१५ वर्षदेखिको पेश्की फस्र्योट भएन «

१५ वर्षदेखिको पेश्की फस्र्योट भएन

हेटौंडा उपमहानगरपालिकामा १५ वर्षअघिदेखिको पेश्की फस्र्योट हुन बाँकी छ । विभिन्न योजनाको नाममा लगिएको उपभोक्ता समिति, कर्मचारी, संघसंस्था, वडा कार्यालय र तत्कालीन जनप्रतिनिधिले लगेको रकम अझै पनि फस्र्योट हुन नसकेको हो ।
चालू आवको फागुनसम्मको तथ्यांकमा हेटौंडा उपमहानगरपालिकामा कुल ७ करोड ५ लाख ९७ हजार ८९४ रुपैयाँ पेश्की फस्र्योट हुन बाँकी छ । स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले आफू र आफूनिकटका व्यक्तिलाई हचुवाको भरमा बिनायोजना रकम निकासा गरिदिँदा पेश्की फस्र्योट हुन नसकेको आरोप लाग्ने गरेको छ । फस्र्योट हुन बाँकी रहेको पेश्कीको समूहगत सारमात्र हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक गरेको छ । कुन संस्था र कुन उपभोक्ता समितिले कति रुपैयाँको पेश्की फस्र्योट गरे भन्नेबारेमा उपमहानगरले सार्वजनिक गर्न चाहेको छैन ।
उपमहानगरले दिएको जानकारी अनुसार वडा कार्यालयहरूको सबैभन्दा बढी पेश्की फस्र्योट हुन बाँकी छ । वडा कार्यालयहरूले लिएको तीन करोड २५ लाख ९७ हजार रुपैयाँ पेश्कीको फस्र्योट हुन बाँकी छ । त्यस्तै उपभोक्ता समितिले लगेको दुई करोड २३ लाख ७९ हजार रुपैयाँ पनि फस्र्योट हुन सकेको छैन । विभिन्न संघसंसथाले लगेका एक करोड ११ लाख ६९ हजार रुपैयाँसमेत फस्र्योट नभएको उपमहानगरपालिकाका सूचना अधिकारी डा. शंकर उपाध्यायले जानकारी दिए । त्यस्तै कर्मचारीले लगेको ३२ लाख ६२ हजार रुपैयाँ पनि फस्र्योट हुन नसकेको उपाध्यायले जानकारी दिए । २०५६ सालमा निर्वाचित जनप्रतिनिधिहरूले लगेको ११ लाख ८९ हजार रुपैयाँ पनि फस्र्योट भएको छैन । भर्खरै आएका जनप्रतिनिधिले भने कुनै पेश्की लिएका छैनन् ।
बितेको आर्थिक वर्षमा ३ करोड ३५ लाख ३० हजार रुपैयाँ बाँकी पेश्कीको जिम्मेवारी सरेर आएकोमा ४९ लाख ३८ हजार फस्र्योट भएको छ । जसअनुसार २०५९ सालेदेखि २०७३ सम्ममा २८ लाख ५९ हजार रुपैयाँ पेश्की फस्र्योट बाँकी रहेको देखिएको छ । चालू आवमा उपभोक्ता समिति, कर्मचारी, संघसंस्था, वडा कार्यालयले कुल ७ करोड ७७ लाख रुपैयाँ पेश्की लिएकोमा तीन करोड ५७ लाख रुपैयाँ मात्र फस्र्योट भएको छ । चालू वर्षमा लिएको पेश्कीमध्ये ४ करोड २० लाख रुपैयाँ फस्र्योट हुन बाँकी रहेको सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्