भैरहवामा फुड फेस्टिबल आज «

भैरहवामा फुड फेस्टिबल आज

नयाँ वर्ष २०७५ को पूर्वसन्ध्यामा भैरहवामा शुक्रबार सिद्धार्थ सडक खाना महोत्सव(फुड फेस्टिबल) आयोजना हुदैछ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा वर्ष २०७४ लाई बिदाइ गर्दै नयाँ वर्ष २०७५ को पूर्वसन्ध्यामा चैत ३० गते भैरहवाको मुटु मिनलचोक क्षेत्रमा बेलुका ६ बजेदेखि १२ बजेसम्म सडक खाना महोत्सवको सबै तयारी पूरा भएको र ५० बढी स्टलहरू रहने मुख्य आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।
बिगतमा ३ पटक सफलतापूर्बक खाना महोत्सव सम्पन्न गरेको संघले यस पटक चौथो सस्करणका रूपमा सडक खाना महोत्सब गर्दैछ ।
“सडकमा खाऔँ । सडकमै रमाऔँ । पर्यटन विकास गरौं ।” भन्ने नाराका साथ आयोजना हुने सडक खाना महोत्सबले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने संघले जनाएको छ । नेपालकै आर्थिक केन्द्रको रूपमा विकसित हँुदै गएको भैरहवा क्षेत्रमा हुने यस्ता गतिविधिले यहाँको आर्थिक गतिविधिलाई थप चलायमान बनाउनुको साथै लुम्बिनीको प्रचार–प्रसारमा समेत सहयोग पुग्ने विश्वास रहेको महोत्सबका संयोजक दीपेन्द्र प्रधानले बताए ।
महोत्सवमा स्थानीय तथा विभिन्न जातजातिका मौलिक खानाका परिकार, सामान्यदेखि पाँचतारे होटलसम्मको खाद्य परिकार तथा विभिन्न रेस्टुराँहरूका खानाका स्वादिष्ट परिकारहरू खानाका पारखीहरूलाई एकै थलोमा उपलब्ध गराइने सह आयोजक सिद्धार्थ होटल एसोसिएसन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।
सडक खाना महोत्सवमा सिद्धार्थनगर नगर पालिका आयोजकका रूपमा छ भने सहयोगी संस्थाको रूपमा तत्कालीन साट्टा च्याप्टर र प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड छ ।
सडक खाना महोत्सवमा स्वदेशी, बिदेशी पर्यटक, स्थानीय भैरहवा, बुटवल र अन्य ग्रामीण बजारबाट मात्र नभई सीमावर्ती भारतीय बजार सुनौली, नौतवनाबाट गरी करिब ३० हजार बढी पर्यटक आउने अनुमान रहेको संघका महासचिव नेत्रप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्