अन्तरिक्ष : नयाँ ‘भर्चुअल मुलुक’ «

अन्तरिक्ष : नयाँ ‘भर्चुअल मुलुक’

वास्तविकजस्तो देखिने राष्ट्र (भर्चुअल नेसन)को रूपमा एक अन्तरिक्ष अधिराज्यको जन्म भएको छ । असगार्डियाले आफ्नो पहिलो भूउपग्रह (स्याटेलाइट) प्रक्षेपण गरेर भर्चुअल नेसनको हैसियत प्राप्त गरेको छ । आकारमा यो एउटा पाउरोटी आकारको मात्र छ ।
यो भर्चुअल नेसनको आफ्नो संविधान र नागरिकहरू छन् । असगार्डिया सार्वभौम क्षेत्रको रूपमा पाउरोटीको आकारको सानो स्याटेलाइट हो । यसले आफ्नो कक्षमा आधा टेराबाइट बराबरको डेटा बोकिरहेको छ । असगार्डिया–१ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनका लागि प्रक्षेपण गरियो । यो अन्तरिक्ष स्टेसनसँग ओरबिटल एटीके सिगनस अन्तरिक्ष विमान छ । भर्जिनियास्थित अमेरिकी अन्तरिक्ष अध्ययन नियोग नासाको वाललप्स फ्लाइट फ्यासिलिटीबाट अन्टारेस रकेट माथि भएर भर्चुअल नेसनको प्रक्षेपण गरिएको हो । संयुक्त राष्ट्रसंघको सदस्यता पाउन असागर्डियाले आवश्यक सबै सर्तहरू पूरा गरिरहेको छ । असगार्डियाले तयार पारेको संविधानलाई स्वीकार गरिसकिएको छ ।
भर्चुअल राष्ट्रको आफ्नो मुद्रा क्रिप्टोकरेन्सी छ, जसलाई सोलर भनिएको छ । यो क्रिप्टोकरेन्सीलाई युरोपियन युनियन इन्टेलेक्चुअल प्रोपर्टी अफिसमा दर्ता गरिएको छ । अन्तरिक्षमा हुने पहिलो राष्ट्रको आफ्नो झण्डा पनि छ । यो भर्चुअल नेसन नामक परियोजनालाई अन्तर्राष्ट्रिय क्षेत्रका वैज्ञानिक र रुसी अर्बपति डा. इगोर असुरबेयलीको सहयोग र समर्थन रहेको छ । यो भर्चुअल नेसनले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने छ । यो वर्षको सुरूमा यो टोलीले नयाँ देशलाई संगठित गर्न धेरै समस्याहरू रहेको जनाएको थियो । भियनास्थित एयरोस्पेस इन्टरनेसनल रिसर्च सेन्टरका संस्थापक तथा रूसी अर्बपति डा.असुबेयलले गत अक्टोबरमा पेरिसमा आयोजित एक प्रेस सम्मेलनमा यो टोलीको अगुवाइ गर्दै यसबारे जानकारी दिएका थिए । त्यतिखेर डा. असुरबेयलीले भूमिमा आधारित देशहरूको कानुनले सामना गरिरहेका बाधाबाट अन्तरिक्षमा स्थापित हुने यो निजी प्रकारको देश मुक्त हुने बताएका थिए । तर पनि यो दृष्टिकोणमा केही मानवसम्बन्धी समस्याहरू उत्पन्न हुने देखिन्छ ।
वाल स्ट्रिट जर्नललाई दिएको एक अन्तर्वार्तामा डा. असुरबेयलीले भने, “सबैभन्दा ठूलो समस्या भनेको स्वसंगठन (सेल्फ अर्गनाइजेसन) हो । कसैले पनि संगठित भइरहने प्रयास गरेका छैनन् । अहिले विश्वका २ सय देशका १ लाख नागरिकहरू छन् । यी मानिसहरू एक अर्कालाई चिन्दैनन् । उनीहरू पृथ्वीका विभन्न क्षेत्रमा बस्छन् ।” भविष्यमा असागार्डियनमा बस्नेहरूले विभिन्न भाषा बोल्छन् र उनीहरूसँग विभिन्न प्रकारका राजनीतिक प्रणाली छन् । जसले राजनीतिक अस्थिरता निम्त्याउन सक्छ । यो भर्चुअल नेसनको अर्को बहसको मुद्दा भनेको पृथ्वीका शरणार्थीहरूलाई स्वीकार गर्ने हो वा होइन भन्ने छ । यो भर्चुअल नेसनका लागि सुरूमा ३ लाख मानिसको अनलाइन हस्ताक्षर संकलन गरिएको थियो । यीमध्ये १ लाख १० हजारले संविधानलाई अनुमोदन गरे र उनीहरूको नागरिकतालाई अनुमोदन गरियो । डा. असुरबेयलीले भने, “मेरो कार्य पृथ्वी र मानव समुदायलाई बचाउनु हो ।” पेरिस प्रेस सम्मेलनका बेला उनले भनेका थिए, “असागार्डियाको प्रक्षेपण हुनुअघि यसलाई राष्ट्रसंघबाट अनुमोदन प्राप्त भएको आफ्नो चाहना छ । यो देशका सम्भावित बासिन्दाहरूले संविधान र अन्तरिक्षमा बस्नेहरूबीच यसको सत्ता साझेदारी कसरी हुने विषयमा चासो व्यक्त गरेका छन् ।”
जवाफमा डा. असुरबेयलीले भनेका थिए, “यो भर्चुअल नेसन युरोपमा भएको कुनै संवैधानिक राजतन्त्रको जस्तो हुनेछ । अनि आफू पाँच वर्षको निश्चित पदावधिका लागि राजा जस्तो हुनेछु ।” अर्को चासो थियो यहाँको कर प्रणाली कसरी काम गर्नेछ भन्न ।
यस्ता बहस र विवादहरूको छिनोफानो टोलीको हुनेछ । जसले पृथ्वीको कानुनी र भौतिक सीमाबाहिर एक स्वतन्त्र देशको निर्माण गर्ने प्रयास गरिरहेको छ । यो सानो भूउपग्रहको पुनः आपूर्तिको कार्यमा सहयोग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)ले गर्नेछ । अमेरिकाको फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी)को जुनमा दर्ता भएको एक दस्तावेज अनुसार यो सानो भूउपग्रहको पुनः आपूर्तिको जिम्मा आइएसएसलाई हुनेछ । असगार्डियाले जनाए अनुसार प्राथमिकरूपमा ठोस उपकरणहरू हुनेछ । यस्ता उपकरणहरूमा डेटा लोड गरिएका हुनेछन् । कक्षामा डेटाहरूलाई अपडेट गर्ने गरिन्छ । यो सानो स्याटेलाइट ४ गुना ४ इन्चको हुन्छ । वा १० गुन १० गुना २० सेन्टिमिटरको यो स्याटेलाइट छ । मोटामोटी एक पाउरोटीको आकारको यो स्याटेलाइटको वजन ५ पाउन्ड करिब २.३ किलोग्रामको छ । यसमा दुई कण पता लगाउने दुई पार्टिकल डिटेक्टर्स जडान गरिनेछ । यो समूहको उद्देश्यले प्रविधिसम्बन्धी परीक्षण मुख्य हुने दस्तावेजमा उल्लेख छ ।
दस्तावेजका अनुसार यसमा राखिएका डेटाहरूले सौर्य प्रवाहको नक्शांकन गर्नु र विकिरणहरूको निर्धारण हुनेछ । जसले आन्तरिक इलेक्टोनिक्सबारे अध्ययन गर्छ । यो परियोजनाका अगुवाहरूका अनुसार यो परियोजनाले नयाँ स्वामित्व र अन्तरिक्षमा राष्ट्रपनको विकास गर्नु हुनेछ । यो परियोजनाले नयाँ राष्ट्रको प्राप्ति गरेमा यसले अन्तरिक्षमा करलगायतका विषयमा नीति निर्माण गर्नेछ । टोलीहरूले विकास गरेको प्रारम्भिक अवधारणाअनुसार सबै मानवजातिका लागि एक अत्याधुनिक राज्य कलाको सिर्जना गर्नु हुनेछ । यसले मानव निर्मित र प्राकृतिक रूपमा विद्यमान खगोलीय खतराबाट विश्वलाई जोगाउनु हुनेछ । यस अन्तर्गत अन्तरिक्षको फोहोर, सूर्यका कण र क्षुद्र ताराहरूसँग हुने टक्करबाट जोगाउनु रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ । पृथ्वीको कक्षहरू नजिक अन्तरिक्षमा मानव निर्मित वस्तु, पुराना अन्तरिक्षयान, उप्पलो चरणका रकेट जस्ता २० हजार वस्तुहरू पाइएको अनुमान गरिएको छ ।
यसका अतिरिक्त अन्तरिक्षका खगोली वस्तुहरू पनि धर्ती र यसका जीवनका लागि खतरा निम्त्याउन सक्छन् । उदाहरण प्रस्तुत गर्दै भनिएको छ, चेलियाबिन्स्क मेटिओराइट सन् २०१३ मा नस्ट हुँदा ११ हजार मानिसलाई घाइते बनायो र ४ हजार भवनलाई ध्वस्त बनायो । यो परियोजनाको अवधारणाले तीन क्षेत्रलाई ओगटेको छ । डा. असुरबेयलीले भने, “दार्शनिक, कानुनी र वैज्ञानिक एवं प्राविधिक आधार भएको असगार्डिया एक पूर्ण र स्वतन्त्र राष्ट्र हो र यो भविष्यमा राष्ट्रसंघको सदस्य हो ।” यो परियोजनाका संस्थापकका अनुसार यो परियोजनाको विशेषता अन्तरिक्षमा शान्ति कायम गर्नु हो र पृथ्वीका अन्तर्विरोधलाई अन्तरिक्षमा जानबाट रोक्नु हो । “असगार्डिया अभियानले अन्तरिक्षमा व्यापक सहभागीताको अवसरको सिर्जना गर्नलाई हो,” हस्टन टेक्सासस्थित राइस युनिभर्सिटिको राइस स्पेस इन्स्टिच्युटका निर्देशक प्रोफेसर डेभिड अलेग्जेन्डरले भनेका छन् । यद्यपी यसको भविष्यका बारेमा थप बहसहरू भने हुन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्