अन्तर्राष्ट्रिय कफी महासंघको प्रवद्र्धन समितिको उपाध्यक्षमा नेपाल «

अन्तर्राष्ट्रिय कफी महासंघको प्रवद्र्धन समितिको उपाध्यक्षमा नेपाल

अन्तर्राष्ट्रिय कफी महासंघको प्रवद्र्धन तथा बजार विकास समितिको उपाध्यक्षमा नेपाल चयन भएको छ । नेपालको तर्फबाट कफी महासंघका स्थायी प्रतिनिधि तथा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई समितिको उपाध्यक्षमा सर्वसम्मतिले निर्वाचित गरिएको हो ।
सन् २०१७ फेब्रअरी २२ मा मात्र महांघको पूर्णसदस्यका रूपमा स्वीकारिएको नेपालका लागि डा. सुवेदीलाई २९ जुन २०१७ मा नेपालको स्थायी प्रतिनिधि नियुक्त गरेको थियो । सो समितिका अध्यक्ष जापानका टाकासी हिरानाका छन् । सो समितिमा कफी निर्यातकर्तामध्ये ब्राजिल, क्यामरुन, कोलम्बिया, कोस्टारिका, ग्वाटेमाला, भारत, नेपाल र टोगो छन् । त्यसैगरी कफी निर्यातकर्ता मुलुक जापान, स्वीट्जरल्याण्डलगायत छन् । सदस्य भएको छोटो समयमा नेपालले अन्तर्राष्ट्रिय फोरममा हात लागेको यो महत्वपूर्ण उपलब्धि भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए ।
यही अप्रिल ९ तारिखदेखि मेक्सिको सिटीमा आयोजित महासंघको १२१ औं परिषद् बैठकले नेपाललाई समितिमा निर्वाचित गरेको हो । नेपालको प्रस्तावकका रुपमा ब्राजिलका राजदूत तथा ब्राजिलको प्रतिनिधिमण्डलका नेता मौरिको कारभाल्लो लेरियो थिए भने उनको प्रस्तावमा कोतदभ्यायर, पनामा, केन्या, इन्डोनेसिया, होन्डुरस, एलसाल्भाडोर, कोलम्बिया र इथियोपियाका प्रतिनिधिले समर्थन जनाएको बेलायतस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
डा. सुवेदीले नेपाल सरकारको तर्फबाट सबै सदस्य राष्ट्रलाई समर्थनका लागि आभार तथा आफूले प्राप्त गरेको जिम्मेबारी उत्साह र ऊर्जाका साथ इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “गुणस्तरीय कफी उत्पादनको प्रवद्र्धनका साथै कफी बजार विस्तारको आजको आवश्यकता हो,” सुवेदीको भनाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ । उनले आफ्नो कार्यकालमा नेपाललगायत अति कम विकसित र विकासोन्मुख मुलुकमा कफी उत्पादन तथा बजार प्रवद्र्धनका लागि ठोस र सार्थक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महासंघ संयुक्तराष्ट्र संघअन्तर्गत सन् १९६३ मा बेलायतको लन्डनमा स्थापित भएको हो । यसको सञ्चालन अन्तर्राष्ट्रिय कफी सम्झौता (आईसीए) अनुरूप हुँदै आएको छ । महासंघका ४४ उत्पादक र ७ आयातकर्ता मुलुक सदस्य रहेका छन् । हाल आईभरी कष्टका एली टोरे महासंघको अध्यक्ष छन् ।

प्रतिक्रिया दिनुहोस्