विराटनगरवासीलाई भाटभटेनी सुपरमार्केट «

विराटनगरवासीलाई भाटभटेनी सुपरमार्केट

 नयाँ वर्षको उपहारका रूपमा विराटनगरले भाटभटेनी सुपरमार्केट पाएको छ । १ अर्ब रुपैयाँको लगानीमा विराटनगर–धरानरोडमा शनिबारदेखि भाटभटेनीको सेवा सुरु भएको छ ।
साढे ८ कट्ठा क्षेत्रफलमा १ लाख ४५ हजार वर्गफिटमा निर्माण गरिएको भाटभटेनी सुपरमार्केट विराटनगरमा सञ्चालनमा आएको १५ औं शाखा हो । सुपरमार्केटमा १ लाख ५० हजार किसिमका विभिन्न सामानहरू पाइने सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले जानकारी गराए । “एउटै छानामुनि धेरैभन्दा धेरै सामान उपभोक्ताले पाउन सक्नुहुनेछ,” गुरुङले भने, “विराटनगरबासीका लागि भाटभटेनी उपहार नै हो हाम्रातर्फबाट ।”
गुणस्तरीय सामान सुपरमार्केटमा उपभोक्ताले पाउने उनको दाबी छ । कम मुनाफा राखेर धेरैभन्दा धेरै सामान बिक्री गर्ने उनले बताए । खासगरी विराटनगरवासीमा भारतको जोगबनीको मोह बढी छ । विदाको दिन जोगबनीमा नेपाली ग्राहकै कारण पाइला राख्ने ठाउँ हुँदैन । आउने जाने र तौल सबै हिसाब गर्ने हो भने विराटनगर र जोगबनीको मूल्यमा खासै धेरै अन्तर पाइँदैन ।
जोगबनीबाट ५ किलो चिनी ल्याएर घरमा जोख्दा झन्डै आधा किलो कम हुन्छ । जान आउन कम्तीमा १ सय रुपैयाँ लाग्छ । समयको पनि हिसाब गर्ने हो भने नेपाली बजार नै उपयुक्त देखिन्छ । अब जोगबनी जाने ग्राहकलाई भाटभटेनीले रोक्ने सञ्चालक गुरुङको विश्वास छ । “जोगबनीकै मूल्य बराबरमै सुपरमार्केटमा सामान पाउनुहुनेछ ग्राहकले,” उनी भन्छन्, “सामान खोजिरहनुपर्ने झन्झटबाट पनि उपभोक्ता मुक्त हुन्छन् ।”
१ नम्बर प्रदेश केन्द्रित सुविधासम्पन्न सुपरमार्केटको सेवा उपलब्ध गराउने सोचका साथ सञ्चालनमा ल्याएको गुरुङको भनाइ छ । उपभोक्ताहरूको सहजताका लागि सुपरमार्केटभित्र लिफ्टको समेत व्यवस्था गरिएको छ । सुपरमार्केटको भुई तलामा खाद्यन्न सामग्री र पहिलो तलामा भान्साका सामग्री (किचन वेयर) र शृंगार–प्रशोधन (कस्मेटिक) का सामग्री राखिएका छन् । दोस्रो तलामा रेडिमेड गार्मेन्ट, तेस्रोमा फुटवेयर र इलेक्ट्रोनिक्स तथा चौथो तलामा फर्निचर राखिएका छन् । त्यस्तै पाँचौं तला मनोरञ्जन सेवाका लागि दुईवटा सिनेमा हलको व्यवस्था गरिएको छ । सिनेमाको जिम्मा क्युएफएक्सले लिएको छ । भाटभटेनीले सम्पूर्ण ग्राहकका लागि हरेक सामानमा न्यूनतम १० प्रतिशत छुट उपलब्ध गराएको कम्पनीले जनाएको छ । यो सुविधा सुपरमार्केट सञ्चालन भएको एक महिलासम्म मात्र लागू हुने गुरुङले बताए । सहज, सस्तो र सरल मूल्यमा सामग्रीहरू बिक्री गर्ने उद्देश्यका साथ सुपरमार्केट सञ्चालनमा ल्याइएको भाटभटेनी सुपरमार्केटका सीईओ वानु पौडेलले जानकारी दिए । उपभोक्ताको अत्यधिक भीडका कारण सुपरमार्केट दिउँसै बन्द गर्नुपरेको थियो । सुपरमार्केटले १० प्रतिशत छुट दिने थाहा पाएर गाउँ–गाउँबाट उपभोक्तको भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्