म्यानपावरको स्तर अनलाइनबाटै पत्ता लगाउन सकिने «

म्यानपावरको स्तर अनलाइनबाटै पत्ता लगाउन सकिने

वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीको स्तर निर्धारण गर्ने वेबसाइट सुरु भएको छ । यो वेबसाइटले वैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्बन्धित म्यानपावर कम्पनीको स्तर निर्धाण गर्नेछ ।
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी)ले सुरु गरेको वेवसाइट रिग्रुटमेन्टएडभाइजर डट ओआरजीले म्यानपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिने भएको हो । यो वेवसाइट नेपालसँगै इन्डोनेसिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ सुरु भएको छ । यस वेबसाइटमा हरेक मुलुकका लागि अलग्गै भाषामा पेज रहेका छन् । यो वेबसाइट निर्माणमा नेपालबाट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आईटीयूसीसँग सहकार्य गरेको छ ।
आईटीयूसीको माइग्रेण्ट रिक्रुटमेन्ट एड्भाइजर (एमआरए) परियोजनाकी व्यवस्थापक ईरा रच्मावतीका अनुसार यो वेवसाइटले वैदेशिक रोजगारमा जान चाहनेलाई सही म्यानपावर कम्पनी छनोट गर्न मद्दत गर्नेछ । उनले वैदेशिक रोजगारका क्रममा रहेका वा वैदेशिक रोजगारबाट फर्केकाकै मूल्यांकनका आधारमा सम्बन्धित म्यानपावर कम्पनीको स्तर निर्धारण हुने भएको र सो जानकारीले वैदेशिक रोजगारमा जान चाहनेहरूलाई सही मेनपावर कम्पनी छनोट गर्न सहयोग गर्ने बताइन् । त्यसैले वैदेशिक रोजगारका लागि कुनै म्यानपावर कम्पनीको सेवा लिइसकेकालाई आफ्नो अनुभवका आधारमा फर्म भरेर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।
नेपालमा हाल १ हजारभन्दा धेरै म्यानपावर कम्पनी छन् । ती सबै कम्पनीको नामसहितको लिस्ट यो वेबसाइटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्