गौरवका योजना कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग «

गौरवका योजना कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग

दमौली-तनहुँका सांसद तथा एमालेका नेताहरूले बिहीबार प्रदेश नम्बर ४ का मुख्यमन्त्री र दुईजना मन्त्रीलाई भेटी जिल्लाका विभिन्न गौरवका योजनालाई प्रदेश सरकारको नीतिमा समेटेर कार्यान्वयन गर्न माग गरेका छन् ।
एमालेका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहित प्रतिनिधि सभाका सांसदद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ किसानले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्थ तथा योजनामन्त्री किरण गुरुङ र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानलाई भेटी जिल्लाका विभिन्न योजनालाई प्रदेश सरकारको प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।
भेटमा सांसद तथा एमाले नेताहरूले भानु नगरपालिका, बन्दिपुर र आँबुखैरेनी गाउँपालिकाका अधिकांश भाग समेटेर स्मार्ट सिटी बनाउन प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई सुझाव दिएका छन् । हाल तयार हुँदै गरेको स्मार्ट सिटीको गुरुयोजनामा गोरखा जिल्लाको बढी र तनहँु जिल्लाको कम भू–भाग समेटिएको छ ।
सांसद श्रेष्ठले केही दिनअघि भानु नगरपालिकाको नगरपरिषद् उद्घाटन गर्ने क्रममा स्मार्ट सिटीमा भानु नगरपालिकाको सम्पूर्ण भूगोल समेट्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसैगरी कालिगण्डकी नदी किनारमा तनहँुको भू–भागमा निर्माण गरिँदै आएको शालिग्राम करिडोरको स्तरोन्नति गरी कालोपत्रे गर्न पनि माग गरिएको छ ।
शालिग्राम करिडोर जिल्लाको गौरवको आयोजना भएको हुँदा त्यसको स्तरोन्नति सबैभन्दा आवश्यक भएकोमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको थियो । त्यसैगरी पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गको रूपमा तयार हुँदै आएको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने बुद्धसिंह मार्गलाई तत्काल स्तरोन्नति गर्न र घुमाउनेमा मोटरेबल पुल निर्माण कार्यालाई तीव्रता दिन पनि तनहँुका सांसदहरूले प्रदेश सरकारको ध्यानाकार्षण गराएका थिए ।
यसैगरी पोखरालाई–तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको पोखरा–भिमाद–चोरमारा सडक निर्माण कार्यलाई तीव्रता दिई यथाशीघ्र सम्पन्न गर्न पनि सो अवसरमा माग गरिएको थियो । यसैगरी सांसदद्वयले सदरमुकाम दमौलीमा रहेको दमौली अस्पताल र भिमादमा रहेको भिमाद अस्पतालको स्तरवृद्धि गरी एक सय शै्याको बनाउन पनि प्रदेश सरकारसँग माग गरेका छन् । यीबाहेक अन्य महत्वपूर्ण योजना पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटी कार्यान्वयन गर्न सांसदद्वयको माग थियो ।
सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्भव भएसम्म सबै योजनालाई समेटेर नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता जनाएका थिए । त्यस्तै एमाले नेताहरूको टोलीसँग भेट्दै अर्थ तथा योजनामन्त्री किरण गुरुङ र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पनि तनहुँको योजना बढीभन्दा बढि प्रदेश सरकारको प्राथमिकतामा पर्ने प्रतिबद्धता जनाएका थिए ।

कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्