विराटनगरमा अर्को होटल थपियो «

विराटनगरमा अर्को होटल थपियो

५० करोड रुपैयाँको लगानीमा विराटनगरमा विग होटलले सेवा सुरु गरेको छ ।
विराटनगर–जोगबनी सडकअन्तर्गत रोडशेष नजिकै सञ्चालनमा ल्याइएको होटलको पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे । वीरेन्द्र न्यौपाने र रुपमणि राजभण्डारीको लगानी रहेको होटलमा अन्तर्राष्ट्रियस्तरका ५३ वटा कोठा छन् । हरेक कोठा वातानुकूलित हुनका साथै ३ वटा स्वीट रुम छन् । “होटलमा तत्कालका लागि थ्रीस्टारको सुविधा हुनेछ,” व्यवस्थापक केशवप्रसाद पौडेलले भने, “विस्तारै फोरस्टारको बनाउने योजना छ ।”
८ कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा ५ देखि ७ सय अट्ने पार्टी हल पनि छ । “पाटेसन गरेर १ सयदेखि माथि आवश्यकता र ग्राहकको मागअनुसार तयारी गर्न सकिन्छ पाटी हललाई,” पौडेलले भने । होटलमा ६ तला छन् । स्थानीयसहित इण्डियन, चाइनिज, इटालियन खानाका परिकार उपलब्ध हुनेछ ।
पछिल्लो समय विराटनगरमा सेवामूलक क्षेत्रमा आक्रमक लगानी भइरहेको छ । शनिबार मात्रै १ अर्बको लगानीमा भाटभटेनीेको सेवा सुरु भएको छ । विराटनगर शनिमन्दिर नजिक सञ्चालनमा ल्याइएको भाटभटेनीको स्टोरमा ग्राहकको भीड थाम्न कर्मचारीलाई निकै गाह्रो परिरहेको छ ।
होटलमा ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ३० वटा गाडी अट्ने पार्किङ, ३० जना क्षमताको कफीसप, १५० क्षमताको रेष्टुरेन्ट पनि होटलमा उपलब्ध छ । “स्पा, हेल्थ क्लब र क्यासिनो पनि होटलमा सञ्चालनमा ल्याउने योजना छ,” सञ्चालक रुपमणि राजभण्डारीले भने, “त्यसका लागि केही समय लाग्न सक्छ ।” स्वीमिङपुल, रुफटफ सुविधा पनि छ होटलमा ।
विराटनगरमा पर्यटनको सम्भावना देखेरै लगानी गरेको सञ्चालक राजभण्डारीले बताए । आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको हो । अझ विराटनगरबाटै माउन्टेन फ्लाइटसहित सम्पूर्ण आन्तरिक उडान हुने चर्चाले पर्यटन व्यवसायी थप उत्साहित भएका छन् । विराटनगरलाई केन्द्र बनाएर भारतीय पर्यटकहरू पूर्वका मिल्केजलजले, हिले, भेंडेटार, वसन्तपुर, पाथिभरा, हलेसी, बराहक्षेत्रलगायतका प्राकृतिक र धार्मिक पर्यटकीयस्थल घुमेर फर्किने गरेका छन् ।
यसरी आउने पर्यटकहरू बास बस्न विराटनगर नै फर्किन्छन् । “अन्य क्षेत्रमा भन्दा सुविधा सम्पन्न होटलका साथै सुरक्षा पनि भएकाले पर्यटकहरू घुमेर विराटनगर नै आउँछन्,” होटलका सञ्चालक वीरेन्द्र न्यौपानेले भने, “अझ माउन्टेन फ्लाइट र आन्तरिक उडान विराटनगरबाटै हुने हो भने त विराटनगरको मात्रै होइन १ नम्बर प्रदेशकै पर्यटन बजार गुल्जार हुन्छ ।” ग्राहकको सुविधामा सम्झौता नगर्ने व्यवस्थापक पौडेल बताउँछन् । “२०–२५ वर्षदेखि यही क्षेत्रमा काम गरेका कुक र सेफ छन् हामीसित,” उनले थपे, “सेवा सुविधामा कुनै कमी हुने छैन ।”
पछिल्लो समय विराटनगरमा सपिङ मलका साथै पर्यटन, शिक्षा र स्वास्थ्यलगायतका सेवामूलक क्षेत्रमा आक्रमक लगानी भइरहेको छ । उद्योगी मोती दुगडको ४० करोड लगानीको होटल ह्यारिसन प्यालेस डेढ वर्षअघि सञ्चालनमा आएको छ । दुगडकै १ अर्ब २० करोड लगानीको फाइप स्टार होटलको भौतिक संरचनाको निर्माण धरान रोडमा भइरहेको छ । त्यहाँ सिनेमा हलसहितको मल पनि हुनेछ । पुण्य भट्टराई र गिरिराज बस्नेतको २५ करोडको होटल एसियाटिक पनि सञ्चालनमा आएको धेरै भएको छैन । रेवतबहादुर थापाद्वारा सञ्चालित रत्ना होटलको भौतिक संरचना बसपार्कमा निर्माण भइरहेको छ । पुराना होटलहरूले पनि भौतिक संरचना थपिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्