कुल्फी बेचेर पढाइ खर्च जुटाउँदै बालक

दिउँसोको १२ बजेको टनटलापुर घाममा घोराहीको ट्राफिक चोकदेखि ठेला धकेल्दै ३ बालक बीपी चोकमा आइपुगेका थिए । बीपी चोकमा रहेका एकजनाले सोधे के ल्याएको बाबु ? एक बालकले भने कुल्फी किन्नुनी हो । ती व्यक्तिले कुल्फी किनेर खाँदै आफ्नो बाटो लागे ।
यत्तिकैमा संवादाताले तिम्रो नाम के हो ? बाबु भनेर सोध्दा उनले उतर दिए कमान नेपाली उतर दिएपछि उनी बोल्न खास्सै मन गरेनन् । उनलाई पछयाउँदै गएपछि केही कुरा गरे । कक्षा ५ मा अध्ययनरत गर्ने उनले बताए । उनले आधारभूत विद्यालय बेलघारीमा अध्ययन गर्ने बताए । उनीसँगै भाइ पनि कुल्फी बिक्री गर्न आएका थिए । उनका भाइ सन्दीप नेपालीले कक्षा २ मा अध्ययन गर्ने बताए । उनीहरूले विद्यालय बिदा भएको समयमा यसरी कुल्फी, आइसक्रिम बिक्री गर्ने गरेको कमानले बताए । विद्यालयको समयबाहेक अन्य समय उनी यसरी नै बजारमा विभिन्न सामान बिक्री गर्ने गरेको बताए ।
उनीहरूले अहिले दैनिक ५०-६० वटा कुल्फी बिक्री गर्ने गरेको बताए । यसरी बेचेको रकमबाट आफूलाई आवश्यक पर्ने कापी, कमल किन्ने गरेको उनको भनाइ छ । उनीहरूले घोराही उपमहानगरपालिका–१८ नवलपुरबाट कुल्फी ल्याएर बिक्री गर्ने गरेको कमानले बताए । उनले कुल्फी बिक्रीबाट आएको रकम साहुसँग बराबर बाँडने गरेको बताए । “दिनभरि बेचेर जम्मा गरेको पैसा लगेर साहुलाई दिन्छांै अनि बराबर बाँडने गरेका छौं,” कमानले भने । साहुबाट पाएको रकम घरमा लगेर दिने गरेको बताए । घरमा दिएको पैसा आफूलाई किताब, कापी, कलम, ड्रेसलगायत किन्ने गरेको कमान बताउँछन् । पैसा कमाउनका लागि आफू कुल्फी बिक्री गर्ने गरेको उनी बताउँछन् । “के गर्नु पैसा नभए पढ्न पाइँदैन त्यसैले अहिले कुल्फी बिक्री गर्ने गरेको छु,” कमानले भने । उनी अहिले परीक्षा दिएर सकेपछि बजारमा कुल्फी बिक्री गर्ने गरेका छन् । कुल्फी बिक्री गर्न घोराहीका प्रत्येक सडकमा उनी पुग्ने गरेका छन् । उनले घरमा ४ जनाको परिवार रहेको बताए । उनको आमाले पनि होटलमा काम गर्ने गरेको उनले सुनाए । उनका बुबाको करिब ५ वर्ष पहिले नै मृत्यु भएको उनी बताउँछन् ।
उनीजस्ता बालबालिका अहिले वार्षिक परीक्षा सकेर घरमा रमाउँदैछन् । कतियप घुम्न जाने योजना बनाउँदैछन, तर कमान भने सडकमा कुल्फी बेचेर आउँदो शैक्षिक सत्रका लागि आवश्यक पर्ने खर्च जुटाउँदैछन् । बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्था धेरै भए पनि यस्ता बालबालिकातर्फ कसैको ध्यान पुग्न भने सकेको छैन ।
–अमरराज आचार्य