फेसबुककै हाराहारीमा टेनसेन्ट «

फेसबुककै हाराहारीमा टेनसेन्ट

चिनियाँ सामाजिक सञ्जाल र भिडियो गेम कम्पनी टेनसेन्टको मूल्य गत वर्ष दोब्बरभन्दा बढीले वृद्धि भएको छ । यो वृद्धिसँगै कम्पनीको बजार मूल्य फेसबुकको हाराहारी अर्थात् ५२० अर्ब डलर पुगेको छ । बुधबार हङकङमा टेनसेन्टको मूल्य ४७० अर्ब डलर रह्यो ।
हाल फेसबुक विश्वकै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल भएको छ । यसको प्रयोगकर्ता विश्वव्यापी गरेर २ अर्बभन्दा बढी पुगेको छ । यसले व्यापक लोकप्रियता पाएको इन्टाग्राम र ह्वाट्सयपको स्वामित्व पनि लिएको छ ।
टेनसेन्टको स्वामित्वमा पनि सामाजिक सञ्जाल विच्याट पनि रहेको छ । यसका प्रयोगकर्ताको संख्या झन्डै १ अर्ब रहेको छ । प्रयोगकर्ता विशेष गरी चीनमा रहेका छन् । पश्चिमा प्रतिद्वन्द्वीहरू फेसबुक र ट्विटर चीनमा बन्द भएसँगै विच्याट चीनमा सर्वाधिक लोकप्रिय भएको छ ।
टेनसेन्ट सामाजिक नेटवर्किङ मात्रै भएको छैन । यसले स्मार्टफोन गेम्स, मोबाइल पेमेन्ट र स्ट्रिमिङ म्युजिकमा पनि हात हालेको छ । यी सबैले यो वर्ष कीर्तिमानी नाफाका लागि सहयोग गरेका छन् ।
बुधबार हङकङमा पछिल्लो त्रैमासिक अवधिमा कम्पनीको नाफा झन्डै ७० प्रतिशतले वृद्धि भएको थियो । यसले विश्लेषकहरूको प्रक्षेपणलाई सहजै उछिनेको छ ।
टेनसेन्टले विश्वका अन्य प्रविधि कम्पनीहरूमा पनि भारी परिमाणमा लगानी गर्दै छ ।
एसियाको स्टार्टअपमा लगानी खन्याउनुका साथै इलोन मस्कको विद्युतीय कार, टेस्ला पनि लगानी गरेको छ ।
केही विश्लेषकले टेनसेन्टले चाँडै नै ५ सय अर्ब डलरको सीमा पार गर्ने अनुमान गरेका छन् । यसले कम्पनीलाई अमेरिकाको अर्को कम्पनी अमेजनको नजिक पु¥याउने बताइएको छ । हाल अमेजनको बजार मूल्य ५ सय ५० डलर छ । तर, टेनसेन्टले बजार मूल्यका आधारमा शीर्ष स्थानमा रहेको एप्पल (८८० अर्ब डलर) भेट्नका लागि लामो यात्रा तय गर्नु आवश्यक छ । यसैगरी गुगलको दाँजोमा पुग्नका लागि पनि समय लाग्ने छ ।
६ महिनाअगाडि ३०० अर्ब डलरमा पुगेको टेनसेन्ट हाल आएर ५०० अर्ब डलरको हाराहारीमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्