स्थापनाको ६० वर्षपछि निगम अनलाइन बुकिङमा «

स्थापनाको ६० वर्षपछि निगम अनलाइन बुकिङमा

काठमाडौंः  नेपाल वायुसेवा निगम स्थापना भएको ६० वर्षपछि अनलाइन बुकिङ प्रणालीमा प्रवेश गरेको छ । निगमले आइतबारदेखि अनलाइन बुकिङ सेवा सुरु गरेको हो ।

निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ गर्न पाउने भएका छन् । निगमले विगत लामोसमय देखि अनलाइन बुकिङमा जाने बताए पनि कार्यान्वयनमा भने लैजान सकेको थिएन ।

भारतको वर्ड इन्फर्मेसन सिष्टम तथा थाइल्यान्डको टुसीपिसी कम्पनीको प्राविधिक सहयोमा इन्टरनेट बुकिङको थालनी गरिएको निगमले जानकारी दिएको छ । 

आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले एक समारोहकाबीच अनलाईन बुकिङ सेवाको सुरुवात गरेका हुन् ।

अधिकारीले व्यवस्थापन सुधारको एउटा अंग सूचना प्रविधिको पूर्ण एवं उपयोगी प्रयोग भएको बताउँदै त्यसतर्फ थप प्रयास आवश्यक रहेको बताए । 

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ प्रणालीमा आबद्ध गरिनेछ । यसका लागि केही समय लाग्ने छ ।

 उक्त कार्यक्रमा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले निगम नयाँ–नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजनासहित अघि बढेको बताए । 

इन्फर्मेसन टेक्नोलोजी डिभिजनका उपनिर्देशक अमृतमान श्रेष्ठले निगम अत्याधुनिक प्रविधिलाई सेवामा लगाई उच्चस्तरीय सेवा दिन सक्षम हुँदै गएको बताए । आधिकारीक ट्रेड युनियनका महासचिव हिम लम्सालले विमानहरू पूर्ण क्षमतामा उडाउन आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्