धितोपत्र बोर्डकै कारण सेयर बजार अन्योल «

धितोपत्र बोर्डकै कारण सेयर बजार अन्योल

नेपाल धितोपत्र बोर्डले हाल प्रचलित अभ्यासभन्दा झन्झटिलो कामलाई सेमीअनलाइनको नाम दिएर प्रयोगमा ल्याएपछि लगानीकर्ता अन्योलमा परेका छन् । बोर्डले ब्रोकरलाई अनलाइन अर्डर दिने विषयलाइ स्पष्ट नपर्दा बजारमा चलखेलसमेत बढेको छ ।
बोर्डले अनलाइन कारोबार प्रणाली र हाल सुरु भएको सिस्टममा एपीआईबाहेक केही फरक नभएको जनाएको छ । तर, यसमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणालीसँग भने नजोडिएको बताइएको छ । बोर्डले अनलाइन कारोबार प्रणालीको प्रारम्भिक रूप भने पनि यो सिस्टममा लगानीकर्ताले दिएको आदेशलाई धितोपत्र दलाल कम्पनीले इन्ट्री गरेपछि मात्र कारोबार प्रणालीमा जान्छ ।
धितोपत्र बोर्डले सेमीअनलाइन कारोबार प्रणाली भनेको हुनाले मात्र आइतबार र सोमबार सेयर बजारमा बिमा तथा माइक्रोफाइनान्सको सेयरमा चलखेल भएको एक धितोपत्र दलाल व्यवसायीले बताए । “हाल फोनको आधारमा सेयर किन्ने बिक्री गर्ने गर्छौ,” ति धितोपत्र व्यावसायीले भने, “यो सिस्टममा हालको भन्दा पनि झन्झटिलो छ, सेमीअनलाइन भनेर लगानीकर्ता भुक्किए ।” बोर्डले सतही काम गर्दा लगानीकर्ता मारमा परेको समेत उनको भनाइ छ ।
आइतबार सुरु भएको सिस्टम सेमीअनलाइन सिस्टम नभइ लगानीकर्ता अनलाइनमार्फत अर्डर दिन र लगानीकर्ताको अर्डरलाई धितोपत्र व्यवसायीले कारोबार प्रणालीमा इन्ट्री गर्ने हो । यो प्रणालीअन्तर्गत लगानीकर्ताले ब्रोकरको व्याकअफिस सिस्टममार्फत युजर आइडी र पासवर्ड लिन्छन् । सोहीअनुरूप खरिद गर्न चाहेको र बिक्री गर्न चाहेको सेयर सबमिट गर्नसक्ने नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मी बताउँछन् । यसले अर्डरको रेकर्ड राख्न सहज हुने उल्लेख गर्दै रेग्मीले भने, “लगानीकर्ताको आदेशलाइ हामीले नै कारोबार प्रणालीमा इन्ट्री गर्ने हो ।”
बोर्डले सुरु गर्ने भनेको यो सिस्टममा नेप्सेको सहभागिता नभएको नेप्सेका एक अधिकारीले बताए । नेप्से एक महिनाभित्र पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण गर्ने तयारीमा रहेको समेत ति अधिकारीले बताए । नेप्सेको कारोबार प्रणाली सुरु भएपछि अहिलेको यो सिस्टमको स्ट्याण्डर्ड मिलेन भने स्वीकार नगर्न पनि सक्ने उनले बताए । ब्रोकररुले सुरु गरेको यो अनलाइन अर्डर सिस्टममा रिस्क फ्याक्टर, कोल्याटरल तथा पेमेन्ट इन्टिग्रेसन सिस्टमलगायत व्यवस्था छैन ।
ब्रोकरले सुरु गरेको सिस्टम सेमीअनलाइन सिस्टम नभएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । “अनलाइनमार्फत अर्डर गर्नमात्र सकिने हो, बजारले कसरी बुझ्यो ?” साउदले भने, “यसवाट लगानीकर्तालाई ह्याबिच्यूअलमात्र गराउन खोजिएको हो, नेप्सेको कारोबार प्रणाली आएपछि यो रहँदैन ।”
तर, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले ब्रोकरले सुरु गरेको सिस्टम र अनलाइन कारोबार प्रणालीमा केही फरक नभएको बताए । कार्कीले भने, “हालको सिस्टममा एप्लिकेसन प्रोग्राम इन्टिग्रेटेड हुँदैन ।” यसलाई अनलाइन कारोबार प्रणालीको प्रारम्भिक रूपभन्दा फरक नपर्ने कार्कीको भनाई छ ।
महालेखाले हकप्रद र बोनस सेयरमा पनि पुँजीगत लाभकर कर लगाउनुपर्ने भने पनि सेयर बजारमा अनलाइन सिस्टम लागू भएको भन्दै लगानीकर्ता उत्साहित भएको देखिन्छ । त्यसका साथै धितोपत्र बोर्ड सम्पत्ती शुद्धीकरणसम्बन्धी निर्देशिकासमेत लागू गरेको अवस्थामा अर्डर अनलाइनमार्फत दिने विषयलाई अनलाइन कारोबार भन्ने सन्देशले सेयर बजारमा चलखेल बढेको छ । आइतबार र सोमबार बजार वढेको छ । बजारमा बिमा तथा माइक्रोफाइनान्स कम्पनीको सेयर उच्च दरमा बढाइएको छ । अनलाइन कारोबार प्रणाली सुरु भएको हल्ला चलाएर बजार वढेको अवस्था बिक्री गर्ने बाहिरिने लगानीकर्ता हावी भएको एक ब्रोकरले बताए ।

प्रतिक्रिया दिनुहोस्