‘भाइब्रेन्ट सेरामिक्स एक्स्पो’ गुजरातमा सुरु «

‘भाइब्रेन्ट सेरामिक्स एक्स्पो’ गुजरातमा सुरु

६४ मुलुकका २ हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेको ‘भाइब्रेट सेरामिक्स एक्स्पो एण्ड समिट २०१७’ भारतको अहमदावादस्थित गान्धीनगरमा बिहीबारबाट सुरु भएको छ । सेरामिक्ससँग सम्बन्धित उद्योग व्यवसायका अनुभव साटसाट तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । एक्स्पोको उद्घाटन भारतीय कलाकार जेके सराफले गरे ।
“मोर्बी उत्पादनमा अग्रणी हँुदै जाँदा भारत संसारकै दोस्रो ठूलो उत्पादक भयो,” उनले भने, “सेरामिक्स उत्पादन प्रक्रियालाई हरित बनाउँदै जानुपर्छ ।” सेरामिक्स उत्पादनमा पानी, उर्जा रस टक्सिनजस्ता प्राकृतिक स्रोतको अधिक खपत हुने हुँदा थोरैभन्दा थोरै स्रोतबाट धेरै उत्पादन गर्नसके मोर्बी एक्लै संसारको ठूलो उत्पादक बन्नसक्ने उनले बताए । एक्स्पोमा ब्राजिल, कम्बोडिया, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, इटाली, अमेरीका, ओमन, रसिया, थाइल्याण्ड, बंगलादेश, नेपाललगायत ६४ मुलुकका २ हजारभन्दा बढी व्यावसायिक प्रतिनिधिहरू सहभागी छन् । आयोजकका अनुसार विश्वमा भइरहेको विकास, नयाँ डिजाइन निर्माण तथा व्यक्तिगत सजावटमा सेरामिक्सको प्रयोग दैनिकरूपमा बढ्दै गएको छ । पछिल्लो समयमा भएको माग र डिजाइनलाई लक्षित गरी भारतले अघिल्लो वर्षदेखि सेरामिक्स एक्स्पो एण्ड समिटको सुरुवात गरेको एक्स्पोका प्रमुख कार्यकारी अधिकृत सन्जिव पटेलले बताए । “एक्स्पो व्यावसायिक, उत्पादक, आविष्कारकका लागि ऐतिहासिक भएको छ,” उनले भने । गत वर्षको तुलनामा उत्पादनमा धेरै सुधार भएको उनले दाबी गरे । एक्स्पोबाट भारतीय व्यवसायी मात्र नभइ विश्वभरका उपभोक्ता लाभान्वित भएको उनले बताए । हाल सेरामिक्स उत्पादनमा सबैभन्दा अगााडी चीन छ भने भारत दोस्रोमा छ । एक्स्पोबाट प्रविधिसँगै गुणस्तरको पनि छनोट गर्न सकिने आयोजकको दाबी छ । “भारतीय व्यवसायीले उत्पादन गरेका सेरामिक्स अन्य व्यवसायीमार्फत एकैपटक उभोक्ताको घरदैलोमा पुग्न मदत गरेको छ,” पटेलले भने, “यसले प्रविधि जाकारीमात्र होइन मूल्य, गुणस्तरमा पनि छनौटको अवसर प्राप्त भएको छ ।”एक्स्पोका अध्यक्ष तेज कुण्डारियाले समिट विश्वभरका व्यवसायीलाई धेरै फलदायी हुने बताए ।
नेपाल चेम्बर अफ कमर्सको नेतृत्वमा नेपालबाट झन्डै ५ दर्जन व्यवसायीले सहभागिता जनाएका छन् । पछिल्लो १० वर्षयता नेपालमा पनि होटल, निजी घर र व्यावसायिक भवनमा सेरामिक्सको प्रयोग बढ्दो छ । उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै व्यवसायीहरू पनि यो एक्स्पोमा नेटवर्क विस्तार तथा डिलरसीपदेखि व्यक्तिगत सम्वन्धमा जोड दिएका छन् । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एस्क्पोबाट नेपाली व्यवसायीले प्रतिस्पर्धी बजारमा व्यवसाय गर्न मात्र नभएर आफूमा परिपक्ता ल्याउन सहज हुने बताए ।
नेपालमा यसखाले उद्योगको संख्या न्यून भए पनि बजार भने ठूलो रहेको उनको भनाइ छ । मलेसिया तथा चीनबाटसेरामिक्स आयात भए पनि भारतवाट तुलनात्मक रूपमा बढी डिजाइन र गुणस्तरका सामान पाइने भएकोले नपाली बजारमा भारतबाट धेरै आयात हुने गरेको छ । ५० हजार वर्गमिटरमा फैलिएको एक्स्पोको मूल आयोजक भने मोरबी सेरामिक्स एसोसियसन रहेको छ । एक्स्पोमा सेरामिक्स टायल, स्यानिटरी टायल वाथ फिटिङ तथा उच्चतम प्रविधिको प्रदर्शनी रहनुका साथै प्रविधि हस्तान्तरण , विदेशी लगानी संयुक्त उद्यम लगायतका विषयमा छलफल भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको भाइब्रेन्ट गुजरात अभियानअन्तर्गत सेरामिक्स उत्पादनहरूको एक्सो सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्