ग्यास कमिसन वृद्धि गर्न माग «

ग्यास कमिसन वृद्धि गर्न माग

ग्यास बिक्री गरेबापत पाउनुपर्ने कमिसन वृद्धि गर्न ग्यास व्यवसायीहरूले सरकार र उद्योगीसँग माग गरेका छन् । एलपी ग्यास बिक्रेताहरूले कम्तिमा ५ प्रतिशत कमिसन तोकिनुपर्ने माग गरेका छन् । ग्यास बिक्रेता महासंघका केन्द्रीय महासचिव चन्द्र थापाले लगानीको ५ प्रतिशत कमिसन तोक्न माग गरे । “ग्यासको सिलिन्डरसहितको लगानी होइन हामीले भरेको जुन मूल्य छ त्यसको ५ प्रतिशत कमिसन उपलब्ध गराउन माग गरेका छौं,” उनले भने । करिब २ प्रतिशत मात्रै कमिसन पाउने गरेको उनले बताए । एउटा सिलिन्डर बिक्री गर्दा हाल ३२ रुपैयाँ मात्रै कमिसन पाउने गरेको उनको भनाइ छ । “ग्यासको मूल्य ७ सय हुँदा पनि त्यति नै थियो कमिसन,” थापाले भने, “अहिले १४ सयको हाराबारी पुग्दा पनि कमिसन भने त्यतिका त्यति नै छ ।”
ग्यास बिक्रेता संघ मोरङले कमिसन वृद्धिको माग राखेर एक महिनाअघि एक हप्तासम्म बिक्री बन्द गरेको थियो । तर, पछि प्रशासनसित भएको वार्तामा कमिसन वृद्धि गराउन पहल गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको छ । संघका मोरङ अध्यक्ष विकास लालवानीले कर्मचारी, घरभाडा, बैंक ब्याजलगायत वृद्धि भए पनि कमिसन वृद्धि नभएको गुनासो पोखे । ग्यास बिक्रीबाट आत्मनिर्भर नभएपछि धेरै व्यवसायी पलायन भएको उनी बताउँछन् । “ग्यास बिक्रीबाट आत्मनिर्भर नहुँदा व्यवसायीहरू पलायन हुनेक्रम बढेको छ,” उनले भने, “माग तत्काल सम्बोधन नभए हड्तालमा उत्रिन बाध्य हुनेछौं ।”
बिक्रेताकै कारण उद्योगीहरू दिनानुदिन आर्थिक रुपमा सम्पन्न हुँदै गए पनि आफूहरूको आर्थिक अवस्थामा परिवर्तन नआएको संघका सचिव सरलराज पोखरेलले बताए । डिलरहरूले जोखिम मोलेर बम बिक्री गरिरहेको उनी बताउँछन् । उद्योगबाट ग्यास निस्केपछि उपभोक्ताको बिमा भए पनि बिक्रेताहरूको नहुने गरेको पोखरेलको भनाइ छ । वीरगन्जस्थित ग्याँस उद्योगमा आगलागी भएपछि घरधनीले समेत ग्यास राख्न नदिएको उनको दुखेसो छ । “अनेक झन्झट र समस्याबाट बिक्रेताहरू ग्रसित छन्,” पोखरेलले भने, “सरकार र उद्योगीले हाम्रा समस्यालाई बुझेर तत्काल कमिसन वृद्धि गर्नुपर्छ ।”
मोरङमा ४ सयभन्दा बढी ग्यास बिक्रेता छन् । जसमा साढे ४ करोडभन्दा बढी लगानी छ भने २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । कोशी, सुविधा, रिजालको, प्रिमाल, कन्काईलगायतका ग्यास बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्