प्रारम्भिक बालविकास क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने «

प्रारम्भिक बालविकास क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बाल विकाससम्बन्धी एशिया प्रशान्त क्षेत्रीय सञ्जाल (एआरएनईसी) सम्मेलन र प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठक आयोजना गर्ने भएको छ । गत वर्ष यो सम्मेलन कम्बोडियामा भएको थियो ।
यस वर्षको सम्मेलन जेठ २२ देखि २४ सम्म काठमाडौँमा आयोजना गरिने भएको शिक्षा मन्त्रालयका सचिव खगराज बरालले बताए । सम्मेलनसँगै प्रारम्भिक बालस्याहार तथा शिक्षाका लागि एशिया प्रशान्त क्षेत्रीय नीतिको बैठकसमेत हुने भएको छ । सम्मेलनमा मुख्यतया अन्तर्राष्ट्रिय स्तरमा भएका प्रारम्भिक बालविकासमा नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान आदानप्रदान गर्ने, प्रारम्भिक बालशिक्षा तथा विकास सम्बन्धी विद्यमान नीतिहरूबारे छलफल गर्ने उद्देश्य रहेको छ ।
यसैगरी प्रारम्भिक बालविकासका सरोकारवालाहरूबीच प्रारम्भिक बालविकास सम्बन्धी अभ्यासहरूको समीक्षा गर्ने, प्रारम्भिक बालविकासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र प्रारम्भिक बालविकासको क्षेत्रमा भएका प्रगति र अभ्यासलाई प्रस्तुत गर्ने उद्देश्यहरू रहेका छन् ।
सम्मेलनको मुख्य विषय ‘प्रारम्भिक बालविकासको माध्यमबाट दिगो विकास लक्ष्य प्राप्ति : प्रारम्भिक बालविकासका लागि बहुक्षेत्रीयको अवधारणा के ?’ भन्ने रहेको छ ।
सम्मेलनमा करिब ४० देशबाट ५०० विदेशी तथा २०० स्वदेशी सहभागी हुने अपेक्षा गरिएको छ । कतिपय देशबाट शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, सचिव स्तरीय सहभागिता हुने पनि अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्