बेतन कर्णालीलाई दुई बैंकको २५ अर्ब «

बेतन कर्णालीलाई दुई बैंकको २५ अर्ब

कर्मचारी संचय कोषको नेतृत्वमा बन्न लागेको ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनामा दुई बैंकले २५ अर्ब रुपैयाँसम्म लगानी गर्ने भएका छन् ।
संचयकर्ताहरूको अधिकांश सेयर लगानी रहेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनी लिमिटेडले प्रवद्र्धक रहेको आयोजनामा बाणिज्य बैंक नेपाल एसबीआई बैंक लिमिटेड तथा नबिल बैंक लिमिटेडबीच आयोजनाका लागि आवश्यक कुल ऋणमध्ये आशिंक ऋण २५ अर्ब रुपैयाँसम्म बैकिङ सहवित्तीयकरण समूह गठन गरी ऋण व्यवस्थापन गर्ने भएको हो । बिहीबार कोषको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरमा आयोजित कार्यक्रममा कोषको तर्फबाट कोषका कार्यवाहक प्रशासक दीपक रौनियार, नेपाल एसबीआई बैंक लिमिटेडको तर्फबाट प्रबन्धक सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहबीच हस्ताक्षर भएको छ ।
अधिकृत पुँजी २० अर्ब र जारी पुजी १० अर्ब रहेको कम्पनीमा सञ्चय कोषमा रकम जम्मा गर्ने करिब ५ लाख ५० हजार सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ भने कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरण १० प्रतिशत, विद्युत् उत्पादन कम्पनीको १० प्रतिशत र बाँकी २५ प्रतिशत सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका बासिन्दा र अतिविपन्न परिवारको सेयर रहने कोषले जनाएको छ ।
आयोजनाको कुल लागत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पछि निश्चित हुने भए पनि करिब ७० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सो लागतमध्ये ३० प्रतिशत अर्थात् २१ अर्ब रुपैयाँ सेयर पुँजीबाट र बाँकी ७० प्रतिशत अर्थात् ४९ अर्ब रुपैयाँ ऋण ब्यवस्थापन गर्नुपर्ने कोषले जनाएको छ । आयोजनाका लागि आवश्यक रकममध्ये दुई बंैकले कबोलेको रकम एसबीआई बैंक लिमिटेड तथा नबिल बैंक लिमिटेडले अन्य वाणिज्य बैंकसँगको सहकार्यमा सहबित्तीयकरण समूह गठन गरी लगानी जुटाउने गरी समझदारी भएको रौनियारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्