भ्रष्टाचारले स्वास्थ्य सेवामा असर «

भ्रष्टाचारले स्वास्थ्य सेवामा असर

विश्वका आधा जनताले अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच पाएका छैनन् । भ्रष्टाचार, अपर्याप्त खर्च र खेर गएका स्रोत धेरै कम वा मध्यम आय भएका मुलुकका स्वास्थ्य सेवा प्रणालीका चुनौती हुन् । स्वास्थ्य सेवाका लागि परिवार, गाईवस्तु तथा अन्य मूल्यवान् वस्तु बेच्न बाध्य हुन सक्छन् । स्वास्थ्यसम्बन्धी गरिबीले आज पनि पीडितको ज्यान लिइरहेको छ । केही मुलुकमा स्वास्थ्य सेवाको उच्च लागतका कारण जनता गरिबीमा धसिरहनुपरेको छ । स्वास्थ्य सेवाको बिल तिर्न पैसा नभएकाले महिला तथा उनीहरूका नवजात शिशुलाई अस्पतालले महिनौंसम्म पनि बन्धकमा राख्ने गरेको छ । भ्रष्टाचार, अनावश्यक खर्च तथा खर्चको अनैतिक लागतका कारण बिरामी तथा स्वास्थ्य प्रणालीलाई वार्षिक रूपमा अरबौँ डलर घाटा गराएको क्यालिफोर्निया विश्वविद्यालय, सान डियागोले गरेको अनुसन्धानमा फेला परेको छ । अमेरिकामा स्वास्थ्य सेवाका लागि सार्वजनिक क्षेत्रले गरेको १० प्रतिशत खर्च जालसाजयुक्त बिलमा गुम्ने गरेको छ ।
सुधारिएको स्वास्थ्य सेवाका लागि सरकारले खर्च वृद्धि गर्नुपर्छ र यसका लागि महŒवपूर्ण स्रोतलाई स्वास्थ्य प्रणालीबाट बाहिर लैजाने गैरकानुनी अभ्यासलाई रोक्नुपर्छ । विश्वभर स्वास्थ्य सेवा प्रणालीमा भ्रष्टाचार तथा मिलेमतो संस्थागत बनेको छ । स्वास्थ्य सेवामा खर्च गरिएको ६ हजार ५ सय अर्ब अमेरिकी डलरमध्ये ४ सय ५५ अर्ब अमेरिकी डलर गुमेको, दुरुपयोग भएको वा चोरी भएको देखिएको छ । तिर्न सकिने, गुणस्तरीय स्वास्थ्य सेवा आधारभूत मानव अधिकार हो भन्ने कुरामा मतैक्य छ । संयुक्त राष्ट्र सङ्घको दिगो विकासको लक्ष्यमा विश्वव्यापी स्वास्थ्य सेवा लक्ष्यका रूपमा समावेश भएको छ । थाइल्यान्डदेखि कोस्टारिका तथा रुवान्डासम्मका मिश्रित स्वास्थ्य सेवा तथा सीमित स्रोत भएका मुलुकले पनि आफ्नो कोष तथा राजनीतिक पुँजी विश्वव्यापी स्वास्थ्य सेवालाई प्राप्त गर्न खर्च गरेका छन् ।
गत वर्ष जापानले विश्वव्यापी स्वास्थ्य सेवा प्राप्त गर्न विकासशील मुलुकलाई २.९ अर्ब अमेरिकी डलर उपलब्ध गराउने वचन दिएको छ । भ्रष्टाचार, चोरी, अनावश्यक तथा अप्रभावकारी खर्चलाई बढी जोडदार रूपमा सम्बोधन नगरिएसम्म यस्तो सहयोग प्रभावकारी हुँदैनन् । सरकारहरू भ्रष्टाचारलाई समाधान गर्न वचनबद्ध हुँदैछन् । कर छली तथा जालसाजी दुवै अपराध हुन् । कानुन पालना गराउने संस्थाहरूबाट त्यसबारे जाँच हुन थालेको छ । कर छलीले मुद्रा निर्मलीकरण गर्ने मात्र होइन, यसबाट सार्वजनिक क्षेत्रको महŒवपूर्ण स्रोतमा डकैती हुन्छ । गैरकानुनी वित्तीय प्रभाव कम गर्ने कुरालाई संयुक्त राष्ट्रसंघले दिगो विकासका लक्ष्य प्राप्त गर्ने एक प्रमुख भाग बनाउनुको एक कारण यो पनि हो । स्वास्थ्य क्षेत्रका भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी नियन्त्रण विधि बनाउनु आवश्यक छ । राष्ट्रिय कोष सञ्चालक, अर्थ मन्त्रालय तथा भ्रष्टाचार नियन्त्रण संस्थाहरूले निवारणका आफ्ना प्रयासलाई बलियो बनाउनुपर्छ । वित्तीय क्षेत्रमा पारदर्शिता सुधार गर्दा भ्रष्टाचार नियन्त्रणलाई सहयोग पुग्न सक्छ । सरकार तथा स्वास्थ्य सेवाप्रदायकलाई बढी जिम्मेवार बनाउन नागरिक समाजका समूह, पत्रकार तथा बिरामीले धक्का दिनैपर्छ ।
भविष्यमा ‘डाटा माइनिङ’, ‘आर्टिफिसियल इन्टेलिजेन्स’ तथा ‘ब्लकचेन’ जस्ता नयाँ प्रविधिले स्वास्थ्य क्षेत्रमा नराम्रा काम पत्ता लागाउन नयाँ उपाय दिनेछन् र यी तथा यस्ता औजारमा पूर्णतया अनुसन्धान हुनुपर्छ । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु तथा यस क्षेत्रको वित्तलाई संरक्षण गर्नु अन्तर्राष्ट्रिय समुदायले सम्बोधन गर्नुपर्ने दुई चुनौती हुन् । यी क्षेत्रमा ढिला नगरी काम गर्नु अत्यावश्यक छ ।
कमजोर स्वास्थ्य गरिबीको सूचकका साथै गरिबी निवारणमा बाधा हो भन्ने कुरा विकास रणनीतिकर्ताले राम्रोसँग बुझेका छन् । आज करिब ८० करोड जनता आफ्नो घरेलु बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा खर्च गर्छन् र उनीहरू उपचारका लागि ऋण लिन्छन् । धेरै जनता चिकित्सककहाँ सल्लाहका लागि जान सक्दैनन् ।
सानिया निस्टार, प्रोजेक्ट सिन्डिकेट

प्रतिक्रिया दिनुहोस्