जापानी अर्थतन्त्रमा लगातार वृद्धि «

जापानी अर्थतन्त्रमा लगातार वृद्धि

लाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा जापानी अर्थतन्त्रमा वार्षिक मापनका आधारमा १.४ प्रतिशतको वृद्धि भएको छ । विश्वकै तेस्रो ठूलो अर्थतन्त्रमा भएको यो वृद्धि लगातार सातौं त्रैमासमा हो ।
अर्थतन्त्र २००१ यता सबैभन्दा लामो अवधिका लागि विस्तार भएको छ । तर, यो अप्रिलदेखि जुनसम्मको अवधिको २.६ प्रतिशतको तुलनामा मन्द भएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
त्रैमासिक मापनका आधारमा अर्थतन्त्र ०.३ प्रतिशतले वृद्धि भएको छ । यो पनि अप्रिलदेखि जुनसम्मको अवधिमा भएको ०.६ प्रतिशत वृद्धिको तुलनामा सुस्त हो ।
मजबुत अवस्थाको निर्यात र कर्पोरेट लगानीले तुलनात्मक रूपमा कमजोर रहेको घरधुरीको माग पूर्ति गर्नका लागि सहयोग गरेको छ । जापानको व्यावसायिक गतिविधिमा घरधुरीको मागको हिस्सा झन्डै दुईतिहाइ रहँदै आएको छ ।
अघिल्लो त्रैमासको तुलनामा जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा निजी उपभोगमा ०.५ प्रतिशतको गिरावट आएको छ । विगत ७ त्रैमासिक अवधिमा यस किसिमको गिरावट पहिलो हो । वार्षिक मापनका आधारमा यो १.८ प्रतिशतले ओरालो लागेको हो ।
तर, जापानका प्रमुख निर्यात गन्तव्यहरू चीन, अमेरिका र अन्य प्रमुख बजारहरूको मागमा आएको सुधारका कारण निर्यात उकालो लागेपछि यसले जापानी अर्थतन्त्रमा केही हदसम्म भरथेग गरेको छ । जापानको दीर्घकालीन परिदृश्य अनिश्चित रहेको छ ।
जापानी प्रधानमन्त्री सिन्जो अबले पाँच वर्षअगाडि मुद्रास्फीति बढाएर जापानलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धताका साथ आफ्नो कार्यकाल सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्