जीवनको आधार वनस्पति «

जीवनको आधार वनस्पति

प्रकृतिले निःशुल्क प्रदान गरेका विभिन्न उपहारमध्ये वनस्पति स्रोत सर्वश्रेष्ठ छन् । वनस्पति साझा सम्पत्ति मात्र नभई जीवनका आधार पनि हुन् । जीवनका हरेक चरणमा विभिन्न तवरले उपयोगमा आइरहने स्रोत हुन् वनस्पति । यी महत्वपूर्ण स्रोतहरूको सदुपयोगबाट मानवीय आवश्यकताहरूको परिपूर्तिका साथसाथै वातावरणीय दिगोपनाको सुनिश्चितता सम्भव छ । पहिचान तथा उपयोगको अनुभवसम्बन्धी ज्ञानको अभावमा हाम्रा वनस्पति सम्पदाहरू झारपातमा परिणत भएका हुन सक्छन् । कैयौं यस्ता झारपात अति महत्वपूर्ण तथा संवेदनशील वनस्पतिहरू पनि हुन सक्ने भएकाले अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण कार्यलाई निरन्तरता दिनु आवश्यक छ ।
सूक्ष्म लेउ, काई, ढुसी, झ्याउ, च्याउ, उन्यु, जिम्नोस्पर्मस तथा एन्जिओस्पर्मसजस्ता विभिन्न प्रकारका फूल फुल्ने र फूल नफुल्ने सबै बिरुवा नै वनस्पति हुन् । वनस्पतिको महत्व बुझ्न सकिएन भने हाम्रा बहुमूल्य वनस्पति स्रोतहरू यसै–यसै बेकम्मा हुने, लोप हुने, अवैध कारोबार हुने, यहाँको वनस्पति स्रोतको स्वामित्व अन्यत्रै अरूले नै लिने, जैविक चोरी हुने जस्ता समस्याहरू आइलाग्न सक्छन् । नेपालमा पाइने वानस्पतिक विविधताको अन्वेषण, संकलन, पहिचान, नमुनाहरूको संरक्षण, वानस्पतिक अध्ययन, अनुसन्धान, स्वस्थानीय वा परस्थानीय संरक्षण, वनस्पतिहरूमा रहेका रासायनिक तŒवहरूको विश्लेषण गर्ने जिम्मेवारी वनस्पति विभागको हो । विभागले १ लाख ६५ हजार हर्बेरियम नमुना व्यवस्थापन गरेको छ भने १ सय १६ वनस्पतिको टिस्यु कल्चर प्रोटोकल विकास गरेको छ । यसै गरी ११ वटा वनस्पति उद्यानहरूको व्यवस्थापन पनि गरिरहेको छ । यसबाहेक वानस्पतिक विश्लेषण तथा वनस्पति पहिचानमा शैक्षिक तथा वैज्ञानिक परामर्श तथा सार्वजनिक सेवा प्रदान गर्दै आइरहेको छ । नेपालमा वनस्पतिसम्बन्धी आधिकारिक तथ्यांकको स्रोत भनेको वनस्पति विभाग हो ।
वनस्पतिसम्बन्धी धेरै नयाँ–नयाँ खोज गर्नुपर्नेछ । नेपालका वनस्पतिहरूको वनस्पति संग्रह (नेपाल फ्लोरा) प्रकाशन गर्नुपर्ने अहम् जिम्मेवारी छ । नेपाल दुर्लभ वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को पक्षराष्ट्र पनि हो र वनस्पतिका लागि वनस्पति विभाग वैज्ञानिक निकाय हो । वनस्पति विभागले १३ वटा जडीबुटी खेती तथा अनुसन्धानका लागि र ३३ वटा जडीबुटी नेपालको आर्थिक विकासका लागि प्राथमिकतामा राखेको छ । यी प्राथमिकता प्राप्त वनस्पतिहरूको अनुसन्धान तथा व्यवसायीकरणका लागि दीर्घकालीन तथा अल्पकालीन योजना तथा कार्यक्रमहरू तय गरिनुपर्छ । वनस्पतिको महत्व अनुभूति गराउने हेतुले हरेक वर्षझैं यस वर्ष पनि चैत २९ गते जीवनका लागि वनस्पति नाराका साथ राष्ट्रिय वनस्पति दिवस मनाइँदैछ ।
कुन–कुन वनस्पति कहाँ–कहाँ र कस्तो अवस्थामा छन् ? यी वनस्पतिहरूको प्राकृतिक अवस्था कस्तो छ ? पुनरुत्पादन दर के कस्तो छ ? भन्ने विषयको अध्ययनबिना दिगो व्यवस्थापनका कार्यहरू प्रभावकारी बन्न सक्दैनन् । मुलुक संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन व्यवस्थामा अभ्यास गरिरहेको छ । यस घडीमा वनस्पति क्षेत्रको वैज्ञानिक अध्ययन, अनुसन्धान, संरक्षण, विश्लेषण, प्रमाणीकरण, प्रविधि विकास, प्रविधि हस्तान्तरण, हर्वेरियम तथा वनस्पति उद्यान व्यवस्थापनसम्बन्धी कार्यहरूलाई प्रभावकारी बनाउन उपयुक्त संगठन तथा दरबन्दी सिर्जना गर्नु आवश्यक छ । वनस्पति स्रोतको उपयोगसम्बन्धी ज्ञानको अभिलेखीकरण, व्यावसायिक उत्पादन, दिगो उपयोग तथा बजारीकरणमा टेवा दिने खालका क्रियाकलापहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने हुन्छ ।
धेरै पहिलेदेखि हरियो वन नेपालको धन भनियो । यसको अर्थ वनस्पतिजन्य उपजहरूबाट ठूलो आर्थिक लाभ लिन सकिने दूरदृष्टि रहेछ । यसको व्यावहारिक अनुभूति दिलाउनेतर्फ ध्यान दिनुपर्छ । जडीबुटी, सुगन्धित, शोभनीय, आयुर्वेदिक लगायतका गैरकाष्ठ वन पैदावारहरूकोे व्यवसायीकरणबाट भूउपयोगका साथसाथै आयआर्जनमा समेत योगदान दिन सकिन्छ । चिराइतो, कुरिलो, टिमुर, मेन्था, लेमनग्रास, पामारोजा, जटामसीजस्ता जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको व्यवसायीकरण पनि भइरहेको छ, तर जे–जति व्यवसायीकरण भइरहेको छ, त्यसमा पनि बजारीकरणको ठूलो समस्या छ । बेलाबखत बजारमा धेरै समस्या देखा पर्ने गरेका छन् । बजारको उचित व्यवस्थाको अभावका कारण व्यवसायीहरू उत्साहित बन्न सकिरहेका छैनन् ।
वनस्पति सौन्दर्यका स्रोत हुन् । कुनै पनि राम्रो फूल बिरुवाले जस्तोसुकै क्रोध व्यक्ति किन नहोस्, ध्यानाकर्षण पक्कै पनि गरिरहेको हुन्छ । हामी निकै ठूला–ठूला घर तथा भवनहरू बनाउँछौं, तर जबसम्म ती घरवरिपरि उपयुक्त स्थानमा वृक्षारोपण गरी सजावट गरिंदैन, तबसम्म त्यो पूर्वाधार अपूर्ण नै ठानिन्छ । विभिन्न खालका शोभनीय बिरुवाहरू रोप्ने, उद्यान निर्माण गर्ने र आनन्द लिने मात्र होइन कि सौन्दर्यता दिलाउने सोख सबैमा देखिन्छ । यो पनि वनस्पतिको महत्व उजागर गर्ने महत्वपूर्ण पक्ष मान्न सकिन्छ । बाटो, सडक तथा नदी किनारामा पनि वृक्षारोपण गरिएको हुन्छ । बिरुवाले केवल सौन्दर्य मात्र दिलाउने होइन कि पर्यावरणीय सन्तुलन कायम गर्न समेत मद्दत गरिरहेका हुन्छन् । विश्वव्यापी रूपमा समस्याका रूपमा रहेका हरित गृह ग्यास उत्सर्जन, विश्व वाष्पीकरण, हरित गृह प्रभाव, अम्लीय वर्षा, जलवायु परिवर्तनजस्ता समस्याहरूको दिगो व्यवस्थापन वनस्पति प्रवद्र्धन नै हो । नेपालले विश्वको ०.०१ प्रतिशत मात्र भूभाग ओगटिरहँदा विश्वभर पाइने वानस्पतिक प्रजातिमध्ये करिब ३.२ प्रतिशत वनस्पति त नेपालमै पाइन्छन् ।
पारिस्थितिक प्रणालीका उत्पादक वनस्पति नै हुन् । वनस्पतिबिना कुनै पनि जीवनको सम्भावना छैन । यसैलाई वनस्पतिलाई जीवनको आधारका रूपमा लिइन्छ । संविधानको धारा धारा ५१ (छ) ५ मा जनसाधारणमा वातावरणीय स्वच्छतासम्बन्धी चेतना बढाई औद्योगिक एवं भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पन्छी, वनस्पति तथा जैविक विविधताको संरक्षण, संवद्र्धन र दिगो उपयोग गर्ने जस्ता प्रावधान राखेको छ भने चालू चौधौं आवधिक योजनामा वन, वनस्पति, जडीबुटी, वन्यजन्तु, जैविक विविधता र जलाधारको समुचित संरक्षण, संवद्र्धन, व्यवसायीकरण र सदुपयोगद्वारा रोजगारीे सिर्जना तथा जीविकोपार्जनमा सुधार गरी पारिस्थितिकीय प्रणालीबीच सन्तुलन कायम गर्ने उल्लेख छ । यस्ता नीति तथा योजनाहरूको सबल कार्यान्वयन हुने प्रबन्ध गर्नु आवश्यक छ ।
भौगोलिक विविधतासँगै नेपाल वानस्पतिक सम्पदामा धनी मुलुक हो । वनस्पति उद्यानहरूको विकास गरी वनस्पतिहरूको स्व–स्थानीय तथा पर–स्थानीय संरक्षण, अध्ययन–अनुसन्धान, वंशाणु स्रोतको संरक्षणका कार्यहरू गर्न सकिन्छ । महत्वपूर्ण जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको खेती प्रविधि हस्तान्तरण, रासायनिक विश्लेषण तथा प्रमाणीकरण सेवालाई प्रभावकारी तुल्याई व्यापार प्रवद्र्धनमा सहयोग पुराउन सकियो भने राष्ट्रिय अर्थतन्त्रमै टेवा दिन सकिन्छ । किसानहरूलाई ज्ञान, सीप, प्रविधि र अनुदान उपलब्ध गराउने तथा प्राकृतिक अवस्थाको अत्यधिक दोहन रोकी दिगो व्यवस्थापन गर्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यार्सागुम्बा, लौठसल्ला, चिराइतो, जटामसी, कुट्की, पाँचऔंले, गुच्ची च्याउजस्ता वनस्पतिहरूको ठूलो सम्भावना छ । विश्व बजारमा अत्यधिक माग रहेका मेन्था, क्यामोमाइल, लेमनग्रास, पामारोजा, गुलाफजस्ता वनस्पतिहरूको पनि व्यवसायीकरण गरी बजारको प्रबन्ध मिलाउन सके स्वदेशमै वनस्पतिको व्यवसायीकरण गरी रोजगारीका अवसरहरू प्रशस्त गर्न सकिनेछ ।
-रघुराम पराजुली

प्रतिक्रिया दिनुहोस्