प्रश्रय पाइरहने सरोकारवाला बताउँछन् । भन्सारमा बेथिती बढ्दै जाँदा भन्सार कार्यालयले तोकेको लक्ष्यअनुसार राजश्व संकलन गर्नसमेत सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्