कालिकोट :सम्भावना र विकास «

कालिकोट :सम्भावना र विकास

कालिकोट जिल्ला ९ वटा स्थानीय तह छन् । यो जिल्लामा ६ गाउँपालिका र ३ वटा नगरपालिका छन् । यस जिल्लाले १,७४१ वर्ग किमि क्षेत्रफल ओगटेको छ । यस जिल्लाको कुल जनसंख्या १,३२,५९३ रहेको छ ।
वि.सं. २०१८ साल अघि अहिलेको कालिकोट जिल्ला राणाकालिन वैधानिक कानुन २००४ अनुसार ३२ जिल्ला अन्तर्गतको जुम्ला जिल्लामा पथ्र्याे । वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएपछि कर्णाली अञ्चलका ५ जिल्ला मध्ये तिव्रीकोटको रूपमा यस जिल्लाको नाम रहन गयो । यस जिल्लालाई कालिकोट भनी २०३२ नामाकरण गरिएको हो ।
अथाहा तर प्रयोगविहीन जल सम्पदा
कालिकोट जिल्लामा अथाहा जल सम्पदाहरू छन् । चीनको स्वशासित क्षेत्र तिब्बत क्षेत्रमा पर्ने मानसरोवर बाट बगेर आउने नेपालकै सबैभन्दा लामो नदी कर्णाली यस जिल्लाको बीच हुँदै बगेको छ । यस बाहेक तिला नदी पनि प्रमुख नदीको रुपमा मानिन्छ । साना–साना खोलाहरू पनि प्रशस्त छन् । जसलाई प्रयोगमा ल्याउन सके जिल्लाले १९४८० किलोवाटसम्म विद्युत् निकाल्न सकिने नेपाल विद्युत् प्राधिकरणले निकालेको सर्वेक्षणबाट देखिएको छ ।
कालिकोट जिल्ला जलसम्पदाको अथाहा सम्भवना भएपनि यसको प्रयोगमा आउन नसकेको केही आयोजना काम अगाडि बढेको कर्णाली विकास आयोगका सदस्य कृष्णप्रसाद आचार्यले बताए । “कर्णाली नदी र तिला नदीवाट ठूला जलविद्युत् आयोजना सञ्चालन गर्न सक्ने प्रवल संभावना देखिन्छ ।” उनले भने, “तर, पछिल्लो चरणमा केही आयोजनाहरूले बिद्युत निकाल्न काम शुरु गरेका छन् ।”
जलविद्युत्को क्षेत्रमा अहिले अध्यायन गरिएका केहीको काम अगाडि बढाइका जलविद्युत्का योजनाहरूलाई हेर्ने हो भने जिल्लामा ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२, निर्माण प्रक्रियामा अगाडि बढेका छन् भने, १६ मेगावाटको पादमघाट जलविद्युत्, ४२६ मेगावाटको फुकोट कर्णालीलाई निर्माण गर्ने अनुमति ऊर्जा मन्त्रालयले दिइसकेको छ । कालिकोटमा यी सबै आयोजना बनेका १ हजार ३१२ मेगावाट विद्युत् उत्पादन क्षमता हुने आचार्यले बताए । “यी आयोजनाले विद्युत् उत्पादनले कालिकोटको मात्र समृद्धिको आधार तयार नपारेर देशकै समृद्धिका आधारका रुपमा विकास सहयोग दिने देखिन्छ ।” उनले भने, “जिल्लामा थुप्रै उन्य जलविद्युत् आयोजना बन्ने ठाउँहरू रहेको छन् तिनीहरूको उपयोगिता हुन सकेको छैन् ।”
कति उत्पादन हुन्छ ?
जिल्लाको आधाभन्दा बढी भूभाग वन क्षेत्रले ढोकेको छ । यस जिल्लाको कुल क्षेत्रफलमा केबल १८०८७.८० हेक्टर जमिनमा आवादी तथा खेतीयोग्य छ । यस जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा पुग्न सक्ने संभावना न्यून देखिएको छ केवल १५४१.३५ हेक्टर जमीनमा मात्र बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । अझैँ १२४३४.३८ हेक्टर जमीनमा सिँचाइ नपुगेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ ।
यस जिल्लामा मकै १७३० हेक्टरमा वार्षिक २५९० मेट्रिक टन, धान २०८० हेक्टरमा २२२५ मेट्रिक टन उत्पादन हुने गरेको र जौ, कोदो, दलहन, अदुवा, खुर्सानी, बेसार, आलु, मौसमी र वेमौसमी तरकारीलगायत अन्य फलफूलको उत्पादन राम्रो हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत भक्तिराम शर्माले बताए । “फलफूल बालीका रूपमा पनि निकै उपयुक्त खाले हावापानी रहेको पाइन्छ ।” उनले भने, “खासगरी स्याउ, सुन्तला, कागती र ओखर यस जिल्लाका प्रमुख फलफूल मानिन्छन् ।”
सडकको अवस्था
कालिकोट जिल्ला हुम्ला, जुम्ला, मुगु जिल्लाको प्रवेशद्वारका रूपमा छ । कालिकोट जिल्लाको आन्तरिक सडक करिब २ सय किलोमिटरखण्ड निर्माणधीन अवस्थामा रहेको छ भने राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका कर्णाली करिडोर पनि निर्माधिन अवस्थामा छ ।
कर्णाली करिडोर अहिले नेपाली सेनाले निर्माण कार्यको जिम्मा पाएको १४५ किलोमिटरमध्ये कालिकोटको ४० किलोमिटर सडकखण्ड निर्माणको अन्तिम अवस्थामा रहेको यस सडकखण्डको ३२ किलोमिटरमा अहिले गाडी गुडिरहेका छन् ।
कालिकोटको आन्तरिक सडकमा रास्कोट नगरपालिकाको १८ किलोमिटरमा गाडी गुड्ने गरेका छन् भने तिलागुफा नगरपालिकाको चिल्खाया सडकखण्डको २२ किलोमिटरमा गाडी गुड्ने गरेको भए पनि अन्य सडकखण्डमा अहिले निर्माणधीन अवस्थामा छन् ।
पर्यटकीय तथा धार्मिक स्थलहरू
यस जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थल तथा मन्दिरमा बडीमालिका मन्दिर, चुली मालिका मन्दिर, पुग मालिका मन्दिर, महावु शिव मन्दिर, पञ्चदेवल (पञ्च पाण्डवद्धारा निर्मित), चुलीमालिका मन्दिर (मान्म, पाँखा र बदालकोट बीच) तिला गुफा, (रांचुली) ढुँगे बगैचा, महाबु मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, देउली, रामारोशन, पचाल झरना, फुगाड झरना, पचछहरी झरना आदि प्रमुख रहेको पाइन्छ । कालिकोट र बाजुरा जिल्लाको सिमानामा अवस्थित बडीमालिका मन्दिर पर्यटकीय एवं धार्मिक दुवै दृष्टिले महत्वपूर्ण छ । जुन हिन्दुहरूका लागि झनै महत्वपूर्ण मानिन्छ ।
जिल्लामा रहेका यी पर्यटकिय तथा धार्मिकस्थलहरूको ब्यवस्थित तरिकाले संरक्षण र संबद्र्धन गरमा वाह्य र आन्तरिक पर्यटनलाई आकर्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सके जिल्लाको आयआर्जनमा टेवा पुगि गरिवी न्यूनीकरणमा टेवा पुग्ने जिल्ला संमन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए । “धार्मिक तथा पर्यटकिय स्थलहरूको प्रचार प्रसार हुन सकेको छैन् ।” उनले भने, “व्यवस्थित तरिकाले यिनीको प्रचार प्रसार हुन सक्यो भने आय आर्जनमा यसले ठुलो टेवा दिने देखिन्छ ।”
कस्तो छ संस्कृति
कालिकोट जिल्लामा थरी थरीका जात जातीका मान्छेहरूको बसोवास रहेका कारणले यहाँको संस्कृतिमा धेरै भिन्नता पाइन्छ । अलग–अलग जात–जातीका मान्छेहरू सबैले आ–आफ्नो रितीरिवाज अनुसार परम्पराले मनाउँदै आएका चाड पर्वहरू मनाउने गर्दछन् । यस जिल्लामा मनाइने प्रमुख चाडपर्वहरूमा देउडा नाच, मारुनी नाच बैसेरी नाच, हुड्केउली नाच, फुर्का नाच, आदीको सुन्दर झलक देख्न पाइन्छ ।
पञ्चेबाजा, हुडके नाच, देउडा, धमारी, रत्यौली, चैत, भारतजस्ता सम्पदाहरू यस जिल्लामा बढी प्रचलनमा रहेको पाइन्छ । त्यसैगरी रहरे बैंसारी, गुरु बैंसारी, सरौं, मारुनी, गर्राजस्ता सम्पदाहरू कालिकोट जिल्लाको विभिन्न क्षेत्रमा प्रचलित छ ।
कालिकोट जिल्ला सास्कृतिक हिसाबले पनि धनी भएको यसको संरक्षण प्रबद्र्धन हुन नसकेका कारणले अहिले लोप हुने अवस्थामा पुगेको पुराना चर्चित देउडा खेलाडी अनिपाल शाहीले बताए । “हामी कहाँ बिभिन्न प्रकारका सस्कृतीहरू भाषा र धर्म छन् ।” उनले भने, “अहिले युवाहरूमा बाहिरी बढ्दो प्रभावका कारणले लोप हुन अवस्थामा पुगेको छ ।”
रमेश रावल

प्रतिक्रिया दिनुहोस्