काठमाडौं महानगरपालिका क्षेत्रमा पार्किङ गर्दा शुल्क लाग्ने «

काठमाडौं महानगरपालिका क्षेत्रमा पार्किङ गर्दा शुल्क लाग्ने

काठमाडौंः काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारीसाधन पार्किङ गर्दा शुल्क लगाउने व्यवस्था गरेको छ । महानगरपालिकाले पारित गरेको आर्थिक ऐन ०७४ ले काठमाडौं महानगरभित्र शुल्क तिरेर मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको छ ।

उक्त ऐनअनुसार महानगरले सःशुल्क पार्किङ गरेपछि एउटा सवारीले एक घण्टासम्म पार्किङ गर्दा प्रतिघण्टाको १५ देखि २ सय रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । महानगरले बाटोमा जथाभावि पार्किङ गर्दा सवारी व्यवस्थापनमा असहज भएको भन्दै नयाँ व्यवस्था लागू गर्न लागेको हो ।  

काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएबापत सवारीसाधन पार्किङ शुल्क लिइने व्यवस्था ऐनले गरेको छ । साथै पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले काठमाडौं महानगरपालिकाबाट पूर्वअनुमति लिएको हुनुपर्ने जनाएको छ ।

अब क्षेत्रगत आधारमा सडकमा स्पष्ट रेखांकन गरेर प्रवेश र बर्हिगमन फरक–फरक हुने गरी कुनै पनि सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी पार्किङ गर्ने काठमाडौं महानगर ऐनमा व्यवस्था गरिएको छ ।

यसका लागि सकेसम्म आधुनिक प्रविधि प्रयोगमा ल्याउने गरी आफैं वा निजी क्षेत्रबाट सवारी पार्किङ व्यवस्थापन गर्न सक्ने ऐनमा उल्लेख छ ।पार्किङका लागि महानगरलाई आफ्नो सीमालाई ३ क्षेत्रमा विभाजन गरेर छ । त्यसमा क्षेत्रअनुसार भिन्दाभिन्दै शुल्क निर्धारण गरिएको छ । 

एक नम्बर क्षेत्रमा टेकुपुल उत्तरतर्फ सोह्रखुट्टे, नयाँ बजार, गोंगबु, सामाखुसी, धापासी, महाराजगन्ज चोक हुँदै चप्पल कारखानासम्मको सार्वजनिक बाटो राखिएको छ । उक्त क्षेत्रमाा एक घण्टा दुईपांग्रे सवारी पार्किङ गर्दा प्रतिघण्टा १५ रुपैयाँ, चारपांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ, ६ पांग्रे वा सोभन्दा ठूलाका लागि प्रतिघण्टा १२० रुपैयाँ तय गरिएको छ ।

त्यस्तै दुई नम्बर क्षेत्रमा न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतका भित्रि सहरी क्षेत्र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लौनचौर, विष्णुमती लिंक रोड, टेकु हुँदै त्रिपुरेश्वरसम्म समेटिएको छ । यो क्षेत्रमा पार्किङ गर्दा दुईपांग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ, चारपांग्रेका लागि प्रतिघण्टा ५० रुपैयाँ र ६ पांग्रे वा सोभन्दा ठूलाका लागि प्रतिघण्टा २ सय रुपैयाँ तोकिएको छ ।

क्षेत्र नम्बर तीनमा बिजुलीबजार पुल पूर्वमनोहरा पुल, पेप्सिकोलासम्म, पुतली सडक, बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानोबानेश्वर, गौशाला, चाबहिल, बौद्ध, कोटेश्वर, सुकेधारा, ज्ञानेश्वरलगायत, सो आसपासका क्षेत्र, टेकु पुल पश्चिम बल्खु, कलंकी, कालिमाटी, कुलेश्वर, कुमारी क्लब, सीतापाइला, माछा पोखरी बालाजुसम्मका स्थानको सार्वजनिक बाटोलाई राखिएका छन् ।

यी क्षेत्रमा दुईपांग्रेका लागि प्रतिघण्टा १५ रुपैयाँ, चारपांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ र ६ पांग्रे वा सोभन्दा ठूलाका लागि १ सय रुपैयाँ शुल्क तय गरिएको छ ।
सार्वजनिक जग्गामा सवारी पार्किङ व्यवसाय सञ्चालन गरेको भए लाग्ने व्यवसाय करमा ५० प्रतिशत छुट हुने व्यवस्था काठमाडौं महानगर ऐनमा छ । लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने व्यवसायीलाई यो आर्थिक वर्षमा व्यवसाय कर शतप्रतिशत छुट हुनेछ ।

सवारीसाधन पार्किङ गर्ने क्षेत्र र निषेधित क्षेत्र नगर कार्यपालिकाले तोक्ने व्यवस्था ऐनले गरेबमोजिम हुनेछ । नयाँ व्यवस्थासँगै काठमाडौंको सवारी व्यवस्थापन सहज भई सवारी जामसमेत कम हुने अपेक्षा महानगरपालिकाको छ ।

प्रतिक्रिया दिनुहोस्