साझाले २० वटा सहरी बस किन्दै

साझा यातायात प्रालिले २० वटा नयाँ बस ल्याउनका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ । साझाले उक्त बस खरिदका लागि यसै साता टेन्डर माग गरेको हो । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको सेयर लगानीमा साझाले २० वटा सहरी बस किन्न लागेको हो ।
साझाको उक्त बस खरिदका लागि काठमाडौं महानगरपालिकाले ५ करोड र ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँ सेयर स्वरुप रकम उपलब्ध गराइसकेको छ । “हालीले काठमाडौं र ललितपुर महानगरपालिकाको सेयर हुने गरी क्रमशः ५ र १ करोड रुपैयाँ पाइसकेका छौं,” साझा यातायातका महाप्रवन्धक महेन्द्रराज पाण्डेयले भने, “त्यही अनुरुप हामीले यसैसाता २० वटा सिटी बस खरिदका लागि साझाले ग्लोबल टेन्डर माग गरेको छ ।” योसँगै बस किन्ने प्रक्रिया सुरु भएको उनको भनाइ छ ।
उक्त बस आएपछि काठमाडौं उपत्यकामा सञ्चालन गरिने पाण्डेयले जानकारी दिए । यसैबीच साझा यातायातले सेमि–लो फ्लोर बस ल्याउन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । यसका लागि एलसी खोल्ने लगायत सबै काम समिएकाले अबको दुई महिनाभित्र उक्त बस काठमाडौं आए पुग्ने पाण्डेयले जानकारी दिए । यो बस काठमाडौंमा नमुनाका रूपमा सञ्चालन गर्ने लक्ष साझा यातायातको छ ।
यसैबीच साझा यातायातले अशोक लेल्यान्डको अत्याधुनिक डिलक्स बस ल्याउने सम्झौता गरेको छ । केही समय अघि साझाले निकालेको डिलक्स बस खरिदको टेन्डर अशोक लेल्यान्डले आएको थियो । अशोक लेल्यान्डसँग डिलक्स बस खरिदका लागि बिहीबार एमओयु भएको साझाका महाप्रवन्धक पाण्डेयले बताए ।
साझाले आह्वान गरेको टेन्डर अशोक लेल्यान्डले आएको र त्यही अनुरुप बस आपूर्ति गर्ने सम्बन्धमा समझदारी भएको अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले जानकारी दिए । अशोक लेल्यान्डले साझा यातायातलाई अत्याधुनिक डिलक्स बस उपलब्ध गराउने शिवाकोटीले बताए ।