आज आमाको मुख हेर्ने दिन «

आज आमाको मुख हेर्ने दिन

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाइँदै आइएको छ । 
मातातिर्थ औँसीका अवसरमा आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहिआएको छ । यस दिन आमा नभएकाहरूले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।
पुरोहित कृष्ण रिमाल भन्छन्, “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन्छ भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा महत्वपूर्ण छ ।”
आजको दिनमा दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा काठमाडौँको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।
मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चउर थियो । एकदिन एउटा गोठालाले सो चउरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्का टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए । कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिएन । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । यो कुरा चाल पाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएका चिजवस्तु खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरे ।
आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ । आमाका लागि मिष्ठान्न किन्नेका कारण बिहानैदेखि मिठाई पसलमा उपभोक्ताको भीड लाग्ने गर्छ । घरबाट टाढा रहेकाहरू आमाको मुख हेर्नका लागि घर पुग्ने तथा जान नपाएकाहरूले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । आमा नभएकाहरूले भने स्नान गरी आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान र कष्टकर काम सम्झने गर्दछन् ।

 रिना खत्री

प्रतिक्रिया दिनुहोस्