विकास बजेटबाट सवारी साधन खरिद «

विकास बजेटबाट सवारी साधन खरिद

स्थानीय तहको विकासका लागि आएको बजेटको ठुलो रकम सवारी साधन खरिदमा खर्च गरिएको पाइएको छ ।
अन्य क्षेत्रको तुलनामा पिछिडिएको मानिएको डुडुवा गाउँपालिकाको विकासलाई तीव्र पार्नु पर्ने स्थानीय जनताको माग र भावनाविपरीत सो गाउँपालिकाका जनप्रतिनिधिले विकासका लागि आएको १ करोड बजेटलाई सवारी साधन खरिदमा खर्च गरेको पाइएको हो ।
सो गाउँपालिकाले विकास बजेट कटाएर करिब १ करोड मूल्यका सवारी साधन खरिद गरेको छ । संघीय सरकारले विकास बजेटबाट सवारीका साधन किन्न रोक लगाए पनि आन्तरिक स्रोतबाट सट्टा भर्ना हुने गरी विकास बजेटबाटै सवारी साधन किनिएको हो ।
गाउँपालिकाका प्रमुख नरन्द्र चौधरीले आफ्ना लागि ६१ लाख ५० हजार रुपैयाँ पर्ने स्कार्पियो गाडी खरिद गरेका छन् । प्रमुखका लागि गाउँपालिकाले किनेको एक मोटरसाइकल प्रमुख चौधरीका छोराले प्रयोग गर्दै आएका छन् । उपप्रमुख शाहिदा बानोका लागि २२० सीसीको पल्सर मोटरसाइकल खरिद गरिएको छ । उपप्रमुख बानोले भने भारतीय नम्बरको जिप प्रयोग गर्दै आएकी छन् ।
त्यस्तै वडाध्यक्ष र कार्यपालिकाका पुरुष सदस्यलाई सुपर स्प्लेन्डर तथा महिला सदस्यका लागि स्कुटर किनिएको छ । एउटा मोटरसाइकलको मूल्य करिब २ लाख रुपैयाँभन्दा बढी परेको छ ।
गाउँपालिकाका प्रमुख चौधरीले गाउँ कार्यपालिका सभाले गरेकोे निर्णयअनुसार गाडी खरिद गरेको बताए । उनले आन्तरिक स्रोत जम्मा भएपछि विकास बजेटको रकम फिर्ता गर्ने जनाए । उनका अनुसार अझै पनि सबै वडाध्यक्ष र कार्यपालिका सदस्यलाई सवारी साधन अपुग भएको छ । “वडाध्यक्ष र कार्यपालिका सदस्यका लागि १० वटा मोटरसाइकल किनिएको छ । चार÷पाँचवटा अझै किन्न बाँकी छ,” उनले भने, “नियम पु¥याएर सवारी साधन किनेका छौं । आन्तरिक स्रोत जम्मा भएपछि विकासको रकम फिर्ता गर्छौं ।” विकास पूर्वाधारको बजेट सवारी साधनमा खर्चिएपछि स्थानीयले विरोध जनाएका छन् । तर गाउँपालिका प्रमुखले अर्को आर्थिक वर्षमा उक्त रकम बराबरको विकास काममा आन्तरिक स्रोतको पैसा खर्च हुने बताएका छन् ।
यस्तैगरी राप्ती सोनारी गाउँपालिकाले गाडी किन्न नसकेपछि महंगो भाडामा गाडी लिएको छ । सो गाउँपालिकाले चारपांग्रे गाडीको मासिक १ लाख रुपैयाँ भाडा तिर्ने गरी सम्झौता गरिसकेको जनाएको छ । जनताको सुविधाका लागि विकास निर्माणमा खर्च गर्ने भनी आएको रकमलाई यसरी मनपरि तरिकाले खर्च गर्नु गलत कार्य भएकाले यसको छानबिन हुनुपर्ने स्थानीय बासिन्दाको माग छ ।
सो क्षेत्रका प्रदेशसभाका सांसद विजयकुमार यादवले गाउँपालिकाको विकास बजेट यसरी मनपरि खर्च गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्