वर्षा यामसँगै कच्ची सडकमा समस्या «

वर्षा यामसँगै कच्ची सडकमा समस्या

वर्षायाम सुरुसँगै कच्ची सडकमा यात्रुलाई सास्ती हुने गरेको छ । सडक मर्मत तथा सम्भारका निम्ती बर्सेनि करोडौं रुपैयाँ राज्यको लगानी भए पनि सडक प्रभावकारी बन्न नसक्दा सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको छ ।
जिल्ला सदरमुकाम म्याङलुङ–वसन्तपुर सडक खण्ड कालोपत्रे भए पनि ५ वर्ष नपुग्दै सडक कक्ची झैँ बन्दा बर्सेनि यात्रुहरूले समस्या भोग्नु परेको हो । वर्षायाम सुरुसँगै सडकमा खल्लाखुल्डी हुनुका साथै पहिरो जाँदा ठूलाठूला आहाल बने पनि सवारी साधन सञ्चालनमा समस्या हुने गरेको व्यवशायीहरूले बताउने गरेका छन् । जिल्लाका प्रायःजसो सडकहरू वर्षा्त सुरु भएपछि सञ्चालनमा आउन नसक्दा घण्टौ लामोबाटो पैदल यात्रा गर्नुको विकल्प नरहेको आठराई गाउँपालिकाका अमृत बास्तोलाले बताए । केही समय यता परेको सिमसिम पानीका कारण सडक अवरुद्ध हुँदा सिधुवा–शुक्रबारे ९ किमि सडक खण्डमा सवारी साधन सञ्चालनमा हम्मेहम्मे बनेको थियो ।
जिल्ला सदरमुकाम म्याङलुङ–वसन्तपुर खण्डको वसन्तपुर बजारमा सडक मर्मत कार्य भइरहँदा सवारी साधनमा सवार समयमै गन्तब्य पुग्न समस्या भएको संखुवासभाबाट धरान झर्दै गरेका पासाङ सेर्पाले बताए । बाटो मर्मत भइरहँदा सवारी साधन सञ्चालनमा रोक लगाएसँगै वैकल्पिक बाटो नहुँदा समस्या भएको उनले बताए । बजारको बीच भागबाट सानोबाटो संंखुवासभा र तिन्जुरे–मिल्के–ताप्लेजुङ जानेबाटो भए पनि कच्ची सडक भएका कारण आवात जावतमा समस्या रहेको छथर गाउँपालिकाबाट तिन्जुरे हिँडेका दिलकुमार लिम्बुले बताए ।

प्रतिक्रिया दिनुहोस्