Logo

हुनै छोड्यो संवाद, अन्योलको स्थिति

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियामा अन्योल देखिएको छ । वैशाख ९ गते एकता घोषणा गर्ने भनिए पनि केही सातायता दुई दलबीच संवादसमेत हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै एकताका लागि अन्तिम टुंगोमा पुग्ने बताइएको थियो । तर, दुई दलबीच एकताका विषयमा छलफल ठप्प छ । योबीचमा एकता संयोजन समितिको बैठक ठाकिए पनि स्थगित हुँदै आएको छ ।
चैत २० गते राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलले आ–आफ्नो प्रतिवेदन बुझाएपछि नै एकता प्रक्रियाका विषयमा गम्भिर छलफल हुन सकेको छैन । “कार्यदलले बुझाएको प्रतिवेदनमा छलफलसमेत हुन सकेको छैन । हामीले संयोजन समितिमा प्रतिवेदन बुझाएका हौं । हामीबीच त्यो बेला एकताका विषयमा कुनै संशय थिएन,” एमाले उपाध्यक्ष भिम रावलले भने, “अहिले के कुरामा संशय भयो र संवाद किन हुन सकेन मलाई थाहा छैन ।”
आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता गर्ने कार्यक्रम थियो । तर दाहाल आराम गर्ने भन्दै सिन्धुपाल्चोकको सुकुटे पुगेको एक माओवादी नेताले जानकारी दिए । प्रधानमन्त्री ओली राराबाट फर्किएपछि दुई नेताबीचको बैठकले एकताका विषयमा मिल्न बाँकी रहेका विषय टुंगो लगाएर वैशाख ९ गते एकता घोषणा हुने बताइएको थियो । ओलीसँग भेट नै नगरी दाहाल आराम गर्न भन्दै सुकुटे पुगेपछि एकता प्रक्रियामा आशंका थपिएको बताइएको छ ।
पछिल्लो समय दाहाल दोहोरो दबाबमा रहेको एक माओवादी नेता बताउँछन् । “उहाँमाथि दबाब छ । पार्टी एकता नगर्ने छुट पनि छैन र पार्टीभित्र एकताको अनुभूति पनि गराउनुपर्ने छ,” ती नेताले सुनाए । दाहालले दुई पार्टीबीच समानताका आधारमा एकता हुनुपर्ने बताउँदै आएका छन्, जुन एमाले मान्न तयार देखिँदैन । जसका कारण उनीमाथि दबाब थपिएको ती नेताको विश्लेषण छ । खास गरी समान हैसियत र पार्टीको विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्न दाहालमाथि पार्टीभित्रको दबाब छ ।
दुई पार्टीबीच केन्द्रीय तहदेखि स्थानीय तहसम्म सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्दबारे सहमति जुट्न सकेको छैन । माओवादीले समानताका आधारमा (५०–५०) प्रतिशत हैसियतमा मात्र एकता गर्न सकिने प्रस्ताव अघि सारेको छ । तर, एमाले माओवादीको प्रस्ताव मान्न तयार देखिएको छैन । एमाले चुनावी आँकडाका आधारमा अनुपात मिलाउने पक्षमा छ ।
एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गरी प्रस्ताव तयार पारेको छ । प्रस्ताव अनुसार नेता व्यवस्थापन गर्न चुनौति रहेको बताइन्छ ।
त्यसैगरी नयाँ पार्टीको चुनाव चिन्हमा पनि सहमति जुट्न सकेको छैन । एमालेले सूर्यलाई यथावत् राख्न भनेको छ भने माओवादीले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने बताउँदै आएको छ । माओवादी केन्द्रले १० वर्षे माओवादी ‘जनयुद्ध’ लाई पार्टीको कार्यदिशामा उपलब्धि मान्नुपर्ने बताउँदै आएको छ । जुन एमाले मान्न तयार देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्