बाँके : प्रदेशकै आर्थिक राजधानी «

बाँके : प्रदेशकै आर्थिक राजधानी

बाँकेलाई प्रदेशको आर्थिक राजधानी बनाएरै छाड्ने परिकल्पनामा डुबेका छन् नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य । पश्चिम नेपालकै सबैभन्दा ठूलो, आधुनिक र व्यापारिक केन्द्र बाँकेलाई प्रदेश नम्बर ५ को आर्थिक राजधानी घोषणा गराउने अभियानमा उद्योगी व्यवसायी रहेको वैश्य बताउँछन् ।
“पहिलेदेखि नै बाँके जिल्ला यस क्षेत्रको आर्थिक केन्द्र रहँदै आएकोले अब पनि यसलाई औपचारिक रूपमै प्रदेशकै आर्थिक राजधानी घोषणा गराउन हामीहरू क्रियाशिल भएका छौं,” उनले भने, “सदियौंअघिदेखि बाँके पश्चिम नेपालकै प्रमुख आर्थिक केन्द्र विन्दु, आर्थिक राजधानी र औद्योगिक हब रहँदै आएको हुँदा अब यसलाई आर्थिक राजधानी बनाउनु पर्छ ।” यस जिल्लाले गाँसिएका तीनवटै प्रदेशका आवश्यकताहरू पूरा गर्ने खालका उद्योग तथा कलकारखानाको स्थापनाबाट मात्रै बाँकेलाई आर्थिक राजधानी बनाउन सकिने भएकाले त्यसतर्फ विशेष ध्यान दिइनेछ । प्रदेशमा सबैभन्दा बढी आर्थिक समृद्धि र संभावनाले भरिपूर्ण जिल्ला भएकाले पनि आर्थिक राजधानीको सम्भावनाको सपना उद्योगी व्यवसायीले देखेका हुन् । अहिले बन्दै गएका पूर्वाधारहरूले आर्थिक रूपमा समृद्ध बनाउन धेरै मिहिनेत र लगानीसमेत गर्न नपर्ने हुँदा सरकारले निजी क्षेत्रसंग राम्रो समन्वय गरेर संचालनमा रहेका उद्योग व्यवसायलाई फस्टाउने र थप नयाँ लगानी भित्र्याउने कार्य गर्न सकेमा आर्थिक केन्द्र बन्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउँछन् ।
सम्भावना
ठूला ठूला उत्पादनमूलक उद्योग, कृषि उद्योग, जडिबुटी उद्योग, पर्यटन उद्योग, होटल संचालन लगायत अटो व्यवसायदेखि शैक्षिक र स्वास्थ्यका ठूला संस्थाहरू संचालन गर्ने अपार संभावना छ । पछिल्लो समयमा आएर बाँकेमा ठूला ठूला उद्योग कलकारखाना, व्यापारिक मार्ट, जडीबुटी प्रशोधन उद्योग, कोल्ड स्टोर, तारे होटलहरू र बैंक तथा वित्तीय संस्थाहरू खुल्ने क्रम बढेकोले आर्थिक समृद्धिको ढोका क्रमशः खुलिरहेको छ । उद्योग व्यवसाय, बैंक र वित्तीय संस्था संचालनका लागि वातावरण अनुकूल रहेकाले पछिल्लो समयमा देशभरिका लगानीकर्ताको ध्यान बाँकेमा आकर्षित भएको उनले जनाए ।
नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाई ठूला उद्योग र कलकारखानाको स्थापना गरेर, जडिबुटीको हब बनाउँदै देशीविदेशी धार्मिक र अन्य पर्यटक भित्र्याउनमा लाग्ने हो भने यो जिल्ला सबैभन्दा बढी समृद्ध जिल्ला बन्ने कुरा निश्चित रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्य बताउँछन् । उनले जिल्लामा निर्माण भइरहेको सिक्टा सिंचाइ आयोजना र भेरी–बबई डाइभर्सनबाट हुने सिंचाइबाट कृषिमा ठुलै क्रान्ति गरेर उत्पादनलाई अत्यधिक बढाउन सकिने हुँदा कृषि उत्पादनबाटै पनि जिल्ला समृद्ध बन्ने अपार संभावना रहेको बताए ।
प्रदेश राजधानी बन्न नसके पनि होटल व्यवसाय, यातायात व्यवसाय, अटो व्यवसाय तथा जडिबुटीलगायत अन्य ठूला उद्योगमा लगानी गर्नेहरू बढ्दै गएकोमा यो जिल्लाले आर्थिक समृद्धिको नेतृत्व गर्ने प्रष्ट संकेत गरेको व्यवसायी राजेश जैन बताउँछन् । उनले बाँकेमा आर्थिक विकास र उन्नतिका अथाह संभावनाहरू रहेको जनाए । सरकार र निजी क्षेत्र दुबैले यी संभावनाहरूलाई पहिचान गरेर बढीभन्दा बढी सदुपयोग गर्न सक्नु पर्ने उनको भनाइ छ ।
यसैगरी नेपालगन्जलाई जडीबुटीको प्रमुख अन्तर्राष्टिय बजारका रूपमा विकसित गर्ने योजना प्रदेश सरकारको रहेको बुझिन्छ । पश्चिमका पहाडी जिल्लाहरूमा उत्पादन र संकलन हुने जडीबुटी यसै नाका भएर भारत लगायत तेस्रो देशमा निर्यात हुने हुँदा यो जिल्ला जडिबुटीको नेपालकै ठूलो बजार पनि हो । नेपाल जडीबुटी व्यवसायी संघका अनुसार यो नाका भएर वर्षेनि ५० लाख किलोसम्म जडीबुटी भारत जाने गर्छ । नेपालगन्ज नाका भएर गत आवमा ४६ लाख किलो जडीबुटी भारत लगायत तेस्रो देशमा निर्यात भएको संघले जनाएको छ ।
भारतबाट वर्षेनि १० देखि १५ लाखको हाराहारीमा धार्मिक पर्यटक नेपालगन्ज आएर हुम्लाको बाटो हुँदै कैलाश मानसरोवर जान थालेपछि यो नगरले होटल व्यवसायसहित अन्य व्यवसाय पनि फड्को मार्दै गएको छ । बाँकेलाई पश्चिम नेपालको मुख्य पर्यटकीय द्वार र व्यावसायिक केन्द्र बनाउन नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गरेर यहाँबाट भारतका ठूला सहरहरूमा समेत उडान सुरु गर्नु पर्ने व्यवसायीको माग छ ।
कर्णाली प्रदेश र ५ नम्बर प्रदेशमा रहेका स्वर्गद्वारी, राराताल, जुम्ला, कालिकोट, रुकुम र रोल्पामा रहेका विभिन्न पर्यटकीय क्षेत्र लगायत बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा समेत वर्षेनि हजारौं स्वदेशी र विदेशी पर्यटक भित्र्याउन सकिने संभावना रहेको छ ।
यस जिल्लामा रहेका सबै प्रकारका भौतिक र विकासका संरचना तथा भौगोलिक अनुकूलतालाई अधिकतम उपयोग गरेर आर्थिक राजधानी बनाउनु पर्ने अभियान निजी क्षेत्रले सुरु गरेको हो ।
वागेश्वरी सिमेन्टवागेश्वरी सिमेन्ट
यति सिमेन्ट 
प्लाइउड उद्योग
खाद्य उद्योग
कत्था उद्योग
रोजिन एन्ड टरपेनटाइन उद्योग
औषधि उद्योग
जडिबुटी प्रशोधन उद्योग
आधादर्जन तारे होटल (निर्माणाधीन)
दुई दर्जन बढी होटल तीन तारेमा स्तरोन्नति 
तीन दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू
तीन दर्जन जति अटो डिलर
कोहलपुरको औद्योगिक क्षेत्रको डिपिआर तयार
गनापुर क्षेत्रमा औद्योगिक करिडोरको मागड्ड सुख्खा बन्दरगाह निर्माण तीव्र
नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउने माग
दर्जनौ ठूला उद्योग संचालनमा रहेका
होटल व्यवसाय र बैंक तथा वित्तीय संस्थाहरूको लगानी फस्टाउँदो
भारतीय र तेस्रो देशका पर्यटक थलो
पछिल्लो समय ठूला मार्ट, उद्योग, पसल कलकारखाना, शैक्षिक संस्था र होटल स्थापना

अन्तरप्रदेश व्यापारिक हब
देश संघीय संरचनामा जानुभन्दा अघि यस क्षेत्रकै प्रमुख व्यापारिक र आर्थिक केन्द्रको रूपमा परिचित यो जिल्ला संघीय संरचनामा गएपछि पनि प्रदेश नम्बर ५, कर्णाली प्रदेश र ७ नम्बर को प्रमुख आर्थिक केन्द्र कायमै छ । तीनवटै प्रदेशलाई देशका अन्य क्षेत्रसंग जोड्ने मुख्य नाका समेत बाँके जिल्ला हो । सोही कारणले विगत झै अहिले पनि कर्णाली प्रदेश, प्रदेश नम्बर ५ र ७ को आर्थिक गतिविधि र विकासको नेतृत्व बाँकेले नै गरिरहेको छ । त्यसैले बाँकेलाई प्रदेश नम्बर ५ को मात्र नभई कर्णाली प्रदेश र ७ नम्बर प्रदेशको पनि आर्थिक राजधानी तथा आर्थिक हब बनाउने अभियान थालिएको वैश्यको कथन छ । विगतमा कर्णाली, भेरी, राप्ती र सुदूर पश्चिमकै प्रमुख शैक्षिक, आर्थिक, राजनीतिक तथा सामाजिक केन्द्र रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्