४६ विकास साझेदारको प्रोफाइल तयार

सरकारले नेपालको विकासमा सहयोग गर्ने ४६ विकास साझेदारको प्रोफाइल तयार पारेको छ । अर्थ मन्त्रालयले १९ बहुपक्षीय, १५ द्वीपक्षीय र २ सम्भाव्य विकास साझेदार गरी कुल ४६ साझेदारको प्रोफाइल तयार पारेको हो । नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने विकास साझेदारको जानकारी दिने उद्देश्यले प्रोफाइल तयार पारेको अर्थले जनाएको छ । प्रोफाइलमा आर्थिक वर्ष (सन् २०१०-११) देखि हालसम्म ती साझेदारले गरेका सहयोग बजेटसमेत उल्लेख गरिएको छ । साझेदारहरूको आगमन, नेपालको विकासमा तिनले खेलेको भूमिका, अहिलेसम्मको सम्बन्ध र हालको अवस्थाबारे प्रोफाइलमा समेटिएको छ ।
अर्थ मन्त्रालयका अनुसार एसियाली विकास बैंक (एडीबी), युरोपियन युनियन (ईयू) खाद्य तथा कृषि संगठन (एफएओ), जीएभीआई र ग्लोबल इन्भारमेन्ट फ्यासिलिटी (जीईएफ) का छुट्टाछुट्टै प्रोफाइल तयार गरिएको छ । यी बहुपक्षीय विकास साझेदारको सूचीमा सूचीकृत छन् । यस्तै एचआईभी, क्षयरोग र औलो रोगविरुद्धको अन्तर्राष्ट्रिय कोष, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाड), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड), सार्क विकास कोष (एसडीएफ) र संयुक्त राष्ट्रसंघीय बालबालिका कोष (युनिसेफ)बारे पनि विस्तृत प्रोफाइल तयार भएको छ । यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को), नेपालका लागि संयुक्त राष्ट्रसंघी शान्ति कोष (यूएनपीएफएन) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को पनि प्रोफाइल तयार गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघीय महिला संघ (यूएनवुमन), विश्व बैंक समूह, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालको पक्षमा गरेका सहयोगको पनि उक्त प्रोफाइलमा समावेश गरिएको छ । अर्थले विकास साझेदारहरूको विभिन्न जानकारी सरोकारवाला निकायलाई दिनुपर्ने भएकाले प्रोफाइल तयार गरेको हो । सरकारले यसअघि २०१४ मा पनि विकास साझेदारको प्रोफाइल तयार पारेको थियो । त्यसैलाई परिस्कृत गरेर नयाँ प्रोफाइल तयार पारेको मन्त्रालयले जनाएको छ । विकास साझेदारको पृष्ठभूमि जानकारीसहित आगामी दिनमा ती निकायबाट नेपालले लिने सहयोगका लागि सहयोग, समन्वय र पारदर्शिता कायम गर्न प्रोफाइल महत्वपूर्ण हुने अर्थको दाबी छ । अर्थले तयार पारेको द्वीपक्षीय साझेदारमा अस्ट्रेलिया, चीन, डेनमार्क, फिनल्यान्ड, जर्मनी, भारत, जापान र कोरिया समावेश छन् । कुवेत, नेदरल्यान्ड, नर्वे, साउदी अरब, स्वीट्जरल्यान्ड, बेलायत र अमेरिकाको विकास सहयोगको पनि प्रोफाइल उक्त पुस्तकमा समेटिएको छ । यो पटक सम्भाव्य साझेदारमा एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र हरित मौसम कोष (जीसीएफ) को जानकारी समेटिएको छ । नेपालको विकासमा विगत लामो समयदेखि सहयोग गर्दै आएका द्वीपक्षीय र बहुपक्षीय तथा सम्भाव्य साझेदारसमेतको छुट्टछुट्टै प्रोफाइल तयार गरेको अर्थले जनाएको छ ।