सामूहिक लगानी कोषको विकल्प : एक्सचेन्ज ट्रेडेड फन्ड

नेपालको धितोपत्रसम्बन्धी ऐन, २०६३ मा सामूहिक लगानी कोष सञ्चालनका लागि योजना व्यवस्थापक आवश्यक पर्ने र उक्त योजना व्यवस्थापकले सामूहिक लगानी कोष सञ्चालनका लागि धितोपत्र बोेर्डसँग स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । योजना व्यवस्थापकको योग्यता, कोष सुपरिवेक्षकको योग्यताको सम्बन्धमा सामूहिक लगानी कोष नियमावली, २०६७ मा व्यवस्था गरेको पाइन्छ । विकसित पुँजीबजारमा खुलामुखी (ओपन इन्डेड), बन्दमुखी (क्लोज इन्डेड) लगानी कोष, एकांक कोषलगायतका सबै खाले सामूहिक लगानी कोष सञ्चालनमा रहेको देखिए पनि नेपालमा बन्दमुखी योजनाहरू मात्र प्रचलनमा रहेको देखिन्छ । नामको हिसाबले ब्यालेन्स फन्ड, हाइब्रिड फन्डजस्ता नाममा सामूहिक लगानी कोषका योजनाहरू सञ्चालन भए पनि ती सबैको लगानी प्रकृति हेर्दा तात्विक भिन्नता नरहेको देखिन्छ । सरकारी तथा संस्थागत ऋणपत्रहरूको विकास हुन नसक्दा बन्ड फन्डहरू सञ्चालन हुन सकेका छैनन् ।
एक्सचेन्ज ट्रेडेड फन्डको अवधारणा
विश्वमा सन् १९९० को दशकबाट प्रचलनमा आएको एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) को प्रयोग पछिल्लो समय धितोपत्र बजारमा व्यापक रूपमा हुँदै गएको पाइन्छ । एक्सचेन्ज ट्रेडेड फन्ड अर्थात् ईटीएफ धितोपत्रको दोस्रो बजारमा कारोबार हुने सेयरजस्तै प्रकृतिको सामान्य लगानीको उपकरण हो, जसका केही विशेषता सामूहिक लगानी कोषसँग मिल्दोजुल्दा देखिन्छन् । सामान्यतया कुनै इन्डेक्समा आधारित रहेर विभिन्न लगानी योग्य धितोपत्रहरूको सम्मिश्रणबाट तयार पारिने लगानीको उपकरण ईटीएफ हो । ईटीएफ आफैंले कुनै एक कम्पनीको धितोपत्र मात्रको प्रतिनिधित्व गर्दैन, यसले आफ्नो पोर्टफोलियोमा समाविष्ट सम्पूर्ण धितोपत्रको औसत मूल्य जनाउँछ, जुन सामूहिक लगानी कोषमा भनिने खुद सम्पत्ति मूल्यजस्तै हो । इन्डेक्समा आधारित रहेर तयार गरिएको फन्ड हुनाले यसलाई इन्डेक्स फन्ड भनिन्छ । इन्डेक्स फन्ड, प्यासिभ फन्ड (निष्क्रिय फन्ड) प्रकृतिको हुने गर्छ, जसका कारण यसको व्यवस्थापन खर्च उल्लेखनीय रूपमा कम हुन जान्छ । ईटीएफलाई धितोपत्रको दास्रो बजारमा सूचीकृत गरी निरन्तर कारोबारका लागि उपलब्ध गराइन्छ । यसर्थ ईटीएफलाई सामूहिक लगानी कोषको परिष्कृत अवधारणका रूपमा व्यख्या गर्ने गरेको पनि पाइन्छ ।
ईटीएफका फाइदाहरू
एक्सचेन्ज ट्रेडेड फन्डको प्रमुख कार्य भनेको लगानी विविधीकरण गर्नु हो । उपलब्ध हुने ती सबै धितोपत्रमा ईटीएफले लगानी गर्ने हुँदा उक्त ईटीएफमा लगानी गर्ने लगानीकर्ताको लगानी विविधीकरण हुन जान्छ, जसले गर्दा लगानीमा निहित जोखिम कम गर्न मद्दत गर्छ । उदाहरणका लागि नेप्सेको वाणिज्य बैंक सूचकमा आधारित रहेर ‘कमर्सियल बैंक ईटीएफ’ सञ्चालन गर्न सकिन्छ, जसले नेप्सेमा सूचीकृत वाणिज्य बैंकको इक्विटी सेयरमा मात्रै लगानी गर्छ । यसमा कुनै एक लगानीकर्ताले उक्त कमर्सियल बैंक ईटीएफको एक कित्ता धितोपत्र खरिद गर्दा नेप्सेमा सूचीकृत सम्पूर्ण वाणिज्य बैंकको इक्विटी सेयरमा लगानी गरेसरहको लगानी विविधीकरण गर्न सम्भव हुन्छ । यसले गर्दा थारै रकम मात्रै लगानी गर्ने साना लगानीकर्ताले पनि लगानी विविधीकरणको सिद्धान्त पूर्ण रूपमा पालना गर्न सक्छन् । ईटीएफका लगानीकर्तालाई आपूmले कुन सेक्टर (क्षेत्र) मा लगानी गरिरहेछु भन्ने पूर्ण जानकारी हुन्छ, जुन सामूहिक लगानी कोषका लगानीकर्तालाई नहुन पनि सक्छ । यसको दोस्रो फाइदा भनेको ईटीएफको दोस्रो बजारमा हुने निरन्तर कारोबार हो, जसले गर्दा यसको निरन्तर मूल्य लगानीकर्ताका लागि उपलब्ध हुन सक्छ । ईटीएफले अर्थतन्त्रमा भएको कुनै पनि परिवर्तनको प्रतिक्रिया मूल्यमार्फत तत्काल दिन सक्छ भने खुलामुखी लगानी कोषले त्यस्तो प्रतिक्रिया दोस्रो बजारमा कारोबार बन्द भइसकेपछि ढिलो गरी मात्रै दिन सक्छ ।
बन्दमुखी लगानी कोषको प्रतिएकाइ खुद सम्पत्ति मूल्यसँग दोस्रो बजारको कारोबार मूल्यबीचको अन्तर ईटीएफको भन्दा अधिक हुने गर्छ, जसको अर्थ ईटीएफको कारोबार मूल्य बन्दमुखी लगानी कोषको कारोबार मूल्य भन्दा वास्तविक हुन्छ भन्ने हो । यसको एउटा कारण लगानी कोषहरूले आफ्नो खुद सम्पत्ति मूल्यको सूचनाको प्रवाह सामान्यतया साप्ताहिक वा मासिक वा त्रैमासिक रूपमा मात्रै गछन् भने एटीएफले आफ्नो खुद सम्पत्ति मूल्यको सूचनाको प्रवाह दिनहुँ रूपमा गर्ने गर्छन् । यस्तै ईटीएफले आफ्नो पोर्टफोलियोमा रहेको धितोपत्रको विवरणको जानकारी हरेक दिन यसका लगानीकर्ता दिने गर्छ । सामान्यतया ईटीएफको पोर्टफोलियोमा भएका धितोपत्रहरू विरलै मात्र परिवर्तन हुन्छन् ।
लगानी कोष तथा ईटीएफको सामान्यतया खर्चका रूपमा व्यवस्थापन खर्च, प्रशासनिक खर्च, सुरक्षण खर्च, वितरण खर्च, प्रचार प्रसारात्मक खर्च आदि रहने गर्छन् । सामूहिक लगानी कोष सामान्यतया एक्टिभ फन्ड हुने र ईटीएफ प्यासिभ फन्ड हुने भएकाले इटीएफको सञ्चालन लागत कम पर्न जान्छ । यसमा सञ्चालन लागत कम पर्न जान्छ, जसले गर्दा ईटीएफको खुद सम्पत्ति मूल्य बढी हुन आउँछ । यद्यपि पछिल्लो समय विश्वमा सक्रिय रूपमा व्यवस्थापन गरिएको (एक्टिभली म्यानेज्ड) ईटीएफहरू पनि सञ्चालनमा आएका छन्, जसको सञ्चालन लागत निष्क्रिय ईटीएफहरूभन्दा ज्यादा नै हुने गर्छ ।
खुल्लामुखी सामूहिक लगानी कोषमा नो–लोड फन्ड (कुनै प्रकारको शुल्क नलाग्ने कोष) भएको अवस्थामा बाहेक, फ्रन्ट इन्ड लोड (खरिद गर्दा लाग्ने शुल्क) वा व्याक इन्ड लोड (बिक्री गर्दा लाग्ने शुल्क) वा एक्जिट लोड (निश्चित समयभन्दा अगाडि नै इकाइ बिक्री गरेमा लाग्ने शुल्क) का अतिरिक्त धितोपत्र दलाली सेवा शुल्कसमेत लाग्ने गर्छ । बन्दमुखी लगानी कोषमा र ईटीएफमा भने धितोपत्र दलाली सेवा शुल्क मात्र लाग्छ । यसर्थ नो–लोड फन्ड भएको अवस्थामा बाहेक ईटीएफको भन्दा लगानीकोषको एक्पेन्स रेसियो (खर्चको अनुपात) ज्यादा नै आउने गर्छ ।
लगानी कोषका एकाइहरू मार्जिनमा कारोबार गर्न र सर्ट सेल (सर्ट पोजिसन) गर्नको लागि बन्देज गरिएको हुन्छ तर, सामान्य इक्विटी सेयर जसरी ईटीएफका एकाइहरू मार्जिनमा कारोबार गर्न वा सर्ट पोजिसन लिनका लागि बन्देज गरिएको हुदैन । त्यस्तै ईटीएफका इकाइहरूमा क्यास मार्केट र फ्युचर्सबीच आर्बिट्रेजको सम्भावना रहन्छ, तर सामूहिक लगानी कोषका एकाइहरूमा त्यस्तो सम्भावना रहँदैन । ईटीएफको पोर्टफोलियोमा सेयर, बन्ड, डिबेन्चर आदिका अतिरिक्त अप्सन कन्ट्र्याक पनि समावेश गर्न सकिन्छ, जुन सुविधा सामूहिक लगानी कोषमा उपलब्ध हुँदैन ।
नेपालको सन्दर्भमा ईटीएफ
धितोपत्र बजारमै ईटीएफलाई नौलो उपकरणका रूपमा हेरिन्छ । यसको सुरुवात भै प्रयोगमा आएको नै करिब २५ वर्ष मात्रै भएको छ । विश्वभरि नै सामूहिक लगानी कोषको तुलनामा यसको प्रयोग कम नै भएको पाइन्छ । इन्भेस्टमेन्ट कम्पनी इन्टिट्युट २०१६ को फ्याक्ट बुक अनुसार अमेरिकामा १५.७ ट्रिलियन डलर सामूहिक लगानी कोषमा लगानी गरिएको छ भने एक्सचेन्ज ट्रेडेड फन्डमा करिब २ ट्रिलियन डलर मात्रै लगानी गरिएको छ । नेपालको सन्दर्भमा ईटीएफ नितान्त नौलो विषय हो । धितोपत्रसम्बन्धी ऐनमा गरिएको धितोपत्रको परिभाषामा एक्सचेन्ज ट्रेडेड फन्डका इकाइ समाविष्ट हुन सक्ने गरी व्याख्या गरिएको भए पनि ईटीएफका बारेमा ऐन र नियमावलीहरू मौन छन् । भारतमा ईटीएफको सुरुवात सामूहिक लगानी कोष नियमावलीमा संशोधन गरेर सन् २००१ बाट भएको थियो, पहिलो ईटीएफ निफ्टी फिप्टी इन्डेक्समा आधारित थियो । नेपालमा रहेको सामूहिक लगानी कोष नियमावलीमा ईटीएफ सञ्चालनसम्बन्धी प्रावधान रहेको देखिँदैन, यस्तो अवस्थामा पुँजी बजारको नियमनकारी निकायले ईटीएफ सञ्चालनका लागि आवश्यक कानुन तर्जुमा गर्नुपर्ने देखिन्छ । यसका लागि भइरहेको सामूहिक लगानी कोष नियमावलीमा संशोधन वा नयाँ नियमावली तयार पार्नुपर्ने हुन्छ । विश्वसनीय निकायबाट नियमन गरिने स्ट्याडर्ड सब इन्डेक्सको अभाव देखिन्छ । यस्तो विश्वसनीय इन्डेक्सको अभावमा ईटीएफको सहज सुरुवात गर्न सकिँदैन । यसका साथै भारतमा समेत ईटीएफको महत्वका बारेमा पर्याप्त मात्रामा चेतना अभिवृद्धि गर्न नसकिएको चर्चा बेलाबखतमा हुने गरेको अवस्थामा नेपालमा समेत यसको महत्व र उपयोगिताबारे पुँजीबजार सचेतना कार्यक्रम-वित्तीय साक्षरता अभियान आदि सञ्चालन गर्नु आवश्यक देखिन्छ ।
निष्कर्ष
पुँजीबजारको दयारा फराकिलो पार्न प्रयोगमा आएको ईटीएफमा सामूहिक लगानी कोषमा भन्दा विशेष गुणहरू हुन्छन् । पुँजीबजार विकास र विस्तार हुदै जाने क्रममा ईटीएफको आवश्यकता र महत्वलाई बेवास्ता गरिरहन सकिँदैन । ईटीएफका महत्वहरूलाई दृष्टिगत गरी लगानीको निर्णय गर्न सक्ने हो भने लगानीकर्ताले थोरै पैसामा लगानी विविधीकरण गरी सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सक्छन् । नेपालको सन्दर्भमा यो यौटा नौलो उपकरण हो र यसको स्थापना र सञ्चालनका कानुनी आधारहरूको अभाव छ । सामूहिक लगानी कोष सफलतापूर्वक सञ्चालन गरिसकेको बजारका लागि ईटीएफ स्थापना र सञ्चालन गर्ने कानुनी आधारहरू तयार पार्न जटिल नरहेको कुरा प्रस्ट हुन्छ । सीमित लगानीका उपकरणहरू मात्रै उपलब्ध भएको बजार र इक्विटी सेयरप्रति ज्यादा मोह राख्ने पुँजीबजारमा ईटीएफ लगानीकर्ताको लागि अर्को महत्वपूर्ण लगानीको उपकरण हुन सक्छ । ईटीएफ सञ्चालनका आधारहरू तयार पारी पुँजीबजारको विकास र विस्तारको गतिलाई अझ क्रियाशील बनाउन सकिन्छ ।
–अजय ढुंगाना